काठमाडौँ, १४ वैशाखः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई समेटेर अघि बढ्ने बताउनुभएको छ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा भीष्मराज आङ्देम्बे संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो।
सभापति थापाका अनुसार लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गर्न सकिने भए पनि सबै पक्षको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिमै नेतृत्व छनोट गरिएको हो।
“संसदीय दलको नेता चयनमा केही समय लागे पनि अन्ततः सहज रूपमा सहमतिबाट नेतृत्व निर्विरोध चयन भएको छ,” उहाँले भन्नुभयो, “यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको पनि सहमति रहेको छ।”

