• TOKHA LIVE

      TOKHA LIVE

    • ३० जेष्ठ २०८३, शनिबार ०९:५१

    काठमाडौं महानगरपालिकाद्वारा पहिलो पटक सम्पदा पदयात्रा प्रतियोगिता सम्पन्न

    नविना श्रेष्ठ

    काठमाडौं, जेठ ३०, २०८३  काठमाडौं महानगरपालिकाको आयोजना तथा नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौंको समन्वय र सहकार्यमा पहिलो पटक सम्पदा पदयात्रा प्रतियोगिता सम्पन्न भएको छ।

     

    काठमाडौं महानगरपालिका क्षेत्रभित्र स्काउट सञ्चालन भइरहेका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ट्रपका छात्र–छात्राहरूको सहभागितामा आयोजित प्रतियोगिताको उद्देश्य ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनप्रति युवापुस्तामा जिम्मेवारीबोध गराउनु रहेको आयोजकले जनाएको छ।

     

    प्रतियोगितामा करिब ६०० विद्यार्थी सहभागी भएका थिए। बसन्तपुरबाट सुरु भएको पदयात्रा झोछें, ओमबहाल, यङ्गाल, लाखेननी चोक, भीमसेनस्थान, इलाछें, काष्ठमण्डप, गणेशस्थान, हनुमानढोका, मखन, इन्द्रचोक, भेडासिंह, मच्छिन्द्रबहाल, असन, बाङ्गेमुढा, नगःल, क्षेत्रपाटी, धोबीचौर, ल्हुती अजिमा हुँदै शोभाभगवती मन्दिर, बिजेश्वरी, लुह, स्वयम्भू क्षेत्र, बुद्धपोखरी र आनन्दकुटी विहारसम्म पुगेर समापन गरिएको थियो।

     

    कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले आफू पनि पदयात्रामा सहभागी हुन इच्छुक रहे पनि अन्य कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको बताइन्।

     

    कार्यक्रमका सभापति स्थानीय स्काउट काठमाडौं महानगरपालिकाका प्रमुख आयुक्त रञ्जनलाल श्रेष्ठ रहेका थिए। कार्यक्रममा वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जन, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गणका प्रतिनिधि, नेपाल प्रहरी, सम्पदा अभियन्ता तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

     

    बिहान ७ बजेबाट सुरु भएको पदयात्रा साँझ सम्पन्न भएको थियो। आयोजकका अनुसार यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे प्रत्यक्ष जानकारी गराउँदै संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै