टोखा लाइभ । २०७८ असोज ४ गते।
• हिक्मत डंगोल
हरेक वर्ष इन्दजात्राभरि टोखाको प्रमुख ठाउहरूमा ज्यादै डरलाग्दो देखिने ,निकै ठूलो आकाश भैरव अर्थात हासध्ध टाउको मात्रका काठबाट बनेको मूर्ति घर मन्दिर , डबली र पेटी ठाउमा राखेर प्रर्दशनी गर्ने पुरानो परंम्परा छ। हात खुट्टा र पखेटा बिना पनि चाहिएको बेला जुनसुकै ठाउँमा तुरून्त पुग्न सकिने विश्वास गरिएको यी आकास भैरवको वास्तविक स्वरूप के हो? र नेपालमा यिनको पुजा गर्ने चलन कसरी आयो भन्ने बारेमा रोचक किम्वदन्ती पाईन्छ।

फ़ोटो: निकेस श्रेष्ठ
कतिपय किंम्वदन्ती अनुसार आकाश भैरव जात्रा हेर्न जहिले नि हुरूक्कै हुने देवता हुन। त्यसैले यिनी हरेक जात्रामा कुनै न कुनै रूपमा सामेल भई राखेको हुन्छ । इन्द्र जात्राको समयमा पनि यिनको टाउको मात्रका मूर्तिहरू प्रर्दशन गर्ने पर्ने प्रथाको मूल अभिप्राय पनि यही रहेको विश्वास गरिन्छ । इन्द्रजात्रामा मात्र हैन कि अरू प्रमुख जात्रा जस्तै- पाटनको रातो मच्छिन्द्रनाथको रथ जात्रा समयमा , शिवरात्रिको समयमा , टोखाको बिस्का: जात्राको समयमा पनि पनि आकास भैरवको टाउको मात्रका मूर्तिहरूलाई जात्रा देखाउने हिसाबले घरबाट वाहिर ल्याई प्रर्दशन गर्ने चलन अहिले पनि छँदैछ।

यिनी जात्राका ज्यादै शौखिन छन् भन्ने किम्वदन्तीमा ध्यान दिएर हेरेको खण्डमा यसमा निहित सत्यको आभास हामीलाई हुन थाल्छ। उदाहरणका लागि पाटनको रातो मच्छिन्द्रनाथ र मीननाथको रथ जात्रामा पनि भैरवको रूपमा यिनको उपस्थिति अनिवार्य मानिन्छ।जात्रा भरि यिनी रथको पॉग्राहरूमै रहेको हुन्छ । रथका पॉग्राहरूमा चित्रण गरिएका तीनवटा जल्दाबल्दा ऑखाहरू यीनै महाबली भैरवका दिव्य दृष्टिका प्रतीक हुन। यिनको सक्रिय सहभागिता बिना जात्रा सम्पन हुनै नसकिने विश्वास गरिन्छ । अत: जात्राको थालनी हुनु अगावै यिनको विधिवत पूजा आराधना हुन्छ । यिनलाई पशुबलि नचढाए सम्म रथको पॉग्रा गुड्दैन भन्ने विश्वास रहेको छ। त्यस्तै कुमारी, भैरव, गणेश, र सेतो मच्छिन्द्रनाथको रथको पॉग्राहरूमा पनि यिनी सामेल नभई कामै नचल्ने जन विश्वास छ।

किंबदन्तीअनुसार टोखाको पुखुसी स्थित प्रदर्शन गरिएको आकाश भैरवलाई काठमाडौँ उपत्यकाका किराँतवंशी राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ । भैरवलाई महादेवको रुद्र रूपमा समेत मान्ने गरिन्छ । यलम्बर र महाभारत युद्धको समेत सम्बन्ध रहेको भन्ने गरिन्छ ।किराँती राजा यलम्बरलाई भगवान् शिवकै रूप मानिन्छ। महाभारतको युद्ध सुरु हुनुभन्दा धेरैअघि उनी कुरुक्षेत्रतर्फ लाग्छन् र बाटोमा एक ग्वालासँग उनको भेट हुन्छ। ग्वाला अरू कोही होइन, भगवान् श्रीकृष्ण नै हुन्।

यलम्बर उनलाई महाभारतको युद्ध किन सुरु नभएको भनी प्रश्न गर्छन्। देवताहरूलाई मात्र ज्ञात भएको भविष्यको युद्धबारे यी राजालाई कसरी थाहा भयो भनी श्रीकृष्ण अचम्ममा पर्छन्। यलम्बरमा भगवान् शिवको रूप देखिएपछि श्रीकृष्ण उनलाई महाभारत युद्धबाट पन्छाउन खोज्छन्।

कृष्णले महाभारतको युद्ध गर्ने कुरा परिकल्पना मात्रै गरेका थिए । यलम्बरको कुरा सुनेर अचम्मित हुँदै युद्धमा कसको पक्ष समर्थन गर्छौ भनी सोधे । यलम्बरले युद्ध हार्नेको पक्षमा समर्थन हुने बताए । युद्धमा पाण्डवलाई जिताउने कल्पना गरेका कृष्णलाई कौरवले हारेमा र यलम्बरले आफ्ना सैनिकसहित युद्धमा सहभागी भएमा अनर्थ हुने भन्दै रोक्ने योजना बनाए ।

यलम्बरलाई रोक्ने योजना बनाएर कृष्णले छल गरे । छल गर्ने क्रममा कृष्णले यलम्बरसँग खेल खेल्दा “तिमी त बलवान् रहेछौ, म तिमीलाई वरदान दिन्छु” भने। यलम्बरले उल्टै “म तिमीलाई वरदान दिन्छु, माग” भने । कृष्णले सोचेजस्तो भएपछि खुशी हुँदै यलम्बरसँग “म तिम्रो टाउको छेदन गर्न पाऊँ” भनी वर मागे । वाचामा हारिसकेका यलम्बरको टाउको कृष्णले सुदर्शन चक्र प्रहार गरी काटि दिन्छन। टाउको हुर्रिएर आकासमा पुग्दछ । युद्ध हेर्न पाउने गरी वरदान दिए । शिवको अंश प्राप्त यलम्बर स्वयं तान्त्रिक भएकोले तन्त्रको बलले आफ्नो टाउको आकाशमै अड्याएर महाभारत को युद्ध हेर्न थाल्छन।यलम्बरको काटिएको शिरले आकासमा बसी महाभारतको युद्ध हेरिरहँदा यो युद्ध अरू केही होइन , एक्लै कृष्णको जालझेल , छलकपट पो रहेछ भन्ने बुझी यस्तो युद्ध के हेरिरहने भनी आकाश मार्ग बाट काठमांडौं फर्कन्छन। आफ्नो राजा यलम्बरको यस्तो दुर्गति भएको देखेर काठमांडूौं निवासीहरू साहै दु: खी हुन्छन। त्यस पछि जनताले आफ्नो प्रिय राजाको काटिएको शिरलाई सम्मान पूर्वक एउटा मन्दिरको निर्माण गरी स्थापना गरि दिन्छन । बर्सेनी यो टाउकाको मूर्तिको प्रर्दशन टोखा निवासीहरूले यलम्वरको पराक्रम कथाको स्मरण गराउने उदेश्यले गरिन्छ । त्यही टाउको आकाश मार्गबाट उडेर काठमाडौँमा आएर बसेको हुनाले यसलाई आकाश भैरव को नामले प्रख्यात भयो ।

काठमांडौं भित्र यस हास् ध्द को पूजा गर्ने परंम्परा किरॉतीहरूले ल्याएको हुन सक्छ । तर ईशा पूर्व मा प्राचीन भैरवहरूको उत्पत्तिको कथा किराँतकाल देखि नै चलि आएको हुन सक्छ । तर नेपाल मण्डल अर्थात् काठमांडौं उपत्यका भित्र किराँतहरूले इतिहासको कुनै कालखण्डमा राज्य गरेकोले यस भैरवको पूजाको परंम्परा इतिहासको शुरू देखि नै चल्दै आइरहेको मान्न सकिन्छ ।

फ़ोटो: नविना
यसरी संम्भवत : किराँत काल देखि नै चल्दै आएको भैरवको पूजाको परंम्परा काठमांडौं मा अझै सशक्त रूपमा चल्दै आइरहेको छ। जे होस नेपालमा आकास भैरव एउटा यस्तो तान्त्रिक देवता हो जसले यस देशमा धार्मिक सहिष्णुता र मेलमिलापको भावनालाई जोगाई राख्न , बलियो बनाई राख्न र समाजमा शान्ति, सुव्यवस्था कायम गरी राख्न ठूलो सहयोग पुर्याई रहेको छ।

