• TOKHA LIVE

      TOKHA LIVE

    • ६ असार २०८३, शनिबार ०५:४३

    नेपाल स्काउटको ७५ वर्षे गौरवगाथा : स्थापना दिवस भव्य रूपमा सम्पन्न

    नविना श्रेष्ठ

    असार ५, २०८३

     

    काठमाडौं । बालबालिका, किशोरकिशोरी र युवाहरूमा अनुशासन, नेतृत्व तथा सेवाभावको संस्कार विकास गर्दै आएको नेपाल स्काउटले आफ्नो ७५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। राष्ट्रिय प्रधान कार्यालयमा आयोजित मूल समारोहसँगै देशभरका प्रदेश तथा स्थानीय तहमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो।

     

    राष्ट्रिय प्रधान कार्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री तथा प्रमुख स्काउट सस्मित पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। निर्देशक अर्पण कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परिषद्का सदस्य, पूर्व प्रमुख आयुक्त, प्रदेश प्रमुख आयुक्त, राष्ट्रिय प्रशिक्षक, स्काउटर तथा कब–ब्राउनी, ब्वाय–गर्ल स्काउट र रोभर–रेन्जरहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख स्काउट पोखरेलले नेपाल स्काउटले विगत ७५ वर्षदेखि युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सेवाभावको विकास गर्दै जिम्मेवार तथा समाजप्रति उत्तरदायी नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्यप्रति जागरण, स्वावलम्बन र सामुदायिक सेवाका माध्यमबाट युवा पुस्ताको समग्र विकासमा स्काउटको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

    उक्त अवसरमा नेपाल स्काउटको वार्षिक प्रतिवेदन पुस्तिका २०२५–२०२६ समेत विमोचन गरिएको थियो। मन्त्री पोखरेलले नेपाल स्काउटलाई नयाँ सोच, स्पष्ट उद्देश्य र प्रभावकारी दिशासहित अघि बढाउन सरकार सकारात्मक रहेको बताउँदै संस्थाका आधारभूत समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारको तयारी भइरहेको जानकारी दिनुभयो।

     

    ७५ वर्षको गौरवमय यात्रालाई स्मरण गर्दै आयोजित समारोहले स्काउटिङका मूल्य, मान्यता, सेवा र नेतृत्वको भावनालाई थप सशक्त बनाएको छ। यसले युवा सशक्तीकरण र समाजसेवाप्रतिको नेपाल स्काउटको प्रतिबद्धतालाई अझ दृढ बनाउँदै भविष्यप्रति नयाँ आशा र ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै