• Sanu Raj Dangol

    • १८ आश्विन २०७८, सोमबार २१:०७

    संस्कृति संरक्षित क्षेत्र टाेखामा यातायात तथा पार्किङ व्यवस्थापन सम्बन्धि बृहत छलफल

    सानुराज डंगोल
    टाेखालाइभ डट कम / असोज १८,२०७८
    आज टाेखा नगरपालिका वडा ३ को सभा हलमा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको आयोजनामा टाेखाको जिवन्त मौलिक परंरागत संस्कृति संरक्षण अभियान यातायात तथा पार्किङ व्यवस्थापन सम्बन्धि विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

    टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृति संरक्षित क्षेत्रमा देखिएको बिद्मान यातायात तथा पार्किङ व्यवस्थापन समस्या सम्बन्धि बृहत छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ रहनु भएको थियो ।

    कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले आधुनिक विकास तथा वस्ती विस्तार ले ऐतिहासिक सांस्कृतिक नगरी टाेखाको जिवन्त मौलिक परम्परागत भाषा कला संस्कृतिमा प्रत्यक्ष अप्रत्यक्ष नकारात्मक प्रभावहरु परिरहेको बताउनुभयो ।

    कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले ऐतिहासिक सांस्कृतिक नगरी टाेखाको जिवन्त संस्कृति संरक्षणसंग एक अर्काका परिपुरक घनिष्ठ सम्बन्ध राख्ने यातायात तथा पार्किङ्ग व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

    उक्त कार्यपत्रमा ऐतिहासिक सांस्कृतिक नगरी टाेखाको जिवन्त मौलिक ,भाषा कला संस्कृतिलाई युग परिवर्तनसंगै परम्परा र मौलिकता नमेटिने गरि सार्थक मनोरञ्जनका दृश्यहरु झल्कने गरि सजि सजावटका आकर्षणता युक्त पुर्वाधार समेत निर्माण गरि एक अलौकिक पर्यटकिय नगरीको रूपमा विकास गरि सांस्कृतिक कर्मिहरुलाई आर्थिक भरोसा र सामाजिक सम्मान प्रदान गर्न सकिने कार्यक्रम तथा योजनाहरु निरन्तर तर्जुमा गरि संरक्षण सिद्व गर्न अत्यन्तै जरुरी रहेको वहाँले बताउनुभयो ।ऐतिहासिक नगरी टाेखाको मौलिक परम्परागत सांस्कृतिक जात्रा पर्व तथा संस्कारहरुलाई प्रत्यक्ष प्रभाव पार्ने गरि अव्यवस्थित भइरहेको यातायात तथा पार्किङ तत्काल व्यवस्थापन गर्न अत्यन्तै जरुरी रहेको वहाँको धारणा थियो । तसर्थ संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले आवस्यक निति तथा प्रावधानहरु तर्जुमा गरि
    ऐतिहासिक सांस्कृतिक नगरी टाेखाको यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन गरि जिम्मेवारी टिम वहन गरि अगाडि बढ्न सम्बन्धि सरोकार वालाहरुसंग लागू गराउन प्रस्तावना समेत पेश गर्नुभएको थियो ।

    प्रस्तावमा
    टाेखा नगर उप प्रमुख नेतृत्वमा
    संयोजक २/३ का वडाध्यक्ष २ जना,
    सदस्य महानगरीय प्रहरी प्रभाग ट्राफिक प्रतिनिधि १ जना, सदस्य ६ दलका राजनैतिक प्रतिनिधि ६ जना,
    सदस्य क्लब प्रतिनिधि २ जना,
    सदस्य संस्कृति संरक्षित क्षेत्र विकास समिति १ जना,
    सदस्य नेवा: गुथि १ जना

    टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका
    प्रस्तावित सुधारका योजना :
    ~मुलगेट र गणेशस्थानबाट ऐतिहासिक वस्ती भित्र सबै प्रकारका ६ चक्के गाडीहरुलाई पुर्ण प्रवेश निषेध गर्ने।
    ~सांस्कृतिक पर्व जात्रा अन्तर्गत हुने सांस्कृतिक नगर परिक्रमा हुँदाको क्रममा सबै प्रकारका सवारी साधनहरु लाई वस्ती प्रवेश निषेध गर्ने।
    ~ व्यवसायीक तथा घरायसी सामग्रीहरु ढुवानी गरि ल्याउन र लान विशेष प्रवेश अनुमति लिई मात्र प्रवेश गर्ने गराउने ।
    ~ मुल टाेलहरुमा
    ~ मुल टाेलहरुमा कुनै किसिमको सवारी साधनहरु पार्किङ्ग गर्न नदिने।
    ~मुलगेट र गणेशस्थान,भिमसेन मन्दिर संगैको बाटोमा सिक्रीको घात लगाउने

    टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको बैकल्पिक प्रस्तावित योजना:-
    ~सबै वाइपास सडकहरु मर्मत संभार तथा निर्माणको लागि पहल गरिदिने।

    ~भित्री चोकहरुमा पार्किङ्गको व्यवस्थापन गर्ने।
    ~सरस्वती चौरमा कोथु गणेशथानको पछाडिको बाटोमा पार्किङ व्यवस्था मिलाउने ।
    ~मोटर साइकल प्रवेशको लागि बैकल्पिक प्रवेश बाटोहरु प्रयोग गर्न दिने।
    ~ गलय् मा एउटा छुट्टै पार्किङ्ग स्थल बनाउने योजना पेश गर्ने।

    ~भुटखेल फुटबल मैदानको पुर्व उत्तर तर्फका भागमा पार्किङ्ग सहितको प्याराफीट निर्माणको योजनालाई प्राथमिकता प्रदान गरि निर्माण गर्न नगरपालिका लगायत सम्बन्धित निकायमा अनुरोध गर्ने। बैकल्पिक प्रस्तावित योजनामा भनिएकों छ।

    कमिटी नबनाए सम्म केही नहुने भएकोले जनप्रतिनिधि , प्रहरी राजनीतिक दल,क्लब संघसंस्था सबै मिलेर अगाडि बढनुको विकल्प नभएको संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जोड दिनुभयो।

    कार्यपत्रको यातायात तथा पार्किङ व्यवस्थापन सम्बन्धि भएको विशेष छलफल प्रस्तावनामा विभिन्न सहभागीहरुले सुझाव राख्नु भएको थियो।

    यसबारेमा टाेखा संस्कृति सम्पदा संरक्षण दबुका सचिव हिराकाजी श्रेष्ठले टाेखा संस्कृति संरक्षित क्षेत्र भएकोले टाेखाको मुल गेटबाट झोर र नुवाकोट जाने गाडीहरु प्रवेश निषेध गर्नुपर्ने । कृष्णजात्रा एकै दिन गर्ने गरि व्यवस्थापन गर्नु पर्ने । संस्कृति संरक्षित क्षेत्र टाेखा भित्रका घरहरु विना झन्झट नक्सा पास हुने गरि नियम बनाइ लागू गर्नुपर्ने । टाेखा सांस्कृतिक नगरीको मुहार फेर्ने अनुदान रकम सहज रूपमा उपलब्ध गराउनु पर्ने। पञ्चद्वार निर्माण कार्य छिटो बनाउन पहल गर्नुपर्नेमा जोड दिदै सुझाव पेश गर्नुभएको थियो ।

    कार्यक्रममा टाेखा मु: ध्वाखा टाेल विकास संस्थाका राम डंगोलले बैकल्पिक बाटो राम्रो भयो भने अहिले भइरहेको अव्यवस्थित यातायात जामको चपेटामा टाेखावासी सिकार हुन नपर्ने बताए ।

    समाजसेवि दिपेन्द्र डंगोलले अहिले टाेखाको अधिकांश घरमा गाडी र मोटरसाइकल छ यसरी संस्कृति संरक्षित क्षेत्र भित्र भइरहेको अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन चाहन्छु भन्नुभयो।

    नेपाल मजदुर किसान पार्टी टाेखाका सदस्य कमल बहादुर डंगोलले टाेखाको परापुर्व काल देखि नै आत्मीयता गासिएको भुटखेल मैदानमा कुनै पनि भौतिक संरचना बनाउन नहुने,भुटखेल मैदानमा वातावरण मैत्री खुल्ला यथास्थिति मै राख्नुपर्ने बताउनुभयो ।

    भिन्नरुपले सक्षम मानव सेवा केन्द्रका अध्यक्ष हरि बहादुर श्रेष्ठले अपाङ्ग मैत्री सडक पेटि निर्माणमा जोड दिनुपर्ने र अपाङ्गमैत्रीलाई सडकमा पहिलो अधिकार र प्राथमिकता दिइनु पर्ने सम्बन्धि ध्यानाकर्षण गराउनु भयो।

    टाेखा मु: ध्वाखा टाेल विकास संस्थाका सचिव मदन श्रेष्ठले टाेखा संस्कृति संरक्षित क्षेत्र भएको कारणले कुनै तवरबाट पनि विथोल्न तथा बिगार्न हुदैन ।यसर्थ प्राचीन स्मारक संरक्षणको कार्यबिधी २०६४ दफा ३ ले के सिद्धान्तहरु प्रतिपादन गरेको पाइन्छ भने मौलिकतासंग कुनै प्रतिस्पर्धा हुने खालको कुनै कार्य गर्नु हुदैन भन्ने उल्लेख छ। त्यस कारणले संस्कृति संरक्षित क्षेत्र भित्र गाडी कुडाउनु हुँदैन हुन्न भन्ने तथ्य यस्ले दिने बताए ।

    टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले टाेखा संस्कृति संरक्षित क्षेत्रमा मौलिक ढुङ्गा बिछ्याएको सम्पदा जोगाउन गाडी कुदाउन नहुने, प्रवेश गर्ने ठुलो गाडी प्रवेशमा रोक लगाउने , ट्राफिक कार्यालय मार्फत समन्वय गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने बताउदै टाेखा संस्कृति संरक्षित क्षेत्र भित्र पार्किङ्ग गर्नु नपर्ने गरि भुटखेलकै कुनै एक ठाँउमा पार्किङ व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

    नेवा: गुथीका उपाध्यक्ष सुर्यमान डंगोलले टाेखा संस्कृति संरक्षित क्षेत्र भित्र लाखे नचाउदा गाडीहरूको जामले गणेशस्थानबाट हिडेरै आउनु पर्ने बाध्यता रहेको तितो यथार्थ व्यक्त गर्नुभयो ।

    नेकपा माओवादी टाेखाका संयोजक हरि कृष्ण श्रेष्ठले बैकल्पिक बाटो अवरोध भैरहेकोले टाेखा संस्कृति संरक्षित क्षेत्रमा गाडीको समस्या भएको बताए ।बाटो मात्रै संस्कृति संरक्षित क्षेत्र होइन यहाँको हरेक घरको संरचना मौलिकता झल्काउने गरि निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।

    टाेखा सरस्वती गाविस पुर्व अध्यक्ष बाबुलाल डंगोलले बाइपास सडक तयार भैसकेको अवस्थामा पनि मुख्य बाटोमा पार्किङ नगरी भुटखेलमा पार्किङ गर्नुपर्ने , कोथुगणेशस्थानमा खुल्लै हुनु पर्छ।गलेपार्कमा पनि पार्किङ गर्नुपर्ने र यस्का लागि क्लब संघसंस्थाका सदस्यहरुलाई खटाइ जनचेतना जगाउदै कार्यक्रम संचालन गर्नुपर्ने विचार राख्नुभयो।

    सपनतिर्थ मन्दिर निर्माण संरक्षण समितिका अध्यक्ष अष्टनारायण डंगोलले टाेखामा जब जात्रा पर्व शुरु भए पछि अनि स्थानीयलाई सवारी साधन लिएर जान हटार हुन्छ।चोक चोकमा पार्किङ गर्ने,जात्रा भएपछि हामी आफै त्यस्मा अव्यवस्थित पार्किङ गरेर जाम सिर्जना गराउने प्रवृत्ति विदमान छ। अनि ट्राफिकलाई मात्रै दोष दिनु गलत रहेको वहाँको भनाइ छ।

    नेकपा एमाले टाेखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिले चालेको कदम उत्साहजनक प्रयास भएको बताउदै यातायात तथा पार्किङ व्यवस्थापन सम्बन्धि निर्णय गर्ने पहिला अधिकार स्थानीय सरकार वडाको हो। अहिले जुन खालको यातायात समस्या छ यस बारेमा वडाले स्पष्ट धारणा कस्तो आउला? पहिले निर्णय वडा २ र ३ ले स्पष्ट धारणा राख्नु पर्ने अनि मात्रै संघसंस्था अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    त्यसै गरि टाेखा चण्डेश्वरी गाविस पुर्व अध्यक्ष कसि नारायण श्रेष्ठले बाटो विस्तार गर्दा सामाखुसी चोकका घरहरु १५/१६ बाटोको घरहरु भट्काउनै नसक्ने तर टाेखाको घरहरु मात्रै भत्काउनु पर्ने यो कस्तो खालको नियम र यस विरुद्ध स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

    नेवा: गुथि टाेखाका अध्यक्ष रमेश नापितले संस्कृति संरक्षित क्षेत्र टाेखा घोषित गरिसकेको अवस्थामा पनि जात्रा पर्वमा यातायातको समस्या चिन्ताको बिषय भएको उहाँ बताउँछन् । यस्को लागि टाेखावासी आफै पनि सचेत हुनुपर्ने बताउदै यस्को लागि सबै मिलेर यो विषयमा नीति निर्माण नबनाएसम्म समस्याको समाधान नहुने व्यक्त गर्नुभयो। हामीले २ करोडको बजेटमा मौलिक झल्काउन ढुङ्गा छपाइ गरियो तर गाडीले निर्वाद आवतजावतले गर्दा ५० वटा भन्दा बढी ढुङ्गा निस्किसकिएको अवस्था छ। बाइपास बाटो नबनाएसम्म टाेखामा यातायातको व्यवस्थापन तत्कालै समाधान नहुने वहाको तर्क थियो ।

    टाेखा नगरपालिका २ का वडासदस्य हेराकाजी महर्जनले अहिले भइरहेको हरेक समस्या स्थानीय जनप्रतिनिधिले मात्र समाधान गर्छन् भन्ने हुदैन।सामाजिक सरोकार र चासोको विषयमा स्थानीय जनमानस सहभागी हुनुपर्ने बाताए। संस्कृति संरक्षित क्षेत्र टाेखा गेट भित्र घरको मापदण्ड संरचना पनि लेखाजोखा गर्नुपर्ने बताउछन् ।त्यसको लागि स्थानीय सरकारले मात्रै गर्न सक्दैन , संस्कृति संरक्षित क्षेत्रको घरहरु रेखांकन , नक्साङ्गन,नक्सा पासको व्यवस्थापन गर्न स्थानीय संघसंस्था , राजनीति दलले सहभागिता जनाएर सहयोग गर्नुपर्ने विचार राख्नुभयो।

    महानगरीय ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी कृष्ण बस्नेतले पिक एन्ड द्रपको समयलाई मध्य नजर गरि यातायातको अव्यवस्थित ट्राफिक जामलाई सुधार गर्न सकिने,चोकमा गाडी पार्किङ गर्ने,चोकमा गाडी हुँदैन। भाडाका गाडीलाई पनि कहाँ पार्किङ गर्ने भन्ने कुरा स्थानीय वडा कार्यालयले पनि नीति निर्माण गरि निर्णय गर्नुपर्ने बताउनुभयो।
    सबैले आ आफ्नै ठाँउबाट सहयोग भएको खण्डमा टाेखामा यातायातको खासै समस्या नभएको वहाँले बताए ।

    टाेखाका मुलनायो हेमराज श्रेष्ठले टाेखा नगरपालिका २ र ३ वडा कार्यालय बाटै यसलाई निर्कौल गर्नुपर्ने , कार्यन्वयन गरि लागू गर्नुपर्ने , ४ पाङ्ग्रे ८ पाङ्ग्रे गाडी व्यवस्थापनको लागि वडा कार्यालयले नै विभिन्न सामाजिक संघसंस्थालाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

    संस्कृति संरक्षित क्षेत्र टाेखामा यातायात तथा पार्किङ व्यवस्थापन सम्बन्धि विशेष छलफलका अतिथि टाेखा नगरपालिका  ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले टाेखा संस्कृति संरक्षित क्षेत्रमा देखिएको बाइपासको बाटोलाई व्यवस्थित गर्न सर्वदलीय बैठकबाटै समाधान गरिने बताउनुभयो। अहिले यातायात तथा पार्किङ व्यवस्थापनमा मुख्य समस्यालाई समाधान गर्न राजनीतिक स्वार्थ नहेरी सबैले टाेखा हाम्रै हो भन्ने भावना आत्मसात गर्दै सबैले आ आफ्नै ठाँउबाट सहयोग गर्न टाेखा वासीहरुमा आग्रह गर्नुभयो। वडाध्यक्ष सिंहराज श्रेष्ठले त्यस्को लागि स्थानीय क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनितीकर्मी, बुद्धिजीवी , समाजसेवि तथा सम्पदा प्रेमीहरुलाई अत्यधिक सहभागिता गराएर अगाडि बढ्ने बताउनुभयो ।

    संस्कृति संरक्षित क्षेत्र विकास समितिले आयोजना गरेको यातायात तथा पार्किङ व्यवस्थापन सम्बन्धि विशेष छलफल कार्यक्रममा विभिन्न स्थानीय क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनितीकर्मी, बुद्धिजीवी , समाजसेवि तथा सम्पदा प्रेमीहरुको उपस्थिति रहेको थियोे ।

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै