-रत्नप्रसाद अनामणि श्रेष्ठ / टोखा नपा -९
टोखा लाइभ । २०७८ साउन १५ गते ।
ल्वहं हिटी नेपालमा लिच्छवीकालबाट अस्तित्वमा आएर मध्यकालमा निकै विकसित भएको पानीको स्रोत हो। यसलाई गा हिटी पनि भनिन्छ। प्रत्येक हितिको नामाकरण गरिएको हुन्छ। नेपालभाषामा हिटी भन्नाले धारा भन्ने अर्थ लाग्छ । नेवारी बस्तिहरुमा धाराको नामसंग जोडिएका थुप्रै स्थानहरु रहेका हुन्छन। हिटी भन्नाले ढुंगाले कलात्मक ,विभिन्न बास्तुशास्त्रले भरिपूर्ण सबैलाई पाइक पर्ने स्थानमा बनेको खानेपानीको स्रोत भन्ने बुझ्नु पर्दछ। कतै कतै सुनको जलप लगाएको पाताले मोडिएको पनि हुन्छ।

हिटी अथवा ढुंगे धारा मध्यकालीन सहरी समाजको अभिन्न अंगका रुपमा रहेकको र त्यसले तत्कालिन सामाजिक सांस्कृतिक परिवेश र सभ्यतालाई प्रस्तुत गरेको हुन्छ। तात्कालिन समाजको नभई नहुने एउटा अभिन्न अंगको रुपमा रहेको संरचना हो। सहरीको शोभा मात्र नभइ सामाजिक प्रतिष्ठा र गौरवका लागि पनि विभिन्न किसिमका ढुंगेधारा निर्माण गरिराखेका हुन्थे। दैनिक खानेपानीको आवश्यकता पूर्तिका लागि टोलटोलमा ढुंगेधारा निर्माण गरिएका हुन्थे । चाडपर्व र जात्रामा पनि फरक फरक ढुंगेधारा प्रयोग हुन्थ्यो । प्रत्यक ढुंगे धाराको नाम हुन्थे। स्थानीय सांस्कृतिक कार्यक्रमको सम्बन्ध तथा विभिन्न किम्बदन्तीसंग जोडिएर रोचक र समाजलाई नैतिक शिक्षा प्रदान गरिरहेका हुन्थे।
यस्तै धाराहरु मध्य प्राचिन नगरी टोखा जाने बाटोको बिचमा रहेको मैजु हिटी पनि एक हो। यो ढुंगे धाराको ऐतिहासिकता बारे र उपयोगिता पनि बिस्तारै लोप हुँदै गए तापनि त्यस क्षेत्रको नाम भने मैजु हिटी नै रहेको छ। काठमाडौँको भोटाहिटी नरहे तापनि भोटाहिटी स्थान रहे जस्तै। यसलाई मैजु हितिलाई अस्तित्वमा ल्याउनु आजको आवश्यकता र अपरिहार्यता हो।

तात्कालिन समयमा पानीको आपूर्तिको व्यवस्थालाई उत्कृष्ट वितरण नै ढुंगे धारा हो। पानीको धारा व्यक्तिगत हुँदैनथ्यो, सार्वजनिक हुन्थ्यो । ढुंगेधाराको पानी सबैले उपभोग गर्न पाउँथे । विभिन्न स्थानमा रहेको पानीको स्रोतलाई राजकुलो तथा प्राचिन पध्दति अपनाएर संकलन गरि बस्तिसम्म ल्याई सबैलाई समान वितरण गरिएको हुन्थो। आफ्ना खेतबारीमा समेत सिचाई गर्दथे। पानी ख्वाउन सक्यो भने मोक्ष प्राप्त गरेको सरह मान्दथे।

योजनाबद्ध र वैज्ञानिक पानी व्यवस्थापन प्रणालीलाई अहिले चरम सहरीकरणले बाटो बढाउने नाममा ,स्कुल तथा सामाजिक संस्थाहरुको भवन बनाउने नाममा र नजिकै रहेको व्यक्तिले मासिदै गैरहेको छ। यसकै चपेटामा टोखाको मैजु हिटी पनि अछुतो रहन सकेन। जनैपूर्णीमाका दिन नौ थरि गेदागुदिको क्वाँटी ख्वाएर, नौ वटा ढुंगेधारामा स्नान गरेर नौ जोर वस्त्र लगाएर घुम्ने चलन रहेको स्थानीय बुढापाका बताउदछन। मैजु हिटीको ऐतिहासिक स्मारकको रुपमा जिवन्त राख्न , त्यस क्षेत्रको सुन्दरता र पानीको उपलब्धतालाई कायम गर्न टोखा नगर भित्र रहेका सम्पूर्ण ढुंगे धाराहरुको अध्ययन अनुसन्धान र त्यस सम्बन्धित उपलब्ध जानकारीहरुको प्रकाशन र प्रचार प्रसार गर्नु आजको आवश्यकता हो।

