टाेखालाइभ डट कम/फाल्गुन १३,२०७८
काठमाडौं । टोखा नगरपालिकामा बिहीबार देखि “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम सुरुवात भएको छ ।
टाेखा नगर प्रमुख प्रकाश अधिकारीले एक कार्यक्रमबीच वडा नं. ५ मा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको छ।जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम टाेखा वडा नं. ५ बाट सुरु भएर अबदेखि नगरका ११ वटै वडामा सञ्चालन हुनेछ ।

जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रमको उद्घाटनका क्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । साथै नगर भित्र संचालित आयोजना, योजना तथा कार्यक्रमहरुको बारेमा समाजको भावी पुस्ता विद्यार्थीलाई जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ थियो ।
यस्ता कार्यक्रमले नगरका गतिबिधिको जानकारी जनस्तरसम्म पुग्नुका साथै विद्यार्थीहरुसँग भएका नविनतम योजनाहरु पनि प्राप्तहुने उद्देश्य सहित अन्तक्र्रियात्मक रुपमा यो कार्यक्रमको शुरुवात गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले टोखाभित्र रहेका ८ ओटा सामुदायिक विद्यालयमा नेपाल सरकारको नीतिअनुसार सबै विद्यालयमा सेनिटरी प्याड वितरण कार्य सम्पन्न गरेको बताएकी छिन् । डंगोलले स्थानीय सरकार सञ्चालन ऐनले दिएको सबै जिम्मेवारी आफुहरूले पुरा गरेको प्रकाश पार्नुभयो । न्यायिक समिति, योजनाहरुको अनुगमन, योजना तथा कार्यक्रम तर्जुमा, राजश्व परामर्श समिति, जेष्ठ नागरिक अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम, सेनिटरी प्याड वितरण, बाल अधिकारलगायतका जिम्मेवारी आफुले बहन गरेर यो ५ वर्षमा सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।
कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी,टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोल,टाेखा नगरपालिका वडा ५ का वडाध्यक्ष जगन्नाथ ढकाल ,टाेखा नगर शिक्षा शाखा प्रमुख बाबुराम गौतम ,महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा न्यौपाने लगायत टाेखा वडा ५ भित्रका विद्यालय तथा कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको टाेखा नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको हो ।

