• TOKHA LIVE

    • १२ श्रावण २०७८, मंगलवार ०८:५३

    प्राचीन टोखाका आफ्नै पहिचान बोकेका नेवारी नामहरु

    -रत्नप्रसाद अनामणि श्रेष्ठ

    नाला-बनेपा -४ ,काभ्रे

    कुनै पनि ठाउँको स्थान नाम त्यहाँ कै स्थानीय बोलीचाली अनुसार रहेको हुन्छ। पुराना स्थाननामले त्यहाँको कुनै न कुनै घटना, परिवेश वा कथा बोकेको हुन्छ। स्थान नामसँगसँगै स्थानीय सांस्कृतिक बिम्ब वा बिरासत, सभ्यता वा ऐतिहासिकता बोकेको हुन्छ। जग्गा,जमिन, बारी कसको नाममा र त्योसँग कस्तो सम्बन्ध छ भनेर पनि स्थान नामले महत्वपूर्ण भूमिका खेल्दछ ।

    स्थान नामको व्यवस्थित र संस्थागत रूपमै अध्ययन गरेर त्यसलाई बचाई राख्नु पर्दछ। स्थान नामहरु पनि परिबर्तन हुदै गएर अर्कै रुप बनेको हुन सक्छ। नयाँ बसोबास गर्न आउनेले आफुलाई सुहाउँदो अर्को नाम बनाएको पनि हुन् सक्छ।

    पछिलो समयमा प्राचिन नगरी टोखामा देशको बिभिन्न स्थानबाट बसाइ सरि आउने धेरै छन। बिस्तारै त्यहाँका स्थान नामहरु बिस्तारै लोप भएर अथवा नयाँ नाम फेरिएर आइरहेको हामी पाउछौ । यसले यहाँको प्राचीनतालाई क्षयीकरण गरिरहेको हुन्छ। बेलैमा सचेत नहुने हो भने यहाँको इतिहास माटोमा नमिल्ला भन्न सकिन्न।

    टोखा क्षेत्रका स्थानानामहरु भख्य , चोखाछें, यरले, लबु ,फैडोल खुरले, नबुई , दुबु ,दल्खु ,गछे ,ज्यार्गल पाचा , थराखेल , तु ति घ , लिबि पाचा , कोब्लुं , कु मे ननि , ईगु लागा पाचा , नास पाचा , लाक्षी डबली , देमा लाक्षी , ओतुली संकटा , हाँसले , अचे नानी , उरांग दो ,तप लाछी , गले अजि , नास पाचा , कुने लाक्षी ,तहाले , भकु ननी , कपिंदोल , खुपाचा , खिम दोल , पालिख्य , तोखाय पाचा , झुदोल , फै दोल ,चखुं ,बखुंदोल , पुरको पाचा , बुँ हिति , पलखुसी , लाम्ने पाचा ,हात्ती गौडा ,न्ह्य दो ,ढमले ,चब्ली ,तिलबक , प्याखात ,अबासकोट ,छेक्व , फोसी भुंग , स्तुर , दुप्पा , वखेल , कार ,तेख्य , इक्व ,वाउख्वा , सायको , देरचा , थराख्य , गले , सिप थु , बह ,फिल्ली , दलखु ,चेल्चा , इम्दो , दुराङ्ग दो , सलखुशी , बसुन्दोल , लाउखा ,इकागले , तहरचा ,सिसिक्व ,न्ह्योर ,तुरचा , विसंगा ,लाउखा ,चसिचा , भंचो ,क्वहिती आदि

    नेवारी यी स्थान नामहरु प्रत्येकाले त्यतिखेरको बस्तुस्थिति र प्रत्यक्ष ईतिहास बोकेको हुन्छ। यसको अध्ययन परम्पराको इतिहास सन् १८७६ मा अक्सफोर्ड अंग्रेजी शब्दकोशले ‘टोपोनिमी’का रूपमा स्थान नामलाई प्रविष्टि दिएपछि यो विषयको महत्व बढ्न थाल्यो । स्थान नामको अध्ययनको व्यापकतालाई लिएर सन् १९५४ मा एफएम पिविकेले ‘पुरातत्व र इतिहासको खोजका लागि हतियार हो भने तुलनात्मक भाषाविज्ञानको समेत विषय हो’ भनेका छन् । स्थाननामको व्यवस्थित र संस्थागत रूपमै अध्ययन गर्ने गरी सबैभन्दा पहिले सन् १९२३ मा इंग्लिस प्लेसनेम सोसाइटी (इपिएनस) स्थापना भएको देखिन्छ। भनिन्छ भूराजनीतिको बलियो जग र भाष्य भनेकै स्थान नाम र स्थान नामांकन हो। त्यसैले यहाँका जनता तथा जनप्रतिनिधिहरुले यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ। खालि सम्पदा जोगाऔ भन्दै ढ्वांग फुक्दैमा केही हुने वाला छैन।

    यसलाई जिवन्त राख्न साहित्य तथा लेख रचनाहरुमा प्रयोगको लागि बिशेष कार्यक्रम आयोजना गर्ने , भुगोलबिद ,पुरातत्वबिद ,र भाषाशास्त्रिहरुलाई आफ्नो आफ्नो बिषयमा प्रयोग गर्न जानकारी गराउनुको साथै स्थानीयले बढी भन्दा बढी प्रयोगमा ल्याउनु पर्दछ। टोखा नगरमा निकै बसाईं -सराइ भैरहेको छ। वास्तवमा स्थान नामले बसाइँ–सराइले नयाँ नयाँ स्थान नाम आइरहेको छ चाहे म्याग्दी चोक , छन्त्याल चोक आदि। नयाँ स्थान नाम दिनु भन्दा पुरानो नाम ऐतिहासिकता भएको गौरब अनुभूति गर्नु पर्दछ।

    लातभिया देशले सन् २००६ मा ‘जियोग्राफिकल नेम्स डाटा बेस’ (जिएनडिबी) भनेर परियोजना लागु गरियो सो परियोजनाले स्थान नामहरूको ऐतिहासिकीको खोजी गर्दा एक लाख एघार हजार शब्दहरु संकलन भएको थियो। साँच्चिकै नेपालका नेवारी बस्तिहरुमा मात्र संकलन गर्ने हो भने करोडौ शब्द संकलन हुन आउछ अझ अन्य भाषाभाषीमा त झन् कति हो कति ?

    पछिल्लो समय संयुक्त राष्ट्र संघले पनि भौगोलिक नामहरूको मानकीकरण गर्नुपर्ने महशुस गरेर सन् १९६० मा सामाजिक तथा आर्थिक विभागअन्तर्गत रहने गरी एउटा समिति नै गठन गरिएको पाइन्छ। हामीले पनि स्थान नामको आन्तरिक संरचनागत अध्यययन, स्थान नामको व्युत्पत्ति, ऐतिहासिक घटनावली र अर्थहरूको खोजी कार्य गर्दै अध्ययनको परम्परा आजैबाट थालानी गरौ। आफ्ना वरपरको स्थान नामहरु कसरी , किन ,कहिले र कुन सन्दर्भमा भयो त्यस बारे चासो दिंदै अभिलेखीकरण गरौ। यस सम्बन्धि अध्ययन गर्ने अध्ययनकर्ताहरुले दिल्लै देखि सहयोग गरौ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै