• TOKHA LIVE

      TOKHA LIVE

    • ३ आश्विन २०७९, सोमबार ०६:३०

    टोखाका शिक्षाका ज्योति स्व.भक्त श्रेष्ठलाई इतिहासले सधै सम्झिरहने छन्

    टाेखालाइभ डट कम/असोज ३,२०७९

    काठमाडौं /टोखाका शिक्षाका ज्योति भक्त श्रेष्ठ अब हामी माझ रहनुभएन । टाेखा वडा ३ त्वापचा निवासी शिक्षा प्रेमी,समाजसेवी, सांस्कृतिक प्रेमी भक्त श्रेष्ठको गत श्रावण २० गते शुक्रबारका दिन ८३ वर्षको उमेरमा उहाँले आफ्नै घरबाट सदाका लागि देह त्याग गर्नुभयो । टोखामा शिक्षाको ज्योति छर्ने काममा अविस्मरणीय योगदान पुर्याएका श्रेष्ठको आज ४५ औं दिनको पुन्यतिथि सम्झिरहदा टाेखाका शिक्षाप्रेमीहरुले कहिले पनि बिर्सन नसकिने गरि भक्त श्रेष्ठको देहावसान संगसंगै शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएर अविस्मरणीय छाप छाेडेर गएको टाेखावासीले स्मरण गरेका छन् ।

    बि.सं.१९९६ सालमा पिता सिद्धीनारायण श्रेष्ठ र माता कृष्णमाया श्रेष्ठको कोखबाट कान्छो छोराको रूपमा उहाँ यस धर्तीमा पदार्पण गर्नुभयो । मेहनती मध्यम वर्गीय परिवारमा हुर्केका श्रेष्ठका यस अघि तीन दाजुभाइ दुई दिदिबहिनी मध्येका कान्छा थिए उनी।अत्यन्तै मिलनसार नम्र स्वभावका भक्त श्रेष्ठको राममाया श्रेष्ठ (भुइनी )संगको वैवाहित जिवनबाट उनका पाँच छोरा र दुई छोरी भए।

    शिक्षा प्रेमी भक्त श्रेष्ठले वि.सं.२०१७ सालमा स्थापना भएको टोखाकै पहिलो श्री सरस्वती विद्यालयको स्थापना संगै यस विद्यालयको संस्थापक एवं व्यवस्थापन समितिको अध्यक्ष भै कार्यकाल सम्हालेका थिए ।

    एक समय टाेखामा पठनपाठनको लागि भवन अभाव खड्किरहेको त्यो अवस्थामा साविक टाेखा चण्डेश्वरी गाविसको वडा ४ का स्थानीय व्यक्तिको घरमा विद्यालय संचालन भयो।त्यसै क्रममा पछि साविक २ वडामा बसोबास गर्ने सबैले मान्ने शिक्षित पुरोहित तेजानन्द राजोपाध्यायको घरको चाेटामा कक्षा संचालन सुचारू हुन थाल्यो ।पुरोहित तेजानन्द राजोपाध्यायले विद्यालयको संचालक समितिको अध्यक्षको भुमिका निर्वाह गर्नुभएको भन्ने इतिहासले बताउछ। पुरोहित तेजानन्द राजोपाध्यायको घरको चाेटामा अध्यापन गर्दा असुबिधा भए पछि विद्यालयलाई सरस्वती चौर स्थित ‘ससुख्य:’ को उत्तर पश्चिमको एक कुनामा छाप्रा हाली कक्षा सुरु हुन थाल्याे।

    सरस्वती चौर स्थित ‘ससुख्य:मा विद्यालय संचालन गर्दै गर्दा
    विद्यालयको भवन निर्माण र पठनपाठन सुरु गर्ने कुरा चलिरहदा को कस्ले ? विद्यालय संचालनको जिम्मेवारी सम्हाल्ने भन्ने विषयमा समुहमा बृहत छलफल भयो । पछि साथीहरू बिच सहमति भो जस्ले बढी पढेको छ उहीँ विद्यालयको प्रधानाध्यापक ! नभन्दै ५ कक्षा पढेका साथी नारायणप्रसाद श्रेष्ठलाई प्रधानाध्यापक नियुक्ति गरियो भने ४ कक्षा पढेका भक्त श्रेष्ठ आफुले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको यी स्तम्भकारलाई बताएका थिए ।

    पुर्व प्रधानाध्यापक पञ्चनारायण श्रेष्ठद्वारा लिखित सरस्वती स्मारिका २०५९ को पृष्ठ २ र ९० र विद्यालयको अभिलेख अनुसार १०१७ सालमा नारायणप्रसाद श्रेष्ठले प्रधानाध्यापकको जिम्मेवारी लिए पछि विद्यालय संचालन गर्न एकमुष्ट रकम आउथ्यो। ९ सयले वर्ष भरी काम चलाउनु पर्थ्यो।यस विद्यालयलाई शिक्षा सेविहरु र साविक चण्डेश्वरी गाविस वडा २ का बल देव जुजुबाट पर्याप्त सहयोग र सद्भाव उपलब्ध भएको इतिहास भेटिन्छ । पछि विद्यालयको अध्ययनलाई थप परिस्कृत गर्दै लैजान भवनको आवश्यकता भए पछि समाजसेवि गजराज जोशीको पहलमा शिक्षा मन्त्रालयबाट रु ९ हजार अनुदान निकासा भए पछि भवन निर्माण कार्य सम्पन्न भएको विद्यालयको अभिलेखमा उल्लेख छ।

    पारिवारिक र परम्परागत मान्यता मात्रै ठूलो कुरो हो र? फेरि त्याग गर्ने, देश र समाजका लागि केही गर्ने भन्दैमा सोचे जतिकै गर्न त कसले पो सक्छ र? टोखामा वि.सं. २०१७ सालमा सरस्वती हाईस्कूलको स्थापना गरेर जीवनभर हजारौं कर्णधारहरू उत्पादन गराउनु पनि राष्ट्रका लागि कम गरिमामय प्रसंगको विषय होइन।तर यी दुवै प्रश्नलाई खुलस्त पारिदिने टोखाको समर्पित शिक्षा प्रेमी, समाजसेवी तथा चाकु उत्पादक भक्त श्रेष्ठ एक मात्र थिए ।वहॉ दुई पटक सम्म हृदयघात भएर पनि मृत्युबाट जोगिनु भएको थियो । भक्त श्रेष्ठ कुन बेला आफ्नो मुटुको धडकन बन्द हुने हो भन्ने त्रासमा आफ्नो ८१ बर्षे ज़िन्दगी बिताई रहेका बेला २ वर्ष अघि टाेखाका यि पत्रकार तथा स्तम्भकारहरुसंगको भेटको कुराकानीमा हरेक क्षण आफूलाई मृत्युले जिस्क्याई रहेको अनुभव हुन्छ भनी उहाँले सुनाउनु भएको मर्मस्पर्शी सम्झना अझै झलझली याद आउँछ।

    श्रेष्ठको युवा अवस्थामा राजनीतिमा पनि निकै सक्रिय भुमिका निर्वाह गरेका थिए ।ऊनी टाेखामा नेपाली कांग्रेसका कार्यकर्ता भै सहपाठीहरूसँग मिलेर समाजिक कार्यमा लाग्नेक्रममा टोखाको शैक्षिक क्षेत्रमा केहि फड्को मार्नुपर्छ भन्दै शिक्षा क्षेत्रमा होमिएका थिए । भक्त श्रेष्ठले राजनीतिक घटनाका कारण केही समय जेल जीवन समेत भोग्नुपरेको थियो ।

    शिक्षासंगै भक्त श्रेष्ठले टोखाको चाकु बनाएर चाकुसंग धान,कोदो,मकै,गहुं र जौ जस्ता अन्नहरु साटेर चाकुको व्यावसाय गरि जिविकोपार्जन गर्ने क्रममा उनले खर्पनमा चाकु बोकेर नुवाकोट, भक्तपुर, र ललितपुर सम्म चाकु बेच्न लाने गर्दथे।उनलेे चाकु बनाउन चै मावली ससुरालीमा २०२२ मा सिकेका श्रेष्ठले २०२५ देखि टाेखामा धमाधम आफैले चाकु बनाएर बेचेर जिविकोपार्जन गरे।उहाँले बढी जसो समय कृषि, चाकु उत्पादन, नोकरी, दैनिक ज्याला मजदुरी र घरनिर्माण सम्बन्धिको ठेकेदारको काममा बिताउनुहुन्थियो। श्रेष्ठले त्यो बेलाको समयमा दरबारमा समेत जागिरे गरेका थिए। अहिले उनले स्थापित गरेको चाकु व्यवसाय छोरा हुँदै नातिसम्म नयाँ पुस्तामा हस्तान्तरण हुँदै स्थानीय बजारमा परम्परागत चाकु उद्योगले जिवन्तता पाएको छ।

    भक्त श्रेष्ठका जेठाे छोरा राजाराम श्रेष्ठ घर निर्माणको ठेक्कापट्टीको काम सम्पन्न गर्छन् । माइलो छोरा ‘सिताराम’ पञ्चनारायण श्रेष्ठ (पिएन श्रेष्ठ ) चर्चित ब्यापारी हुन। उनले ‘ कोरिएन शप ‘ ब्रान्ड स्थापित गरेका छन् ।साइलो काइलो कान्छा , हंशराज श्रेष्ठ , जिवनराज श्रेष्ठ र रामराज श्रेष्ठले पनि टाेखामा चाकुको कुटिर उद्योग चलाएर २६/२७ वर्ष विताएका छन् ।

    भक्त श्रेष्ठले टाेखाको शिक्षा क्षेत्रमा र टाेखामा चाकु व्यवसायी बनेर जुन महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ त्यो अविस्मरणीय र अतुलनीय छ । अत भक्त श्रेष्ठ जस्ता समाजका पथप्रदर्शक, मार्ग निर्देशक,शिक्षाप्रेमी ,ब्यापारी र समाजसेवि बनेर यस धर्तीमा उभिएकोले नै आजका युवाहरूले सन्तोषको श्वास फेर्न पाएका छन। उहाँ हामी माझ नभए पनि स्व.भक्त श्रेष्ठलाई इतिहासले सधै सम्झिरहने छन्।

     

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै