• TOKHA LIVE

      TOKHA LIVE

    • ७ जेष्ठ २०८३, बिहीबार ०९:१८

    टोखाका अग्रज संस्कृतिकर्मी तथा बासुरीवादन गुरु भाइलाल डंगोलको निधन

     

    टोखा, काठमाडौं ७ जेठ:  प्राचीन सांस्कृतिक सहर टोखाका अग्रज संस्कृतिकर्मी तथा बासुरीवादन गुरु भाइलाल डंगोलको ९२ वर्षको उमेरमा हिजो राति निधन भएको छ। उहाँको निधनसँगै टोखाले आफ्नो मौलिक संस्कृति र परम्पराको एक अथक संरक्षक गुमाएको महसुस गरेको छ।
    स्वर्गीय डंगोल टोखाको सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिनुभएको व्यक्तित्व हुनुहुन्थ्यो। विशेषगरी बासुरी वादन कलामा उहाँको योगदान अतुलनीय मानिन्छ।श्री इन्द्रायणी दापा खल: का गुरु उहाँ  टोखाका विभिन्न जात्रा, पर्व, धार्मिक तथा सांस्कृतिक अवसरहरूमा उहाँको बासुरीको धुनले वातावरणलाई जीवन्त बनाउने गर्थ्यो। कला र संस्कृतिलाई केवल मनोरञ्जन नभई समाजको पहिचान र आत्मासँग जोडिएको अमूल्य सम्पत्ति ठान्ने उहाँ सधैं नयाँ पुस्तालाई संस्कृति संरक्षणको प्रेरणा दिनुहुन्थ्यो।
    स्थानीयवासीहरूका अनुसार उहाँ केवल एक कलाकार मात्र होइन, संस्कृतिप्रेमी अभिभावक पनि हुनुहुन्थ्यो। सरल, मिलनसार र अनुशासित स्वभावका कारण उहाँ सबै पुस्तामाझ सम्मानित रहनुभयो। टोखाको मौलिक संस्कृति जोगाउन उहाँले जीवनभर निरन्तर योगदान दिनुभएको स्मरण गर्दै धेरैले उहाँलाई “टोखाको सांस्कृतिक धरोहर” का रूपमा सम्झिरहेका छन्।
    पारिवारिक स्रोतका अनुसार उपचारका क्रममा ग्रान्डी अस्पतालमा उहाँको निधन भएको हो।लामो समय पत्नी शोक पीडित उहाँका पाँच छोरा र तीन छोरी रहेका छन्। निधनपछि राति नै टोखास्थित आर्यघाटमा परम्परागत वैदिक संस्कारअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
    उहाँको निधनप्रति टोखावासी, संस्कृतिकर्मी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। धेरैले उहाँलाई कर्तव्यनिष्ठ सांस्कृतिक योद्धा, बासुरी कलाका समर्पित साधक तथा टोखाको सांस्कृतिक पहिचान जोगाइराख्ने अथक अभियन्ताका रूपमा स्मरण गरेका छन्।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै