• TOKHA LIVE

    • ४ कार्तिक २०८२, सोमबार ०४:२७

    ग्राण्डी अस्पताललाई विश्व स्ट्रोक संगठनको ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ मान्यता

    काठमाडौं, ३ कात्तिक / ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालको इतिहासमा पहिलोपटक विश्व स्ट्रोक संगठन (World Stroke Organization) बाट ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता प्राप्त गरेको छ। अस्पतालले यो उपलब्धिलाई आफ्नो गर्व र जनस्वास्थ्यको दिशामा एउटा ऐतिहासिक सफलता भएको बताएको छ।

    अस्पतालका न्यूरोलोजिस्ट तथा मस्तिष्कघात उपचार कार्यक्रमका निर्देशक डा. राजु पौडेलका अनुसार, “यो मान्यता हाम्रो निरन्तर मेहनत र बिरामीप्रतिको समर्पणको प्रतीक हो। अब नेपाली जनताले पनि आफ्नै देशमा विश्वस्तरीय मस्तिष्कघात उपचार पाउनेछन्,” उहाँले बताउनुभयो।

    विश्व स्ट्रोक संगठनले अक्टोबर १७, २०२५ मा अस्पतालको सेवा गुणस्तर, उपचार पूर्वाधार, र बिरामी परिणामको मूल्याङ्कनपछि ग्राण्डी अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार यो मान्यता प्रदान गरेको हो।

    अस्पतालले यो केन्द्र स्थापना गर्न निम्न सेवाहरू सुनिश्चित गरेको छः

    ~२४ घण्टा उपलब्ध न्यूरोलोजिस्ट, न्यूरोसर्जन, र अन्य मस्तिष्कघात विशेषज्ञ टोली

    ~ अत्याधुनिक न्युरो–इमेजिङ प्रविधि र आपतकालीन उपचार प्रणाली

    ~ थ्रोम्बोलाइटिक्स र थ्रोम्बेक्टोमी जस्ता जीवनरक्षक उपचार क्षमता

    ~उपचारपछि निरन्तर चिकित्सकीय निगरानी र पुनर्स्थापना सेवा

    ~ अन्तर्राष्ट्रिय ‘ResQ रजिस्ट्री’ प्रयोगमार्फत निरन्तर गुणस्तर मूल्याङ्कन

    मस्तिष्कघात (स्ट्रोक) विश्वभर मृत्यु र अशक्तताको प्रमुख कारण मानिन्छ। नेपालमा हरेक १० मिनेटमा एक जना मस्तिष्कघातबाट प्रभावित हुने तथ्यांकले यसको गम्भीरता झल्काउँछ।

    ग्राण्डीका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालका अनुसार, “स्ट्रोक उपचारमा प्रत्येक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। हामीले सुरु गरेको यो ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ले समयमै उपचारमार्फत जीवन बचाउन निर्णायक भूमिका खेल्नेछ।”

    अस्पतालले मस्तिष्कघातका साथै कोइलिङ, क्यारोटिड स्टेन्टिङ, फ्लो डाइभर्टर, र एन्युरिज्म उपचारजस्ता जटिल न्युरो–इन्टरभेन्सन विधिहरू पनि सफलतापूर्वक सञ्चालन गर्दै आएको छ।

    अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले भने, “हामी नेपालमै विश्वस्तरीय न्यूरोलोजिकल सेवा विकास गर्न प्रतिबद्ध छौं। यो उपलब्धि हाम्रो स्वास्थ्य सेवा क्षमताको नयाँ माइलस्टोन हो।”

    विश्व स्ट्रोक संगठनको टोलीमा सिंगापुरकी न्यूरोलोजिस्ट एसोसिएट प्रा. डियर्ड्रे डी सिल्भा, ग्लोबल सर्टिफिकेशन लिड सुश्री रुपाल सेदानी, अध्यक्ष डा. जयराज डी पाण्डियन, निवर्तमान अध्यक्ष डा. शीला मार्टिन्स र कोषाध्यक्ष डा. भ्यालेरिया कासो उपस्थित थिए।

    ग्राण्डी अस्पतालको यो मान्यता नेपालमा मस्तिष्कघात उपचारको नयाँ युगको सुरुवातको संकेतको रूपमा हेरिएको छ।

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै