नविना श्रेष्ठ
साउन २५, २०८३
काठमाडौं । गोकर्णेश्वर नगरपालिकास्थित नेपाल मेडिकल कलेजको प्राङ्गणबाट सुरु भएको स्व. हरिमोहन ज्योति पाँचौँ स्मृति दिवस ट्रेकिङ प्रतियोगिता तथा पुरस्कार वितरण समारोह नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।
चारुमती मित्र ओपन स्काउट ट्रुप, क्यूको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि परोपकारी व्यक्तित्व तथा आदरणीय स्काउट गुरु स्वर्गीय हरिमोहन ज्योतिको स्मृतिमा ट्रेकिङ प्रतियोगिता आयोजना गरिएको हो।
राष्ट्रिय प्रशिक्षक दिपेश केसी र सबिना श्रेष्ठको संयुक्त सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका वरिष्ठ स्काउटर तथा पूर्व प्रमुख सल्लाहकार रामवरण जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्तहरू रविन दाहाल, चन्दन कौशिक, महेन्द्रराज रञ्जित, आनन्द खतिवडा र रुक्मिणी मामलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
त्यसैगरी राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक, एड्भान्स, उटब्याज, स्काउट तथा रोभर–रेन्जरलगायत विभिन्न विद्यालयका स्काउट ट्रुपका भाइबहिनीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा पुरस्कार राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ले वितरण गरेका थिए।
आयोजकका अनुसार साहसिक तथा शिक्षामूलक यस ट्रेकिङ प्रतियोगितामा २४ वटा विद्यालयका ८२ वटा पेट्रोल टोलीबाट ६५६ जना विद्यार्थी सहभागी भएका थिए। स्काउटरहरूको समेत सहभागिता रहेको प्रतियोगितामा करिब ८०० जनाको उपस्थिति रहेको चारुमती मित्रका स्काउटर सबिना श्रेष्ठले जानकारी दिइन्।
प्रतियोगिताको केटा तर्फ पिस एन्जल स्काउट ट्रुप प्रथम भएको थियो। एसओएस हर्मन माइनर स्काउट ट्रुप दोस्रो, श्री प्रदा स्काउट ट्रुप तेस्रो, बीएमसीए (BMCA) स्काउट ट्रुप चौथो र लिटिल एन्जल स्काउट ट्रुप पाँचौँ भएका थिए।
त्यस्तै, गल्सतर्फ चेल्सी वल्र्ड स्काउट ट्रुप प्रथम, इडेन ब्रिज स्काउट ट्रुप दोस्रो, काठमाडौं नेसनल स्काउट ट्रुप तेस्रो, इडेन ब्रिज स्काउट ट्रुप चौथो र मोनास्टिक स्काउट ट्रुप पाँचौँ भएका थिए।


