टोखा, काठमाडौंअसोज १६ । महिला सशक्तीकरण, स्वास्थ्य तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले टोखामा प्रथम प्रदेशस्तरीय ‘क्याच एन सर्भ बल’ (Catch’n Serve Ball) प्रतियोगिता आयोजना हुने भएको छ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ श्री लघु उद्यम महिला समाज, टोखा–२ को आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितालाई टोखा नगरपालिका वडा नं. २ कार्यालय ले विशेष सहयोग गरेको छ।
आयोजकका अनुसार २०८३ असोज १७ गते शनिबार बिहान ६ बजेदेखि टोखास्थित न्हुज पुस्तकालय परिसरमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा प्रदेशभरिका विभिन्न महिला टोलीहरूको सहभागिता रहनेछ।
महिलालाई खेलकुदमार्फत संगठित, सक्रिय र आत्मनिर्भर बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। साथै, प्रतियोगितालाई सफल बनाउन वडा कार्यालयले स्थानीयवासी तथा खेलप्रेमीलाई उपस्थित भई खेलाडीहरूको उत्साह र हौसला बढाउन हार्दिक आग्रह गरेको छ।

