टाेखालाइभ डट कम/ चैत्र २०,२०७८
काठमाडौं /नेवार समुदायले प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमा देवी (संकटा) र लुकुमहा द्यः (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चःर्हे मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।
पाहाँ अर्थात पाहुना र चःर्हे अर्थात पर्व, बिहे गरी पठाइसकेका छोरीचेलीलाई घर ब्यवहारले नभ्याइ रहने हुँदा वर्षको एक दिन भए पनि अनिवार्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश हेरी आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चःर्हे मनाइने गरिन्छ । पाहाँ चःर्हेलाई टोखाको पुरानो विस्काः जात्रा पनि भन्ने गरिन्छ ।

यो दिन सखारै थनेलाछिमा विशेष जात्रा हुन्छ । आमा संकटालाई छोरा विनायकले ढोग्ने यस जात्रालाई रथ जुधाउने जात्रा पनि भनिन्छ । हिजो आज उज्यालो भइकन गरिने यो जात्रा पहिले पहिले विहान सबेरै शुरू गरी यति चॉडै सम्पन्न हुन्थ्यो कि यो जात्राको नाम नै “ पटुछि मला जात्रा “ अर्थात् दौराको तुनै बाँध्न नभ्याइने जात्रा रहेको स्थानीय बुढापाका अहिले पनि स्मरण गर्छन ।

प्रकृति र संस्कृतिसँगको यो मेल साँच्चै नै तिलस्मी छ । यसै समयमा बोटविरुवाहरुमा पालुवा चढ्ने, चराचुरुङ्गीको मधुर आवाज सुनिने, विभिन्न स्थानमा ढुंगा रसाई मुल फुट्ने, ढकमक्क फुलिरहेका बहुरंगी फुलहरुको सुवासले मन्त्रमुग्ध बनाउदै मानिसहरुको मनोभावनामा समेत उद्धेलित बनाउने गर्दछ यो बसन्त ऋतुको आगमन ।
बसन्त ऋतुको आवागमनसँगै ऐतिहासिक तथा सास्कृतिक महत्व बोकेको पाहा चरे जात्राको सम्पन्न हुनुले नयाँ वर्ष संगै शुरू हुने बिस्का: जात्रा को अनुभूतिका साथै जनमनमा नयाँ फरक जोश ल्याउँदछ ।




