टोखा लाइभ । २०७८ वैशाख २७ गते सोमवार ।
काठमांडौं । ‘ए हजुर, कोभिड-१९ बाट बच्नको लागि घरबाट बाहिर ननिस्कौं! अति आवश्यक काममा बाहिर निस्कँदा स्वास्थ्य सतर्कता अपनाएर अनिवार्य मास्क लगाऔं।कोरोना सन्त्रास फेरि फैलिदैँछ। सावधानी र सचेतता सबैले अपनाऔँ। आफ्नो सावधानी, अरुको पनि सुरक्षा हो; अरुको सावधानी आफैलाई पनि महत्वपूर्ण हुनेछ। परिवार र समाज सुरक्षित राख्न हामी सबैको भूमिका हुनेछ। “ नेवा: गुठी टोखाको यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ ।टोखा नगरपालिका क्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने गणेश मंदिर चोक र मु: ध्वाखाका स्थलमा नेवा: गुठी टोखाको अध्यक्ष रमेश नापित वडा नं -२ का वडा अध्यक्ष दिपक राज जोशी, मनिष जोशी, हरि भक्त श्रेष्ठ, , सुर्यमान डंगोल, रन्जन डंगोल र टोखा प्रहरी प्रभागका पुलिस फ़ोर्स लगायत अन्य सदस्यहरू नगर परिक्रमा गरी मास्क वितरण गर्दे यो अभियानमा लागेका छन् ।

‘सबैले सुन्दै हुनुहुन्छ नि ! कोरोना भाइरस भनिने संक्रमणले देस्रो पटक संसारभरि नै आतंक मच्चाउँदो छ’, आज एकाबिहानै टोखा गणेश मंदिर टोखा र झोर संगम रहेको चोकमा जम्मा भएका आम सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्दै रमेश नापितल् भने, ‘सचेतता र सामाजिक दुरी नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो, त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौं ।’
टोखा नगरपालिका २ र ३ ओटै वडामा अहिले नेवा गुठी टोखाका अध्यक्ष, वडा अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, टोखानगर स्वास्थ्य शाखाका प्रमुख र अन्य जनप्रतिनिधि एवं कर्मचारीले सामूहिकरुपमा सोमवार शुरु गरेका यो अभियानले निकै चासो बढाएको छ ।

ठूलो स्वरमा माइकले यो सन्देश दिइरहेसँगै कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क अनिवार्य लगाउन, हात नमिलाई नमस्कारको अभिवादन मात्र गर्न, पटकपटक तातो पानी खाइराख्न, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहन, समूहमा नबस्न र राम्ररी पाकेको खानेकुरा खान अपिल गरिएको छ । साथै यो सन्देश घरघरमा पुर्याउने र माईकिंग गर्दे सुनाउने गरिएको अभियानका सहभागीले बताएका छन् ।
सबैले सुन्नपर्ने र बुझ्नपर्ने यो नारा र अपिललाई घरघर पुर्याउन आवश्यक भएको टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीको भनाइ छ ।

नेवा : गुठी टोखाको यो अभियान शुरु गरेसँगै अन्य स्थानीय तहले पनि कोरोना भाइरसबारे पूर्वसजगता अभियान सञ्चालन गर्न तयारी थालेका छन् ।

