काठमाडौं । मच्छेनारायण मन्दिर मा पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सञ्चालन भइरहेको छ । कीर्तिपुरको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्दछ । मेलामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने गरेको छ ।
मेला व्यवस्थापन समितिका सदस्य सुरेन्द्र मल्लले १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने मेलामा अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी भक्तजन आएको बताए ।
उनले मेलाको व्यवस्थापन प्रभावकारी रूपमा गरिएको उल्लेख गर्दै भक्तजनलाई कुनै समस्या परे व्यवस्थापन समितिका सदस्यहरूसँग सम्पर्क गर्न आग्रह गरे ।
उनले भने, “यस मेलामा व्यवस्थापन समितिले हरेक कुरामा राम्रो व्यवस्थापन गरिरहेको छ । पण्डित बाजेहरूलाई स्थान व्यवस्थापन गरेर पूजा गराउने, लाइन व्यवस्थापन गर्ने तथा पूजा–आजादेखि हरेक पक्ष व्यवस्थित गरेका छौँ ।”
मल्लका अनुसार मेलास्थलमा रहेका पसलहरूमा मूल्यसूची अनिवार्य राख्ने व्यवस्था गरिएको छ । उनले अघिल्लो वर्षझैँ यस वर्ष पनि अनुगमनलाई कडाइ गरिएको बताए ।
यसैबीच मेलामा सहभागी भक्त भक्त बहादुर बानियाँ ले नारायणथानसँग जोडिएको धार्मिक विश्वासबारे चर्चा गर्दै सृष्टिको प्रारम्भमा नारायणको मुखबाट माछाको उत्पत्ति भएको किंवदन्ती रहेको बताए ।

