• TOKHA LIVE

    • १४ जेष्ठ २०८३, बिहीबार ०९:०८

    थाइल्याण्ड टोलीद्वारा गोकर्णेश्वरका विद्यालयमा UG5 कार्यक्रमको अवलोकन

    नबिना श्रेष्ठ
    जेठ १२, २०८३

    थाइल्याण्डस्थित बौद्ध विहारसँगको सहकार्यमा सञ्चालन हुँदै आएको “युनिभर्सल गुडनेस ५ (UG5)” कार्यक्रमअन्तर्गत थाइल्याण्डको विशेष टोली नेपालका विद्यालयहरूमा पुगेर कार्यक्रमको प्रभावकारिता अवलोकन गरिरहेको छ। बुद्धले दिएका नैतिक शिक्षा, अनुशासन र जीवन उपयोगी ज्ञानलाई विद्यालय तहसम्म पुर्‍याउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमप्रति नेपालका विद्यालयहरूमा उत्साहजनक सहभागिता देखिएको छ।

    UG5 सम्बन्धी तालिम प्राप्त गरेका नेपाली शिक्षक–शिक्षिकाले आफ्ना विद्यालयमा विद्यार्थीहरूलाई उक्त विषय कसरी सिकाइरहेका छन्, विद्यार्थीहरूले व्यवहारमा कत्तिको अपनाएका छन् तथा कार्यक्रमको प्रभाव कस्तो परेको छ भन्ने विषय अध्ययन गर्न थाइल्याण्ड टोली नेपाल आएको हो।

    टोलीले तालिमपछि विद्यालयहरूमा भइरहेको अभ्यास, विद्यार्थीहरूको सहभागिता, सिकाइको स्तर तथा व्यवहारिक परिवर्तनबारे प्रत्यक्ष अवलोकन गरिरहेको जनाएको छ।

    यसै क्रममा जेठ ११ र १२ गते दुई दिनसम्म टोलीले गोकर्णेश्वर नगरपालिकाका आठ विद्यालयको अवलोकन गरेको छ। अवलोकन गरिएका विद्यालयहरूमा सहयोगी माध्यमिक विद्यालय, सुन्ताखान माध्यमिक विद्यालय, देवी बाल सुधार माध्यमिक विद्यालय, तारेभीर आधारभूत विद्यालय, चामुण्डा माध्यमिक विद्यालय, रामजानकी निम्न माध्यमिक विद्यालय, ओखरेनी माध्यमिक विद्यालय तथा गोकर्ण माध्यमिक विद्यालय रहेका छन्।

    विद्यालय अवलोकनका क्रममा टोलीले विद्यार्थीहरूको प्रस्तुति, नैतिक अभ्यास तथा UG5 कार्यक्रमको कार्यान्वयनबारे जानकारी लिएको थियो। शिक्षकहरूले पनि कार्यक्रमले विद्यार्थीहरूको व्यवहार सुधार, अनुशासन तथा सकारात्मक सोच विकासमा सहयोग पुगेको बताएका छन्।

    गोकर्णेश्वरका विद्यालयहरूको अवलोकन सम्पन्न गरेपछि थाइल्याण्ड टोली आज रसुवा प्रस्थान गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै