• TOKHA LIVE

    • १९ पुष २०७७, आईतवार ०६:०५

    मुक्तिनाथ मन्दिर मंगलबारबाट खुल्ने

    पुस १९ , २०७७

    गण्डकी : कोभिड-१९ को महामारीसँगै झण्डै १० महिनायता बन्द मुक्तिनाथ मन्दिर आगामी मंगलबार पुस २१ गतेबाट खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहितको भेलाले मन्दिर खुलाउने निर्णय गरेको रानीपौवा गाउँका पूर्वमुखिया सुरज गुरुङले जानकारी दिए ।

    नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्‍वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्‍ने गर्छन् । मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्‍न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।

    पछिल्लो वर्षमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्‍नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढिरहेको अवस्थामा कोभिडको सङ्क्रमणका कारण झण्डै १० महिना मुक्तिनाथ मन्दिर सुनसान बनेको उनले बताए ।

    विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको मन्दिर हिन्दू र बौध्दमार्गीको साझा तीर्थस्थलका रूपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौध्दका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै