टोखा लाइभ ।२४ माघ २०७८ सोमवार
टोखा नगरपालिका -२ सपनतीर्थ दाफाखल ले हिजो सामूहिक व्रतबन्ध सम्पन्न गरेको छ । सर्व साधारण लाई आर्थिक स्रोत जुटाउन समस्या भएपछि विगत ३ वर्ष देखि शुरु गरिएको सामूहिक व्रतबन्ध अहिले सर्वसाधारणका लागि सस्तो खर्चमा सन्तानको व्रतबन्ध गराउने अवसर र उनीहरूको आर्थिक टेवामा सहजता ल्याउने माध्यम बनेको सपनतीर्थ दाफाखल का सदस्य देवराज डंगोल ले बताउनुभयो ।
सपनतीर्थमा भएको व्रतबन्धमा नेवार समुदायका २७ जना बटुकलाई पण्डितले मन्त्रोदान गराएका थिए । लाखौँ रुपैयाँ खर्च हुने व्रतबन्ध अर्थात् चूडाकर्ममा सानो रकमले काम बन्ने भएपछि सामूहिक व्रतबन्धमा धनीगरीब सबैको आकर्षण बढेको सहभागीको भनाइ छ ।
यस वर्ष प्रतिबटुक रु पॉच हजार पॉच सय लिएर व्रतबन्ध गराइएको हो । तोकिएको शुल्क तिरेपछि सपनतीर्थ दाफाखलको तर्फबाट बटुकका अभिभावकलाई खानपिनको व्यवस्थासमेत गरिएको छ । सामूहिक व्रतबन्धमा सहभागी हुन टोखा को साथै गंगबु , पासीकोट, धमलटार र धर्मस्थली समेत बटुक आएको दाफाखल का सदस्य देवराज डङ्गोलले जानकारी दिनुभयो ।
सामूहिक व्रतबन्धबाट अहिलेसम्म ३ सय भन्दा बढीले लाभ लिइसकेको र व्रतबन्धबाट प्राप्त रकम पुण्य कार्यमा खर्च गरिने देवराजले बताउनुभयो ।

