• TOKHA LIVE

    • ७ भाद्र २०७८, सोमबार १०:३७

    गाइजात्रा, कार्टुनिष्ट र टोखाका कलाकार

    टाेखालाइभ डट कम/ भाद्र ७, काठमाडौं:

    गाईजात्राको अवसरमा अधिराज भरि विभिन्न ठाँउहरुमा आ-आफ्नै तरिकाले गाइजात्रा मनाउदै आइरहेको छ।भने गाइजात्राकै दिन कार्टुनिष्टहरुले यहि दिन व्यंग्यचित्र कार्टुन द्वारा विकृती विसङगती विरुद्ध कार्टुन व्यंग्यचित्र प्रहार गरिदै आइरहेको छ।कार्टुन समाजलाई सचेत गराउने कलात्मक खुराक हो । अझ पत्रकारितामा यसलाई ‘चटनी/अचार’का रूपमा लिँदा पनि हुन्छ । कार्टुन रेखा वा रङद्वारा आमजनतामा सूचना र भावना पस्कने दृश्य भाषा हो । हुन त दृश्य भाषाको शक्ति निकै तेज हुन्छ ।

    नेपालमा कार्टुनचित्र बनाउने क्रम कहिलेदेखि सुरु भयो, त्यसको यकिन इतिहास भने पाइएको छैन । नेपालमा धार्मिक तथा सामाजिक रूपमा कार्टुन बनाएको पाइन्छ । स्वस्थानी कथामा वर्णन गरिएअनुसार शिवजीले दक्ष प्रजापतिको टाउको बोकाको बनाएको प्रसंगसँग जोडेर बनाइएका चित्र पनि कार्टुन नै हुन् । यस्तै, गणेशको टाउको हात्तीको र शरीर मानिसको रहेको आकृतिलगायतका धार्मिक ग्रन्थमा वर्णन गरिएअनुसार कतिपय राक्षस गणको आकृति पनि वास्तविकभन्दा फरक कार्टुन रूपमै बनाएको पाइन्छ ।

    राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको श्रीपेचलाई हात्तीको सुँढबाट निस्किएको पानीको फोहोराले फ्याँकिरहेको र राजाको (त्रिभुवन) श्रीपेच सिंहले जोगाइरहेको कार्टुन नेपाली राजनीतिमै महत्व राख्ने खालको छ । कलाकार चन्द्रमानसिंह मास्केले बनाएको उक्त कार्टुनमा हात्तीलाई जनता र कुकुरलाई राणाको प्रतीकका रूपमा देखाइएको छ । मास्केका परिवारका अनुसार १९९५ सालमै बनाइएको यही कार्टुनका कारण १९९७ सालमा चन्द्रमानलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय तोकियो ।

    नेपालमा कलाकारिताका कारण सत्ताद्वारा जेल भोग्ने कलाकार मास्केसँगै अर्का कलाकार तेजबहादुर चित्रकारले १९८० सालमा कलकत्तामा पहिलोपटक कलाको औपचारिक शिक्षा लिन पुगेका थिए । राणाकै सहयोगमा पढेर आएका मास्केले जहानियाँ राणाशासनकै विरुद्ध कला रचना गरेर प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेका थिए । त्यसवेला राणाविरुद्धका पर्चा पम्प्लेटमा कार्टुन छापेर जनचेतना जगाउने काम गरिन्थ्यो । जसमा मास्के, केशव दुवाडी (दुवाडीका परिवारले जनाएअनुसार)लगायतका कलाकार सहभागी रहेको पाइन्थ्यो ।

    ००७ सालपछिको खुकुलो परिवेशमा केही कार्टुन बनाउने वातावरण भए पनि त्यति बनेको पाइँदैन । अहिलेसम्म भेटिएका कार्टुनमा गोवर्धनविक्रम शाहले तुलसी गिरीको लेख पढेपछि ‘संयुक्त प्रयास’मा २०१४ सालको साउन अंकमा छपाएको कार्टुन नै पहिलो अखबारी कार्टुन मानिएको छ ।

    अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ले विमर्श साप्ताहिकमा ०४९ साल कात्तिक २१ गते तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका बारेमा बनाएको कार्टुनका कारण सम्पादक हरिहर विरही सात दिन जेल बस्नुपरेको थियो । कार्टुनमा नरिवलको रुखमा चढेका बाँदररूपी उपाध्यायलाई सत्तापक्ष कांग्रेसका नेता र प्रतिपक्ष नेकपा एमालेका नेताले नरिवल आफूतिर छिटो खसाल्न भनेको विषय छ । सत्ता पक्षले खोकनालाई आइन्दा यस्तो कार्टुन नबनाउन चेतावनी दियो ।
    गोरखापत्रमा ०५० साल फागुन २९ गते दुर्गा बराल ‘वात्स्यायन’ले बनाएको कार्टुनका कारण संसद्मा होहल्लासँगै संसद् अवरुद्ध नै भएको थियो । नेकपा एमालेले नेपाली कांग्रेसको सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फेल भएपछि सोही सन्दर्भमा बनाइएको कार्टुनमा मनमोहन अधिकारीले हातमा भाँचिएको तरबार लिएर पार्टी कार्यालय गइरहेको दृश्यलाई देखाइएको छ । यसै विषयलाई लिएर तत्कालीन सञ्चारमन्त्रीले स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

    ज्ञानेन्द्र शाहले लोकतन्त्रको चीरहरण गर्दै सत्ता हातमा लिएपछिको सन्दर्भमा रहेर वात्स्यायनको ०६१ भदौ ५ गते कान्तिपुर दैनिकमा छापिएको कार्टुनका कारण सम्पादक नारायण वाग्लेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा स्पष्टीकरण दिनुपरेको थियो । साथै, तत्कालीन सञ्चारमन्त्री टंक ढकालले कान्तिपुरलाई कारबाही गर्ने चेतावनी दिएका थिए । कार्टुनमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले फोहोरमैला फ्याँक्ने ठाउँबाट सिनोरूपी गधा काँधमा बोकेर हिँडिरहेको दृश्य छ ।

    विशेष गरि गाईजात्रा भन्ने बितिक्कै नेताहरुलाइ ब्यग्य गर्ने,क्यारिकेचर गर्ने हाउभाउ गर्ने मात्र नभएर समाजमा भै रहेका बिकृती बिसङती बिरुद्ध भण्डाफाेर गरि समाजलाई सुसूचित गराउने महान पर्वको रूपमा यस्लाइ लिदै आइरहेको छ।

     

    टाेखामा पनि गाइजात्रा र गाइजात्राको अवसरमा गरिने हास्य व्यंग्य गाइजात्रेको अवसरमा नेताहरुलाई व्यंग्यचित्रद्वारा कार्टुन बनाइदै आइरहेको छ भने सो व्यंग्यचित्र हाल सम्म प्रदर्शन पनि गरिदै आएको छ। टाेखामा ती व्यंग्यचित्रकारको नाम लिनु पर्दा कलाकार हरिबहादुर श्रेष्ठ र सानुराज डंगोलको नाम लिनै पर्ने हुन्छ। वि स २०६६ साल देखि देखी टाेखामा गाईजात्राको अवसर पारेर एकल गाइजात्रा हुँदै आइरहेको कार्टुन प्रदर्शन यसपाली स्थगित गरेको आयोजक टाेखा कला पुच:का अध्यक्ष हरिबहादुर श्रेष्ठ बताउछन। कलाकार हरिबहादुर श्रेष्ठ हाल सम्म थुप्रै व्यंग्यचित्र बनाइसकेका छ्न भने कार्टुनिष्ट सानुराज डंगोलले टाेखाकै मासिक पत्रिका उत्तरी दर्पण मासिकमा २०६४ देखि व्यंग्यचित्र बनाउन सुरु गरे पछि ,समयपोस्ट साप्ताहिक , प्रभाव दैनिक , मध्यान्ह दैनिक , र कामना गाइजात्रा बिषेशांक, टाेखा लाइभ डट कममा गरि हाल सम्म थुप्रै कार्टुन प्रकाशित गरेका छन।

    बि.स.२०६७ सालमा कलाकार तथा कार्टुनिष्ट हरिबहादुर श्रेष्ठले टाेखामा गाईजात्रा व्यंग्यचित्र प्रदर्शनी गर्दै गर्दा समाजका भ्रष्ट सोच र विचार भएका व्यक्तिहरुले व्यंग्यचित्र प्रदर्शनी नगर्न चेतावनीको समेत सामना गर्नु परेको थियो ।

    कलाकार हरि बहादुर श्रेष्ठ कार्टुन बनाउदै

    हाल विस्वभर फैलिरहेको महामारी काेभिड-१९ कोरोना भाइरसका कारण कार्तुन प्रदर्शन स्थगित गरेको भए पनि सो कार्टुन भने सामाजिक संजालमा हेर्न सकिने टाेखा कला पुच:का अध्यक्ष हरिबहादुर श्रेष्ठ बताउँछन् ।

    टाेखामा २०७४ सालमा स्थापना भएको टाेखा कला पुच:समुहले टाेखामा रहेका विभिन्न कला पेसामा संलग्न रहेका कलाकारहरुहरुको हकहित तथा कला संस्कृति सम्पदा जगेर्ना गर्ने उद्देश्य रहेको छ। हाल टाेखा कला पुच:मा अध्यक्ष हरिबहादुर श्रेष्ठको अध्यक्षतामा कार्य समिति समेत गठन गरिएको छ। जस्मा उपाध्यक्षमा शंख नारायण श्रेष्ठ , सचिवमा सानुराज डंगोल , सह सचिवमा कृस्तिना डंगोल ,काेषाध्यक्षमा रवि श्रेष्ठ ,सहकाेषाध्यक्षमा रमेश डंगोल , सदस्यहरुमा सरोज श्रेष्ठ ,सिद्धार्थ श्रेष्ठ , सुमन डंगोल,आशाकाजी डंगोल ,सुमन श्रेष्ठ , नन्दकुमार श्रेष्ठ ,अनिस डंगोल , कुमार श्रेष्ठ , अनुप डंगोल रहेका छन् ।

    सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत मानव समाजमा सरोकार राख्ने हरविषय कार्टुनका आधार हुन् । शासन होस् या प्रशासन, शक्ति वा आशक्ति, विकृति होस् या कुरीति, अर्थात् यो संसारका लागि नकार मानिएका विषय कार्टुनका मुख्य खुराक हुन् ।

    व्यंग्यचित्र घटनाबाट कार्टुनको शक्ति र सत्ताको मनोवृत्तिलाई बुझ्न सकिन्छ । काटुनिस्टहरूमाथि सत्ताको प्रहार निरन्तर देखिन्छ । यसबाट बुझिन्छ, नेपाली कार्टुनको विकासक्रम राजनीतिक आन्दोलनसँग प्रत्यक्ष जोडिएको छ । राजा महेन्द्रको ०१७ सालको कदमपछि कार्टुन विधाले फस्टाउने अवसर नै पाएन । पञ्चायत कालभरि नै कार्टुनको सामथ्र्य र शक्तिले समाजलाई सचेत बनाउने सहज वातावरण नै पाएन । ००७ सालअघिको चरणदेखि ०६२/६३ को जनआन्दोलन र अहिलेसम्म आइपुग्दा कार्टुन जनस्तरमा निकै लोकप्रिय बनेको छ । गणतन्त्रकालमा चुनौतीसँगै नेपाली कार्टुनले फस्टाउने अवसर पाएको छ ।

    कार्टुन भनेकै विकृति, विसंगति तथा समाजका नकारात्मक पक्षमाथिको कटाक्ष पनि हो । सटिक रेखा वा रङद्वारा हास्यचेतसहित गरिएको प्रस्तुति नै कार्टुन अर्थात् ‘व्यंग्यचित्र’ हो ।

    मानिस, समाज र राजनीति राम्रो होस्, मानिसको आचरण असल होस्, सबैमा सहिष्णु र समानताको भाव होस्, तर कार्टुनिस्टका लागि खुराक भने विकृत समाज, राजनीति, नेता र चरित्रले उत्पादन गरिरहेको हुन्छ । यस्तो अवस्था नआओस् भन्ने कामना गरौँ

    व्यंग्य कार्टुन न त यसलाई बुझ्न भाषाको आवश्यकता पर्दछ, न त विश्वविद्यालयको कुनै पनि डिग्री । यसलाई बुझ्न मानिस, समाज, राजनीति, शक्ति या सत्ता आदिको रङ र चरित्र बुझे मात्रै हुन्छ । शब्दद्वारा थापिएका च्याँखे भकारीमा पनि घोत्लिरहनु पर्दैन । बस्, परख गर्ने भावना भए पुग्छ । हेर्‍यो, बुझ्यो, हाँस्यो रमायो, कार्टुनको शक्ति नै यही हो ।

    नेपालका कार्टुनिस्टहरू
    नेपाली कार्टुनमा शशिविक्रम शाह, टेकवीर मुखिया (उदय), दुर्गा बराल ‘वात्सायन’, कुलमानसिंह भण्डारी, बलराम थापा, मोहनश्याम महर्जन, उज्ज्वलकुन्दन ज्यापू, रामकुमार पाँडे, शरद रञ्जित (जुँगेमुठे), रमेशनाथ पाण्डे, मोहनश्याम महर्जन (खोकना)लगायतको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

    त्यस्तै, मनुजबाबु मिश्र, मोदनाथ प्रश्रित, उत्तम खरेल, बैकुण्ठ श्रेष्ठ, शिवहरसिंह प्रधान, गेहेन्द्रमान अमात्य, अशोकमान सिं, मदन चित्रकार, राधेश्याम मुल्मी, जीवन राजोपाध्याय,रमेश विष्ट, सुरेन्द्रराज भट्टराई, धीरेशकुमार दहाल डिकेड, श्यामलाल श्रेष्ठ, जीवन आचार्य, गौतम मानन्धर, मोहन खड्का, मिलन शाक्य, शारदामान श्रेष्ठ, श्यामलाल श्रेष्ठ, नवीन्द्रमान राजभण्डारी, नारदमणि हार्तम्छाली, राजुबाबु शाक्य सारब, अविन श्रेष्ठ, रविन सायमी, राजेश केसी, योगेशकुमार खपाङ्गी, राजेश मानन्धर, देवेन्द्र पौडेल ‘देवेन’, कीर्तिकिशोर जोशी, सुनिल रञ्जित, सुवास क्षितिज, राजेश मानन्धर, वासु क्षितिज (वासुदेव श्रेष्ठ), रमेश विष्ट, रत्नसागर श्रेष्ठ, उत्तम नेपाल, रवि मिश्र, विन्दु पौडेल, केशवराज खनाल, रविन्द्र मानन्धर, दिपक गौतम, उमेशचन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, रोहन कपाली, सागर शाह, सानुराज डंगोल, रामहरी रिमाल, पदम घलेलगायतको भूमिका विशेष रहेको छ । यस्तै, ‘भाँडभैलो’ (२०४२), ‘कामना’लगायतका पत्रिकाले समेत कार्टुनको सामथ्र्य बुझेर विशेषांक निकालेको पाइन्छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै