• TOKHA LIVE

    • २९ भाद्र २०७७, सोमबार ०९:५६

    रातो मछिन्द्रनाथको मूर्ति आज बुङ्गमति लगिने।


    टाेखा लाइभ भाद्र २९ काठमाडौं :

    रातो मछिन्द्रनाथको मूर्तिलाई आज रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिने भएको छ । विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लैजान लागिएको हो ।

    रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउने सहमति अनुसार गएको २१ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो । सोही स्थानवाट आज मूर्ति बुङ्गमती लैजान लागिएको हो ।
    लामो समय रथ तान्ने विषयमा निर्णय हुन नसकेपछि ललितपुरको पुल्चोकमा स्थानीय बासिन्दाले रथ तानेपछि प्रहरीसँग झडप भएको थियो । त्यसपछि प्रशासनकै सहमतिमा शुक्रबार क्षमा पूजा गरी रथ तानेर सोह्रखुट्टे पाटीसम्म लगिएको थियो ।

    मूर्तिलाई बुङमती लगेको चारदिनमा विशेष पूजाआजा गरी जात्रा समाप्त गरिने छ । असोज एक गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोरोना भाइरस महामारीका कारण रोकिएको थियो ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी आइतबार रथ तानिएको थियो । प्रायः जसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै