• TOKHA LIVE

    • २७ पुष २०७७, सोमबार ०९:३३

    राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैँलाई बन्द

    २०७७ पुष २७, सोमवार

    न्युयोर्क (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उहाँको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो ।

    उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

    ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उहाँले राखेकाले उनको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उनले ट्वीटरमा राखेपछि उनको सर्वत्र आलोचना भएको थियो । उनले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उनीविरुद्धको आक्रोस थप बढेको थियो ।

    ट्वीटरमा उनले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उनले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो ।

    राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

    बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन् । अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै