टाेखालाइभ डट कम/चैत्र २,२०७८
काठमाडौं/टोखा नगरपालिकामा उपमेयरसंग बालबालिका कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण शुरु भएको छ । टोखा नगरपालिकाका नगर प्रकाश अधिकारी र उपप्रमुख ज्ञान माया डंगोलले उपमेयरसंग बालबालिका कार्यक्रमको टोखा नगरपालिका वडा नं.१ झोरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गरेका हुन।उद्घाटन कार्यक्रममा टोखा नगरपालिका वडा नं.१ झोर स्थित महांकाल विद्यालयका विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरि टोखामा उपमेयर संग बालबालिका कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै टाेखा नगरप्रमुख प्रकाश अधिकारीले नगरबासीहरुको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताएका थिए । नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन, कृषिको आधुनिकीकरण, साँस्कृतिक सम्पदाहरुको संरक्षण, पार्क निर्माण लगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले उपमेयरसंग बालबालिका कार्यक्रम शुरु गरिएको जानकारी गराइन। टाेखा नगर उपप्रमुख डंगोलले टोखा नगरपालिकाका ८ वटा सामुदायिक विद्यालयका ५ हजार ८ सय २८ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिने योजना रहेको बताइन ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले नगरपालिकाको समग्र क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिकाले कार्य गरिहेको बताउदै उपमेयरसंग बालबालिका कार्यक्रमले विद्यार्थीहरुलाई स्वास्थ्यको पहुचमा ल्याउन महत्वपूर्ण सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा टोखा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले उपमेयरसंग बालबालिका कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
टोखा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकाल र १० नं.वडाका वडा अध्यक्ष मधुसुदन पाण्डेले टोखा नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर निरन्तर कार्य गरिरहेको बताए।कार्यक्रममा टोखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रनलाल कुलालले स्वास्थ्य शाखाले प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउदै उपमेयरसंग बालबालिका कार्यक्रम नगरपालिकाका सबै वडाहरुमा लागु गरिने बताए ।
उपप्रमुख ज्ञान माया डंगोलको अध्यक्षता र नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा टोखा नगरपालिका वडा नं.१ का जनप्रतिनिधिहरु लगायत स्वास्थ्य शाखाका कर्मचारीहरु, शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

