• TOKHA LIVE

      TOKHA LIVE

    • ६ भाद्र २०७८, आईतवार २२:०३

    नेवार समुदायमा ‘गुन्हुपुन्ही’मनायो

    टोखा लाइभ ।२०७८ भदौ ६ गते

    काठमांडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाये।

    नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो। गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरि गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ।

    यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ। क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरि गेडागुडीको मिश्रणबाट बनेको हुन्छ।

    रोपाइँ र धानखेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद्ले जानकारी दिए।

    “खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, संस्कृति विदले भने। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ।

    नेवार समुदायले भने पञ्चतत्वसहितको डोरो बाँध्ने प्रचलन छ। यसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ। विषेशत क्षेत्री, बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए।

    भ्यागुताको पूजा गरी भोजन खुवाउँदै:

    गुन्हुपुन्हीका अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको पूजा गरी भात र क्वाँती खुवाउँदैछन्। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्‍याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ। कृषक प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन्।

    वर्षा गराउने दूत तथा खेतबारीको शत्रु किरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको संस्कृतिविद सत्य मोहन जोशी बताउँछन्। यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिन्छ।

    “मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो। यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उनले भने। रोपाइँका समयमा कृषकले आ–आफ्नो खेत खन्दा मरेका किरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उनको भनाइ छ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै