काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस) महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेदेखि नेपालमा आँखा स्वास्थ्य समस्या तीव्र रुपले बढेको निष्कर्ष आँखा विज्ञहरुले निकालेका छन् ।
देशका विभिन्न स्थानमा पुगेर गरीव र असहायलाई निःशुल्क नेत्र सेवा दिँदै आएको युवा नेत्र सेवाद्वारा आयोजित बढ्दो आँखा स्वास्थ्य समस्यासँग जुध्न युवा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक विमल पौड्यालले सो निष्कर्षबारे जानकारी गराउनु भएको हो ।
सन् १९८१ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा दृष्टिविहीन व्यापकता दर ०.८४ प्रतिशत अर्थात् प्रत्येक १ सय जनामा ८४ जना दृष्टिविहीन थिए भने मोतिबिन्दु, खस्रे रोग, जलबिन्दु, रतन्धो साथै आखाँमा हुने चोटपटक इत्यादिका कारण त्यस समयमा नेपालमा दृष्टिविहीन दर अत्यधिक थियो । उक्त सर्वेक्षण भएको तीन दशकपछि सन् २०११ मा गरिएको अर्को सर्वेक्षणका अनुसार नेपालमा दृष्टिविहीन व्यापकता दर ०.३५ प्रतिशत अर्थात् प्रत्येक १ सय जनामा ३५ जना दृष्टिविहीनमा झरेको थियो ।
दृष्टिविहीन व्यापकता दरमा न्यूनीकरणमा नेपालले फड्को मारेतापनि वर्तमानमा आखाँसम्बन्धी नयाँ समस्याहरु उत्पन्न भएको नेपाल आँखा अस्वपतालका नेत्र विज्ञ विमल पौड्याल बताउनु हुन्छ । जलबिन्दु, रतन्धो साथै खस्रे रोगहरुलाई उन्मुलन गर्न सफल भएतापनि आधुनिक जीवनशैलीमा नभई नहुने प्राविधिक उपकरणहरु बढी प्रयोग गरेर, असन्तुलित जीवनशैली तथा वातावरणीय प्रदुषणका कारण उत्पन्न धुँवा–धुलोका कारण वर्तमानमा आखाँका समस्या भएकाहरुको संख्या बढेको उहाँको ठम्याई छ ।

आराम, आहार र व्यायामको मात्रा नमिल्दा मानिसहरुलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुले समात्ने गर्दछ भने त्यस्ता रोगहरुको असर सिधैं आँखामा पनि हुने गर्छ । मधुमेह तथा उच्च रक्तचाप भएका मानिसलाई मोतिबिन्दु, डाएबेटिज, रेटिनोप्याथी जस्ता समस्याहरु हुने सम्भावना बढी हुने गरेको छ । यदि यस्ता रोगहरुको समयमै उपचार गर्न सकिएन भने अन्धोपन हुन सक्ने विज्ञ पौड्यालले जानकारी गराउनु भयो ।
विद्युतीय उपकरणहरुबाट निस्कने हानिकारक यूवी किरणहरुले मानिसका आँखामा नकारात्मक असर पारिरहेको छ । हानिकारक यूवी किरणहरुले गर्दा टाढाको नदेख्ने (मायोपिया), नजिकको नदेख्ने (हाइपर मायोपिया), आँखा सुख्खा हुने जस्ता समस्याहरु निम्तिने गर्दछन् । सानो उमेरदेखि धेरै समयसम्म स्क्रीनमा मात्रै हेरिरहने बानी भएका स–साना बालबालिकाहरुले पनि हानिकारक यूवी किरणहरुको असरले गर्दा चस्मा लाउनु पर्ने अवस्था छ । त्यस्तै गरी वातावरणीय प्रदुषणका कारण फैलने धुँवाधुलोले गर्दा पनि आँखामा असर पर्छ । आँखामा बाह्य पदार्थ भित्र छिरेमा पनि आँखाभित्रका अभिन्न भागहरुमा संक्रमण एवं चोटपटकहरु लाग्न सक्दछ ।
आँखा स्वास्थ्य सेवा प्रदान गर्नका निमित्त विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरु अग्रसर भएका छन् । नेपाल आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ, तिलगंगा आँखा अस्पताल, रेड क्रस सोसाइटी, लायन्स क्लब, युवा नेत्र सेवा जस्ता संस्थाहरुले बर्षौंदेखि निरन्तर रुपमा आँखासम्बन्धी सेवा दिदैं आएका छन् । कुनै समयमा भारतमा गएर नेपालीहरुले मोतिबिन्दुको शल्यक्रिया गर्न जानुपर्ने अवस्था थियो भने अहिले भारतीयहरु नेपालमा आँखासम्बन्धी रोगहरुको उपचार गर्न आउने गरेका छन् ।

सहरी क्षेत्रहरुमा आँखा स्वास्थ्य सेवा दिने थुप्रै संस्थाहरु भेटिन्छन् । तर ग्रामीण भेगमा भने अझैं पनि आँखासम्बन्धी शिक्षा एवं सुविधाहरु पुगेको छैन । अझै पनि गाउँघरमा आँखामा केही समस्या भयो भने पूर्व जन्मको पापको रुपमा लिने चलन छ । सहरी क्षेत्रमा धेरै विद्युतीय उपकरण चलाएर आँखामा समस्या हुने गरेको छ भने भने गाउँघर तिर भने अव्यवस्थित जीवनशैली तथा आँखा स्वास्थ्यसम्बन्धी ज्ञान नभएको हुनाले कम उमेरमै विभिन्न आँखा समस्या भोग्नु परिरहेका हुन्छन् जसका कारण कम उमेरमै दृष्टिविहीन हुने सम्भावना बढ्छ ।
नेपाल सरकारले आखाँसम्बन्धी विभिन्न समस्याको बारेमा जानकारी गराउन, समुदायस्तरमा गएर आखाँसम्बन्धी जनचेतना फैलाउन र विभिन्न आखाँ सम्बन्धी सेवा प्रदान गर्न आवश्यक स्वंयसेवकहरुलाई युवा नेत्र सेवाले डाँडागाँउ, बुढानिलकण्ठस्थित ग्रीन भ्याली रिर्सोटसँग समन्वय गरेर युवाहरुलाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको छ । समुदायस्तरमा गएर विभिन्न आँखासम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने बेलामा चाहिने जनशक्तिलाई आवश्यक पर्ने ज्ञान दिनु प्रशिक्षणको मुख्य उद्देश्य रहेको आयोजक युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनु भयो ।

प्रशिक्षणमा सहभागी युवाहरुलाई आँखाको संरचना, नेपालमा रहेका आँखा रोगी एवं दृष्टिविहीनसम्बन्धी तथ्यांक, आँखासम्बन्धी विभिन्न रोगहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । साथै आँखासम्बन्धी सेवा प्रदान गर्दा कसरी काम गर्ने भन्ने कुराको पनि जानकारी दिइएको थियो ।

