• TOKHA LIVE

    • ५ मंसिर २०८२, बिहीबार १९:५७

    पाटन दरबारमा १६ विद्यार्थीको कलायात्रा: पुराना अभ्यासलाई नयाँ पुस्ताको नजर

     

    काठमाडौँ, ४ मंसिर ।
    प्रविधिको छिटो–छरितो दुनियाँमा धेरै कुरा सहजै बनिरहँदा, काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने एकपटक फर्केर हेर्न खोजेका छन्—हाम्रा अग्रज कलाकारले कला कसरी सिर्जना गर्थे? रंग कसरी बनाइन्थ्यो? कस्ता सामग्रीले एउटा कलाकृति जन्म लिँथ्यो?

    यिनै प्रश्नको उत्तर खोज्दै उनीहरूले तयार पारेका ‘The Materiality of Art: Informal Practices in the Nepali Art World’ शीर्षकका कलाकृति अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा छन्।

    विद्यार्थीले दैनिक जीवनका सामान्य देखिने सामग्रीलाई कलाको रुपान्तरण मार्फत पुनःउत्थान गरेका छन्। परम्परागत रंग बनाउने प्रक्रिया, काठमा कुँदेर ब्लकप्रिन्ट छाप्ने अभ्यास, नेवारी समुदायका संस्कार–परम्परासँग जोडिएका कलाअनुष्ठान सबैलाई उनीहरूले आफ्नै शैलीमा पुनर्जीवन दिएका छन्।

    काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाहीका अनुसार, यो प्रदर्शनीमा विशेषगरी काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिमा आधारित कलाकृति प्रस्तुत गरिएको छ।
    घण्टाघरदेखि लिएर गाईजात्रा, लल्मी पूजा, भाइपुजा, नेवार समुदायको ‘जङ्कु’मा प्रयोग हुने सामग्रीसम्म सबैलाई विद्यार्थीले अध्ययन, अनुसन्धान र कलात्मक दृष्टिकोणमार्फत पुनःसिर्जना गरेका छन्।

    शाही भन्छन्, “जस्तै जङ्कुमा देवी–देवतालाई साक्षी राख्न माटाका भाँडा बनाइने रहेछ। त्यो संस्कारलाई विद्यार्थीले सुन्दर रूपमा पुनःउत्पादन गरेका छन्। पुरानो बिर्सुँबिर्सुँ लागेका अभ्यासलाई यहाँ फेरि देख्न पाइन्छ।”

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले यस अभ्यासले परम्परा र नयाँ पुस्ताबीचको सम्बन्ध अझै बलियो बनाएको बताए।
    “यो केवल प्रदर्शनी होइन, पुस्तान्तरणको एउटा महत्वपूर्ण चरण पनि हो,” उनले भने, “अग्रजसँग भेटेर, सिकेर कला सिर्जना गर्नु आफैँमा नयाँ सन्देश हो।”

    विद्यार्थीले अग्रज कलाकार मदन चित्रकार, सूर्यबहादुर चित्रकार र लोक चित्रकारसँग प्रत्यक्ष संवाद गर्दै सामग्री संकलन र कला निर्माण गरेका छन्।

    चौथो सेमेस्टरका यी विद्यार्थीले समूहगत रूपमा एउटै कपडामा चित्र बनाउने पुरानो अभ्यासलाई आधुनिक प्रस्तुतिमा उतारेका छन्।
    नेवारी गाईजात्रामा प्रयोग हुने ‘सपारु’ वा गाईको साङ्केतिक मुकुण्डो पनि प्रदर्शनीको आकर्षण बनेको छ।

    अन्त्यमा, शाही भन्छन्, “समाज कस्तो थियो, कसरी बदलिँदै छ—विद्यार्थीले सिकाइको माध्यमबाट त्यसको आन्तरिक यात्रा गरेका छन्। उनीहरूका लागि पनि यो नयाँ अनुभूति, दर्शकका लागि पनि पुरानो संस्कृतिसँग पुनःजोडिने अवसर हो।”

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै