काठमाडौं, असार १८। नेपाल स्काउट बागमती प्रदेश अन्तर्गत स्थानीय स्काउट काठमाडौंको आयोजनामा तथा काठमाडौं महानगरपालिका शिक्षा विभागको समन्वय र सहकार्यमा आयोजित ‘सम्पदा पदयात्रा प्रतियोगिता २०८३ (Heritage Walk Competition 2026)’ को तेस्रो चरणअन्तर्गत पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
असार १५ गते सोमबार राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका क्षेत्रभित्र स्काउट सञ्चालन भइरहेका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत करिब ६ सय स्काउट विद्यार्थी सहभागी भएका थिए।
सम्पदा संरक्षण र प्रवर्द्धनप्रति विद्यार्थीमा जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ९३ वटा टोलीले सहभागिता जनाएका थिए।
पुरस्कार वितरण समारोहमा नेपाल स्काउटका पूर्व राष्ट्रिय आयुक्त रविन दाहाल, महेन्द्रराज रञ्जित, काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख नवराज ढकाल, महानगर प्रहरी बलका प्रमुख विष्णु जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गणका प्रमुख रामकृष्ण महर्जन, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चिनी बज्राचार्य, शार्दूलजंग गुल्म हनुमानढोकाका प्रमुख सुमित नरसिंह मल्ल, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सरस्वती पोखरेल, विशिष्ट विद्यालय निरीक्षक रुक्मिला इटानी, एनसीसी काठमाडौंका निर्देशक राजन ढकाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, ५० विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय स्काउट काठमाडौंका आयुक्त जयप्रताप आले मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रतियोगी विद्यार्थीका तर्फबाट नेपाल पुलिस स्कुलकी छात्रा प्रेरणा तिरुवाले अनुभव सुनाएकी थिइन्। समापन समारोहमा शिक्षा विभाग प्रमुख नवराज ढकाल, नेपाल स्काउटका पूर्व राष्ट्रिय आयुक्त रविन दाहाल तथा स्थानीय आयुक्त रञ्जनलाल श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा टोली नं. १४ इपीएस स्काउटका छात्र समूह प्रथम, टोली नं. ९ पद्मकन्या विद्याश्रम स्काउटका छात्रा समूह द्वितीय तथा टोली नं. ८३ जगत सुन्दर बोनाकोटी स्काउटका छात्र समूह तृतीय भएका छन्। टोली नं. २९ सिद्धेश्वर स्काउट ट्रुप र टोली नं. ६१ जनकल्याण स्काउट ट्रुपले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
विजेता विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यालयलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा क्लबलाई समेत सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।
यसै अवसरमा फागुन २ र ३ गते सञ्चालन भएको एक रात–दुई दिनको शिवरात्रि सेवा शिविरमा सहभागी रोभर तथा रेन्जर स्काउटहरूलाई पनि प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो।


