• TOKHA LIVE

    • २२ जेष्ठ २०७८, शनिबार ०६:०५

    टोखा चण्डेश्वरी धौख्यचा जग्गालाई मुठ्ठीमा पार्नेहरूको भीड

     

    टोखा लाइभ डेस्क / २०७८ , जेठ २२ गते ।

    टोखा नगरपालिका वडा २ मा अवस्थित चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समिति भित्र रहेको १५ रोपनीको धौ ख्य: मन्दिर परिसरको उक्त सार्वजनिक जग्गा मासेर अहिले बाटो बिस्तार गरिएको भन्दै स्थानीय सरोकारवालाहरु बिच अहिले विवाद चर्कदैं गइरहेको छ।

    टोखाको ऐतिहासिक विस्का जात्राको चैत मसान्तमा टोखा विस्का जात्राको लागि चण्डेश्वरी मन्दिरको खट बोकेर ल्याउने क्रममा टोखा चण्डेश्वरी मन्दिरको पश्चिममा अवस्थित धौ ख्य:मा बिसाएर जात्रामा चण्डेश्वरीको खट बोकेका गुठियारहरु त्यस धौ ख्य:मा एकछिन विश्राम गरि धौ बजि ( दहि र चिउरा ) खान्थे।कालान्तरमा त्यस ठाँउको नाम धौ ख्यचा रहन गएको स्थानीय वासिन्दा बताउछन् । ‘धौ’ को अर्थ दहि र ‘ ख्य: को अर्थ ‘ फराकिलो चौर हो।

    कुनै वर्ष यदि टोखामा (सिंज्या) वर्षातको समयमा पानी नपरी बालिनाली लगाउन समस्या परेमा टोखावासीहरुको एक हुल चण्डेश्वरी गई स्नान गरी हर ! हर ! महादेव !! पानी देउ ! भन्ने भजन गीत गाएर धौ ख्यचामा रहेको बसाहालाई पल्टाएर चण्डेश्वरी भगवती र वासुकि नागको पूजा गरी पुर्व तर्फको लिपिकोटमा रहेको बालेश्वरी मन्दिरमा गई पूजा गरी भोज खाई फर्कदा बाटैमा मानिसलाई पानीले भिजाउने जन विश्वास छ।अहिले धौ ख्यचा वरिपरि पुग्ने जो कोहिले पनि सोझै अनुमान लगाउन सक्छन् ।

    खै त १५ रोपनी जग्गा ?

    हाल विवादमा परेको बाटोले मिचिएको भनिएको धौ ख्य:को सार्वजनिक जग्गामा अहिलेको स्थानीय सरकार बन्नु भन्दा पहिले नै २०७० सालमा गैरसरकारी संस्था लुमन्तिको सहकार्य मा बायोग्यास प्लान्ट निर्माणका लागि भन्दै ६ आना ठाउँ ओगट्दै धौ ख्य:को सार्वजनिक जग्गा अधिग्रहण गर्दै अत्याधुनिक भवन बनाएको स्थानीय वासिन्दा तथा टोखा चण्डेश्वरी युवा क्लबका अध्यक्ष गगन श्रेष्ठले बताए । उनले त्यतिबेला पनि त्यो सार्वजनिक जग्गामा भवन बनाउनु हुदैन भन्दै धेरैको विरोधका बिच त्यो भवन ठडेको स्थानीयवासी श्रेष्ठले टोखा लाइभलाई बताए।

    टोखा चण्डेश्वरी मन्दिर निर्माण तत्गा संरक्षण समिति मातहत पर्ने धौ ख्य:को सार्वजनिक जग्गामा २०७०/७१ मा बायोग्यासको प्रयोगको लागि भवन बनाउदा देखि नै उक्त धौ ख्य:को सार्वजनिक जग्गा अधिग्रहण भएको समितिका उपाध्यक्ष  समीर श्रेष्ठ स्वयंले बताउनुभयो। उनले आपसी सहमतिमा नै हुने यसको समाधानलाई धेरै ठुलो विवादमा ल्याउने काम भएकोमा अब यो विवादलाई कसरी हुन्छ यहाँका समाजसेवी , बुद्धिजीवी र जनप्रतिनिधिहरुको रोहवरमा छलफलबाटै चाडो भन्दा चाडो समस्याको समाधान गर्नुपर्ने बताए।

    टोखा चण्डेश्वरी धौं ख्यचा सार्वजनिक जग्गा मिच्दै बाटो बनाएको भनी सामाजिक संजालमा जताततै टिक्का टिप्पणी चले पछि सामाजिक संजाल प्रयोगकर्ताहरुले धौख्यचा सार्वजनिक जग्गा तत्काल संरक्षण गर्नुपर्ने माग आएपछि नेवा: गुथी टोखाको सल्लाहकार मनिष जोशी सामाजिक संजालमा लेख्छन् –

    “पौराणिक इतिहास मेटाएर विकास गर्नु मुर्खता हो ।हामिले धेरै चन्देश्वरि महिमाको कथा अनुसार धेरै बनाउन खोज्दा धेरै जनाले विरोध गर्‍यो ।आफू पनि नबनाउने अरुलाई पनि बनाउन नदिने एक थरीको प्रचार वाजीहरू छन।तर अहिले सबै भन्दा पहिले धौ ख्यचा को पछाडी अथवा तल घर बनाएको बेलामा पनि हुदैन भनेका थिए । त्यो भवन बनाउने सद्स्य ज्युहरु को रोहवरमा बाटो बनाएको भन्ने सुन्नमा आयो अनि त्यही सद्स्यहरु नै फेसबुकमा बिरोध गरेको देखें कतै दुबै हात मा लड्डू त भएन ? जो जस्को लागि भनेर अहिले प्रचार गरेको छ सिङापुर कोलनी (चोबली)भनेर कोलनीको लागि हो भने इतिहास मेटाएर बाटो बनाउनु गलत हो। यसको स्थानीय सरकारले तत्काल छानबिन गर्नु जरुरी छ।”

    प्रत्युत्तरमा नेवागूठीका पुर्व उपाध्यक्ष सत्यनारायण डंगोल ‘ भन्छन् ” खुशी लाग्यो दाजु तपाईं पनि त्यो धौख्योचा संरक्षण गर्नु पर्ने विचार राख्नु भो धन्यवाद। तर को संग सर सल्लाह गरेको हो थाहा छैन म पनि त्यो बहुउद्देश्य साथ बनाउदै गरेको भवनको सदस्य हो मलाई थाहा छैन , त्यसै समितिका कोषाध्यक्ष तथा टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ त्यसलाइ संरक्षण गर्नु पर्यो भनेको भनकै छ अनि कसरी दुवै हातमा लड्डु हुन्छ दाजु । मैले सुनेको त हामी हाम्रो विस्का नख मनाउदै गर्दा डोजर लगाएको रे है सुनेको मात्र यकिन थाहा छैन । तर मैले देख्ने बित्तिकै सारै मेरो मन रोयो त्यस्तो ऐतिहासिक चौर मासेर डोजर लगाई बाटो बनाएको देखेर त्यस पछि मैले त्यो ऐतिहासिक चौर संरक्षण गर्न सामाजिक संजालमार्फत विचार व्यक्त गरेको हो ।”

    टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशीले टोखा नगरपालिकाले चण्डेश्वरी मन्दिर संरक्षणका लागि लाखौं खर्च गरि डिपीआर बनाउने अनि अहिलेसम्म केही काम नगरी वेवास्ता गरेपछि बायोग्यासको भवनको बाटो भएर जाने १० वटा पिकनिक स्पट, माथी कैलाश डाडो संरक्षण , झरना अवलोकन , रक क्लाम्बिङ्ग , विगतमा बाबा बसेको ठाँउमा डाडा गाउँसम्म पदमार्ग निर्माण गर्न स्थानीय टोखा चण्डेश्वरी युवा क्लब, टोखा चण्डेश्वरी मन्दिर संरक्षण समिति र वडा २ को पहलमा बायोग्यासको भवनकै दक्षिणबाट धौ ख्यचालाई संरक्षण गरेर बाटो बिस्तार गर्ने क्रममा धौ ख्य: मिचिएको भन्दै विवाद भएको वडाध्यक्ष दिपक राज जोशीले बताए ।

    उनी अगाडी भन्छन- सबै मिली सार्वजनिक संपत्तिको संरक्षण गरौं । यो त खुसिको कुरा हो । कोहि टोखा मुख्य रोडमा बाटो मिची भांडा खाने , कोहि सामाजिक संपत्ति मिची घर बनाउने, कोहि सार्वजनिक बाटो छेकेर पैसा असुल्ने कोही सार्वजनिक संरचना राजकुलों मिची टहरो बनाउने, कोहि सार्वजनिक चोक मिची बगैचा बनाउने । कोहि सार्वजनिक सम्पत्ति दर्ता गरी निजी बनाउने , कोहि राजकुलो मिची आफ्नो स्वार्थको मार्ग बनाउने र कोहि सार्वजनिक भवनमा सदियौं देखि व्यवसाय गरी गुजारा चलाउने ।अहिले टोखाका जनता सबै जना मिली एक स्वरमा आवाज़ उठेको छ । स्थानीय सरकारको ध्यानाकर्षण भएको छ ।अब कहॉ देखि सुरु गर्ने हो सुझावको साथै सहयोगको पनि अपेक्षा गर्दछु । के सार्वजनिक जग्गा मुठ्ठीमा पार्नेहरूसंग यी प्रश्नहरूको जवाफ छ ?


    टोखा बृहत खानेपानी कसरी कहॉ कुन कित्तामा बन्यो ? टोखा चण्डेश्वरी प्रा.स्वा.के. कहॉ कुन कित्तामा बन्यो ? टोखा चण्डेश्वरी मन्दिर परिसर भित्र वायो ग्यास प्लांट कहॉ बन्यो ?
    टोखा नगरपालिका भित्र क – कसले सार्वजनिक सम्पत्तिमा मिची घर बनाउने काम गर्यो ? सवैको सार्वजनिक गर्नु पर्ने भनी आवाज़ उठेको छ । यस्तो अवस्थामा भूमाफिया नसल्बलाए को सल्बलाउँछ त ? प्रश्न स्वाभाविक छ आउनुहोस , सार्वजनिक स्थानमा बसेर यसको तथ्यात्मक रूपले बहस गरौं ।

    वडा अध्यक्ष दिपक राज जोशी आक्रोशीत मुद्रामा भन्छन “- सामान्य नियमै हो कि कसैको सम्पत्ति स्वीकृतिबिना उपयोग गर्न पाइन्न। तर विडम्बना, अहिले टोखाको जन प्रतिनिधिहरू नै धौं ख्यचा, र त्यस चण्डेश्वरी आसपासका क्षेत्रमा सार्वजानिक जग्गा अतिक्रमण गर्ने क्रम ह्वात्तै बढेको छ ।जसले भूमाफियाको चलखेललाई देखाएको छ ।७०% वायो ग्यास बनाउने भवनले यसको संरचनालाई ध्वस्त पारेको छ।निकट भविष्यमै ९ लाखको लागतमा बन्न लागेको चण्डेश्वरीको झरना सम्म बाटो लैजाने, पिकनिक स्थल वनाउने कार्यका लागि यो बाटो लैजान लागेको हो। यसमा कसैलाई आपति छ भन्ने यो बाटो अहिले नै बन्द गरी धौ ख्यचालाई मात्र संरक्षण गरी अगाडी बढ्न सकिन्छ ।यसमा चण्डेश्वरीको सार्वजनिक-पर्ति जग्गा,कैलाश डॉडा, मठमन्दिर,सत्तल,पाटीपौवा,वनजगंल र सिमसार क्षेत्रहरूको , ३ वटा पिकनिक स्थल निर्माण गरेर तिनको संरक्षण गर्नको लागि ठोस योजनाहरू तयार गरिनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै