• TOKHA LIVE

      TOKHA LIVE

    • १५ जेष्ठ २०८३, शुक्रबार १४:१७

    कालिका हिमालयन क्याम्पसको छुट्टै रहस्यमय कहानी

    नबिना श्रेष्ठ
    रसुवा जेठ १५, २०८३

    रसुवा जिल्लाको कालिका गाउँपालिका २ मा रहेको कालिका हिमालयन क्याम्पस अहिले शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने प्रेरणादायी केन्द्र बनेको छ। हिमाली जिल्लाको दुर्गम भूगोलबीच लुकेको यो क्याम्पसको कथा केवल अध्ययनको होइन, महिला शिक्षा, सामाजिक चेतना र विकासको अद्भुत अभियानको कहानी हो।

    कालिका गाउँपालिकाभित्र २५ वटा माध्यमिक विद्यालय रहेका छन् भने १२ कक्षासम्म अध्ययन हुने ११ वटा क्याम्पस सञ्चालनमा छन्। तीमध्ये पाँच वटा कालिका गाउँपालिकामै रहेका छन्। नौकुण्ड गाउँपालिकामा एक, उत्तरगयामा दुई, गोसाइँकुण्डमा दुई र आमाछोदिङ्मो गाउँपालिकामा एक क्याम्पस रहेको छ। तर स्नातकोत्तर तह सञ्चालन गर्ने क्याम्पस भने कालिका गाउँपालिकामा रहेको कालिका हिमालयन क्याम्पस मात्र भएको गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मिरा तामाङले जानकारी दिएका छन्।

    यस क्याम्पसको सबैभन्दा विशेष र प्रेरणादायी पक्ष भनेको छोरी बुहारीहरूका लागि निःशुल्क शिक्षाको व्यवस्था हो। अध्यक्ष देवकोटाका अनुसार आफू निर्वाचित भएपछि २०७९ सालमै यो अवधारणा अघि सारिएको थियो र २०८० सालदेखि औपचारिक रूपमा लागू गरिएको हो।

    “कोही पनि छोरी वा बुहारी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाबाटै छात्रवृत्तिको व्यवस्था गरिएको हो,” अध्यक्ष देवकोटा र उपाध्यक्ष तामाङले बताए।

    उहाँहरूका अनुसार महिलाहरू शिक्षित भए गाउँको विकास स्वतः तीव्र हुने विश्वासका साथ यो अभियान अघि बढाइएको हो। अहिले क्याम्पसमा करिब ६०० विद्यार्थी अध्ययनरत छन्, जसमा छात्राको संख्या उल्लेखनीय रूपमा बढी रहेको जनाइएको छ।

    गाउँपालिकाले शिक्षासँगै कृषिलाई पनि प्राथमिकतामा राखेको छ। किसानहरूले दूध बजारमा प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्दा गाउँपालिकाले थप ५ रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष देवकोटाले बताए।

    कालिका गाउँपालिकाले थालेको यो अभियानले देशभरका स्थानीय तहलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ, यदि शिक्षा र स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राखेर निःशुल्क तथा सहज बनाउने हो भने नेपालको विकासले गति लिन धेरै समय लाग्दैन।

    “देशभरका छोरी बुहारीलाई निःशुल्क शिक्षा दिने व्यवस्था गर्न सके नेपाल समृद्धिको दिशामा तीव्र रूपमा अघि बढ्न सक्छ,” अध्यक्ष हरिकृष्ण देवकोटाले विश्वास व्यक्त गरे।

    ग्रामीण भेगको एउटा सानो क्याम्पसले बोकेको यो ठूलो सपना अहिले धेरैका लागि प्रेरणाको विषय बनेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै