कात्तिक । केके मानन्धर
नेपाल संवत् नयाँ वर्षको अवसरमा निकालिने भिंतुना र्यालीको इतिहास केवल नयाँ वर्षको शुभकामना आदानप्रदानमा मात्र सीमित छैन । यससँग नेपालभाषा, नेवाः संस्कृति र मौलिक पहिचानको संरक्षण तथा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने अभियानको ऐतिहासिक सम्बन्ध जोडिएको छ ।
नेपाल संवत् भिंतुना र्यालीको प्रारम्भिक इतिहास सन् १९७५ देखि सुरु भएको पाइन्छ । श्रीकृष्ण नकर्मी (श्रीकृष्ण अणु) को नेतृत्वमा उहाँका साथीहरूले पहिलोपटक साइकल र्याली आयोजना गरी यस अभियानको श्रीगणेश गर्नुभएको थियो । नेपालभाषामा नयाँ वर्षको शुभकामना लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त साइकल र्याली नेपालभाषा र नेवाः संस्कृतिमाथि भइरहेको दमनविरुद्धको सांकेतिक विरोधसमेत थियो ।
त्यसबेला काठमाडौंमा साइकल पसलहरूको संख्या निकै कम थियो । पञ्चनारायण अष्टनारायणको साइकल पसल राजधानीकै पहिलो साइकल पसलका रूपमा परिचित थियो । त्यसपछि बेखनारायण देव नारायण एण्ड ब्रदर्स, प्रधान र ताम्राकारहरूले पनि साइकल पसल सञ्चालन गरेका थिए। तीमध्ये पञ्चनारायण अष्टनारायणका छोरानाति कमलाछिस्थित तीर्थनारायण तथा प्रचण्ड मानन्धरलगायत तीनवटा पसलबाट पहिलाे पटक भिंतुना र्यालीका लागि आवश्यक साइकल उपलब्ध गराइएको इतिहास छ ।
र्याली सुरु हुँदा र समापनका क्रममा एकैसाथ बजाइएका साइकलका घण्टीहरूको सामूहिक ध्वनिले नेपाल संवत् आन्दोलनको विगुल फुकेको अनुभूति गराएको न्हापांगु पलाः नेवाः मिसा पुचःका अध्यक्ष एवं सामाजिक क्षेत्रकी अगुवा शिला साय्मि बताउनुहुन्छ । उहाँले नेपाल संवत्को प्रारम्भिक आन्दोलन र साइकल र्यालीसँग जोडिएका अनुभव सुनाउँदै त्यसबेलाको उत्साह, सामूहिकता र सांस्कृतिक चेतनालाई स्मरण गर्नुभयो ।
यसरी सुरु भएको साइकल र्यालीले क्रमशः व्यापक सांस्कृतिक आन्दोलनको रूप लियो । नेपालभाषा मंकाः खलःको आह्वान तथा तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल संवत् ११०० (वि.सं. २०३६) मा भिंतुना सांस्कृतिक र्यालीको औपचारिक सुरुवात गरिएको थियो । उक्त र्यालीमा विभिन्न नेवाः सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागिता रहेको थियो । काठमाडौंका विभिन्न स्थान परिक्रमा गर्दै निकालिएको प्रारम्भिक सांस्कृतिक र्याली थँहिटीमा पुगेर समापन गरिएको थियो ।
त्यतिबेला देशमा पञ्चायती शासन व्यवस्था थियो । नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिलाउने, नेपालभाषाको संरक्षण गर्ने र नेवाः समुदायको सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले यस्तो सार्वजनिक कार्यक्रम आयोजना गर्नु आफैँमा महत्त्वपूर्ण अभियान थियो । सार्वजनिक सभा तथा जुलुसमाथि विभिन्न बन्देज र कठिनाइ रहेको अवस्थामा सांस्कृतिक र्यालीमार्फत जनसमुदायलाई एकत्रित गर्दै सांस्कृतिक चेतना फैलाउने प्रयास गरिएको थियो ।
यसरी सन् १९७५ मा श्रीकृष्ण नकर्मी (श्रीकृष्ण अणु) को नेतृत्वमा सुरु भएको साइकल र्याली र नेपाल संवत् ११०० मा नेपालभाषा मंकाः खलःको आह्वानमा पद्मरत्न तुलाधरको नेतृत्वमा सुरु भएको सांस्कृतिक भिंतुना र्यालीलाई एउटै आन्दोलनका क्रमिक ऐतिहासिक अध्यायका रूपमा लिन सकिन्छ ।
आज नेपाल संवत् ११४७ लाई स्वागत गरिरहँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भिंतुना र्याली निकाल्ने परम्परा स्थापित भइसकेको छ । साइकलका सामूहिक घण्टीबाट सुरु भएको सांस्कृतिक चेतनाको त्यो आवाज आज बाजागाजा, झाँकी, भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको विशाल जनसहभागितामा विस्तार भएको छ ।
यस अर्थमा नेपाल संवत्को भिंतुना र्याली नयाँ वर्षको उत्सव मात्र होइन, यो नेपालभाषा, नेवाः संस्कृति, पहिचान, स्वाभिमान र ऐतिहासिक अधिकारका लागि गरिएको सामूहिक संघर्षको जीवन्त स्मृतिसमेत हो ।
PC: Nepal Sambat 1096 New Year Cycle Rally – Internet Archive


