• TOKHA LIVE

    • १६ आश्विन २०७८, शनिबार ०६:००

    चीन र भारतबीचको सीमा समस्या मतभिन्नताहरू चाँडै समाधान हुन सकून्: एमाले प्रतिवेदन

    टाेखालाइभ/ असोज १६,२०७८
    काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन्।

    तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी भएका छन्। उद्घाटन सत्रपछि बन्द सत्रमा अध्यक्ष ओलीले एमालेको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव बढ्यो भने त्यसको असर नेपाललाई हुने उल्लेख गरेका हुन् ।

    नेकपा एमालेले चीन र भारतबीचको विवाद बढेको खण्डमा त्यसको असर नेपाललाई हुने बताएको छ ।

    प्रतिवेदनमा दुई देशबीच सम्बन्ध सुधार भयो भने नेपाललाई दुवैसँग सन्तुलित सम्बन्ध राख्न, अविश्वास र आशंका कम गर्न र दुवै देशको आर्थिक विकास, ठूलो बजार र समृद्धिबाट अधिकतम लाभ लिन अनुकूल वातावरण निर्माण हुने उल्लेख गरिएको छ । ‘दुई देशबीचको सीमा समस्यालगायतका मतभिन्नताहरू चाँडै समाधान हुन सकून् र दुई देशबीच सार्थक साझेदारी होस् भन्ने चाहन्छौँ’, प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदनमा नेपाल एक चीन नीतिमा दृढ रहेको र आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नीतिमा अविचलित रहेको उल्लेख गरिएको छ । यस्तै, नेपालको भूभाग कुनै पनि छिमेकी तथा मित्रराष्ट्रका विरुद्ध प्रयोग हुन नदिने नीतिमा पार्टी दृढ रहेको प्रतिवेदनमा बताइएको छ ।

    ‘कृषि उपजलगायत नेपाली उत्पादनलाई भारतमा प्रवेश सहज गर्न अवरोध सिर्जना नगरियोस्, सीमाको व्यवस्थापन होस्, जलस्रोतको बहुपक्षीय उपयोगका सम्बन्धमा गलत सोच र व्यवहार नहोस् भन्नेजस्ता नेपालका पनि चासो र सरोकार छन्’, प्रतिवेदनमा भनिएको छ, ुहामी सन् १९५० को सन्धिलगायत इतिहासले छाडेर गएका समस्यालाई समाधान गर्दै दुई देशबीच सार्वभौम समानता, अहस्तक्षेप र पारस्परिक सम्मान तथा लाभमा आधारित एक्काइसौँ शताब्दी सुहाउँदो, विश्वासिलो र बहुआयामिक सम्बन्ध विस्तार गर्न चाहन्छौँ ।’

    प्रतिवेदनमा लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रका नेपाली भूमि फिर्ता हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै, भारतबाट नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो र हस्तक्षेप नहोस् भन्ने पनि उल्लेख गरिएको छ ।

    चाहन्छौँ ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै