• TOKHA LIVE

      TOKHA LIVE

    • १९ आश्विन २०८३, सोमबार १६:३८

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सम्पन्न

    नविना श्रेष्ठ
    असोज १८, २०८३

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा भव्य रूपमा सम्पन्न भएको छ। देशभरबाट आएका कांग्रेसका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिताबीच उद्घाटन समारोह सम्पन्न भएको हो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाललाई बदल्ने क्षमता आर्जन गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसले विगतको इतिहासमा गर्व गर्दै अब नयाँ इतिहास रच्ने सामर्थ्य विकास गर्नुपर्नेमा जोड दिए।

    ‘इतिहास हामीले बनाएका हौँ, अब इतिहास बनाएर मात्रै हुँदैन, नयाँ इतिहास रच्ने ताकत यो नेपाली कांग्रेसले गर्छ भन्ने विश्वास लिएर जानुपर्नेछ,’ थापाले भने।

    उनले कांग्रेस अहिले पहिचान र उद्देश्यको संकटबाट गुज्रिरहेको धारणा राख्दै बीपी कोइराला र गणेशमान सिंहको राजनीतिक योगदान तथा उनीहरूको विचारलाई स्मरण गरे। ‘बीपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर उहाँहरूको आत्मा यहाँ छ,’ उनले भने।

    उद्घाटन समारोहको सञ्चालन महामन्त्री प्रदीप पौडेलले गरेका थिए। कार्यक्रममा कांग्रेसका अग्रज नेताहरू, विश्वप्रकाश शर्मा लगायतका नेताहरूको सहभागिता रहेको थियो। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेताहरूको समेत उपस्थिति थियो।

    महाधिवेशनमा जिल्ला, क्षेत्र, प्रदेश तथा स्थानीय तहबाट कांग्रेसका प्रतिनिधि तथा कार्यकर्ताको व्यापक सहभागिता रहेको थियो।

    उद्घाटन समारोह सम्पन्न भएपछि कांग्रेसले बन्द सत्र सुरु गरेको थियो। बन्द सत्रअघि केन्द्रीय कार्यसमितिको बैठक बसेर बन्द सत्रमा पेस हुने विषय तथा एजेन्डामाथि छलफल गरिएको थियो।

    महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन समारोह सम्पन्न भएको छ भने दोस्रो दिन बन्द सत्र र त्यसपछि नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यतालिका रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै