• TOKHA LIVE

    • ८ पुष २०७८, बिहीबार ०८:१४

    शान्ति सेना अनि यो डग्गमगाएको विश्वास

    टोखालाइभ / पौष ८ ,२०७८

    नेपालको शान्ति सेना (प्रहरी)मा जाने सुरक्षाकर्मीहरूले देख्ने पहिलो अनौठो दृश्य अफ्रिकी भूमिमा नेपाली अनुहार फेला पर्नु हो ।

    शान्ति कायम गर्नुका साथै त्यहाँ पुग्ने सेनाको अर्को काम ‘काम-शान्ति’ गर्नु पनि हुन्छ, जसका कारण अफ्रिकाका कतिपय मुलुकमा ठ्याक्कै अनुहार मिल्ने भुराभुरी पनि फेला पर्दाका रमाइला किस्सा त्यहाँ पुगेर आउनेहरूले सुनाउने गर्छन् ।

    हुन पनि चरम गरिबीसँग जुझिरहेका त्यहाँका युवती र महिलाका लागि शान्ति सेनामा काम गरिरहेकाहरूले दिने केही डलर र त्यसको साटो लिभ इन रिलेसन या यस्तै केही सम्बन्ध नैतिक हो कि अनैतिक यसबारे धेरैले सोच्ने मौका पाएका छैनन् । सोचे पनि ती महिला वा युवतीको कोणबाट सोचेका छैनन् । सोचे पनि यो यति भारी विषय हो कि, त्यसको निष्कर्षमा पुग्न लगभग असम्भव नै छ ।

    शान्ति सेनामा जानेले सेक्स पार्टनर खोज्नु सेनाको अधिकारको कुरा हो कि त्यो अधिकार दुरूपयोग हो वा जबरजस्ती त्यस पेशामा धकेलिनेहरूको अधिकार हननको कुरा हो ?

    बेलायती रक्षा मन्त्रालयले हालै विदेशमा डिप्लोय भएका आफ्ना सेनालाई कुनै पनि यौन सम्बन्ध नराख्न र राखेको पाइए उसको नाउँ कालोसूचीमा राखिने सूचना जारी गरेको छ ।

    समय पहिलेजस्तो नभएको, २१ औँ शताब्दीमा पैसाकै बलमा किन्न पाइने कुरामा सचेत हुनुपर्ने बेलायती डिफेन्स सेक्रेटरी बेन वालेसको मत छ ।

    खासगरी पछिल्लो समय शान्ति कायम गर्न महिला सेनाहरू पनि खटिन थालेका छन् । त्यहाँ उनीहरूले पैसाका बलमा युवतीहरूको यौवन किनबेच भएको कुरालाई राम्रो मानिरहेका छैनन् । जबसम्म यस्ता कुरा रोकिँदैन, शान्ति सेनामा जान महिलाहरू रूचाउँदैनन् अथवा त्यस्ता कुरा गुनासाका रूपमा पर्याप्त रूपमा रिपोर्ट भइरहन्छन् । (यसअघि पनि रिपोर्ट गरिएका थिए ।)

    जब कुनै महिला सेनाले आफ्ना पुरूष सहकर्मीले पैसा खर्च गरेर घरबार बसाएको, उनीहरूको गरिबीको फाइदा उठाएको देख्छे, त्यो बेला उसले आफ्ना ती सहकर्मीलाई सम्मानको नजरले पक्कै हेर्ने छैन ।

    झन् सन् २०१२ मा बेलायती एक सेनाले केन्याकी एक सेक्स वर्करको हत्या मात्र गरेनन्, त्यो घटना ढाकछोप पनि गरेका थिए । सैन्य क्याम्पमा कोठीबाट ल्याइएका युवतीहरूको तमासा त सामान्य दृश्य भइहाल्यो । त्यसबाहेक पनि शिकार खोज्दै गाउँगाउँ छिर्ने उदण्डहरूको त झन् कुरै भएन !

    र, मलाई यी कुरा पढ्दै गर्दा नेदरल्यान्डले बनाएको एउटा फिल्म याद आयो, (नाम बिर्सें) जहाँ कम्युनिस्टहरू धपाउन निस्केको एउटा डच एउटा वेश्यालयमा एउटी यौनकर्मीलाई आफ्नो मनमुटु दिन्छ । उसले आफ्नो सबैजसो पैसा त्यो युवतीलाई दिन्छ । त्यो पैसाले उसले आफ्नो घर व्यवस्थित बनाउँछे । कलिला छोराछोरीलाई बिहान बेलुकी राम्रै छाक टार्छे । यो देखेर त्यो सेनालाई सन्तोष लाग्छ ।

    तर एक दिन युवतीको छापामार लोग्ने घर आइपुग्छ । अब छापामार मार्ने अभियानमा निस्केको त्यो डच युवा दुविधामा पर्छ, प्रेमिकाको लोग्नेलाई मार्ने कि युवतीले धोका दिएको पीडाको बदला लिने ?

    सिनेमा र साहित्यले मान्छेको भावनालाई ब्ल्याकमेल गरिदिन्छन् र प्रेम र युद्धमा जे पनि जायज छ भन्ने प्रमाणित गरिदिन्छन् तर वास्तवमा प्रेम र युद्धमा जे पनि जायज हुँदैन । त्यो त पौरूष लिँडे तर्क हो । आफूले भनेको नमान्ने केन्याली सेक्स वर्करको हत्यालाई जाजय ठहर्याउने पुरूषहरूको तर्क हो त्यो ।

    र, कम्तीमा बेलायती रक्षा मन्त्री बेन वालेसले ढिला भए पनि कुरा उठाएका छन् र वास्तवमा समय परिवर्तन भएको छ । एउटी यौनकर्मीको चेतना पनि पर्याप्त विकसित भएको छ । उसले पनि मेरो शरीर, मेरो अधिकार भन्न थालेकी छ ।

    कहिलेकाहीँ सोच्छु… संसारमा धेरै कुराहरू परिवर्तनहरू भइरहेका छन्, स्वयं यौन व्यवसायी पनि परिवर्तन भइरहेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै