लन्डन । विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनमा सुरु भएको छ।

लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा नोभेम्बर ५ (बिहीबार) सम्म सञ्चालन हुने तीनदिने मेलामा नेपालको सक्रिय सहभागिता रहेको छ।

‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कार : विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा विश्व पर्यटनको भविष्य, दिगो पर्यटन विकास, प्रविधि, नवप्रवर्तन तथा पर्यटन क्षेत्रको पुनरुत्थानका विषयलाई प्राथमिकता दिइएको छ।

विश्व पर्यटन उद्योगको महत्वपूर्ण व्यापारिक मञ्चका रूपमा परिचित मेलामा विभिन्न देशका राष्ट्रिय पर्यटन बोर्ड, होटल व्यवसायी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन प्रविधिसम्बन्धी संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

आयोजकका अनुसार यस वर्ष ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन्। त्यस्तै, १८० भन्दा बढी देशबाट ४६ हजार ५०० भन्दा बढी पर्यटन व्यवसायी, विज्ञ तथा खरिदकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपालका ३२ पर्यटन कम्पनी सहभागी

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान विस्तार तथा नेपाली पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको समन्वयमा ३२ वटा नेपाली पर्यटन, होटल, वायुसेवा, ट्राभल तथा ट्रेकिङ कम्पनीले मेलामा सहभागिता जनाएका छन्।

नेपाली व्यवसायीहरूले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विविध पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरिरहेका छन्।

मेलामार्फत विदेशी टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने र नयाँ साझेदारीका अवसर खोज्ने अपेक्षा गरिएको छ।

नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले पनि मेलामा सहभागिता जनाउनुभएको छ। उहाँको सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग नेपालको पर्यटन प्रवद्र्धन, नीतिगत सहकार्य तथा व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

विश्व पर्यटनमा १ अर्ब ५७ करोड पर्यटक पुग्ने अनुमान

मेलाको पहिलो दिन सार्वजनिक गरिएको ग्लोबल ट्राभल रिपोर्ट २०२६ अनुसार सन् २०२६ मा विश्वभर अन्तर्राष्ट्रिय पर्यटक आगमन दुई प्रतिशतले वृद्धि भई १ अर्ब ५७ करोड पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनले युरोपमा पर्यटक आगमन पाँच प्रतिशतले बढ्ने तथा विश्वव्यापी पर्यटन खर्च नौ प्रतिशतले वृद्धि भई ७.८ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ।

बढ्दो हवाई भाडा, महँगी तथा अन्तर्राष्ट्रिय द्वन्द्वजस्ता चुनौतीका बाबजुद विश्व पर्यटनप्रतिको माग बलियो रहेको प्रतिवेदनले देखाएको छ।

पर्यटनका नयाँ सम्भावना र चुनौतीबारे छलफल

मेलाको अर्को महत्वपूर्ण आकर्षण विभिन्न देशका पर्यटन मन्त्रीहरूको सहभागितामा आयोजना हुने मन्त्रीस्तरीय शिखर सम्मेलन रहेको छ। सम्मेलनमा विश्व पर्यटनको दिगो विकास, नीतिगत सहकार्य, जलवायु परिवर्तनको प्रभाव, पर्यटन क्षेत्रको उत्थानशीलता तथा समावेशी पर्यटन प्रवद्र्धनका विषयमा छलफल हुनेछ।

यसैगरी, मेलामा पर्यटकको बदलिँदो रुचि, यात्रा व्यवहार, अन्तर्राष्ट्रिय पर्यटन बजारका नयाँ प्रवृत्ति तथा भविष्यमा सिर्जना हुन सक्ने व्यावसायिक अवसरबारे पनि छलफल भइरहेको छ।

नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण अवसर

डब्ल्यूटीएम लन्डन नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसले नेपाली पर्यटकीय गन्तव्यको पहिचान विस्तार, विदेशी पर्यटक आगमन वृद्धि, पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय टुर अपरेटरसँग सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालले यस्ता अन्तर्राष्ट्रिय व्यापारिक मेलामार्फत आफ्ना पर्यटकीय सम्भावना प्रभावकारी रूपमा प्रस्तुत गर्न सके नेपालको पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।Sources-NNB