भादगाउँ (भक्तपुर), १२ असोजः भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ८० वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणको १३ ख्वापा तयार गर्नुभएको हो । तयार भएका ख्वापा महानवमीको साँझ प्रदर्शन गरी देवगण बन्ने गाथा (वनमाला)को समूहले परम्परागत पूजासहित लिन आउने परम्परा रहेको छ । प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने ख्वापा तयार नभए भक्तपुरको मोहनी नखाः र नवदुर्गा नाच प्रभावित हुन्छ । विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धिप्राप्त नगरे भक्तपुरको मोहनी नखाः अपूर्ण हुने र यसले भक्तपुर नगरका साथै उपत्यकाका विभिन्न स्थानको सांस्कृतिक जीवनसमेत प्रभावित हुने संस्कृतिविद्हरूको भनाइ छ । ख्वापा बनाउने कार्यको शुभारम्भ घण्टाकर्ण चतुर्दशीका दिन गरिन्छ ।
यसरी बन्छ मुकुण्डो
नवदुर्गाको ख्वापा बनाउन ‘बोचा’ भनिने विशेष किसिमको माटो प्रयोग हुन्छ । सुकाएको माटोलाई धुलो पारेर कुटेपछि त्यसलाई मैदा र पानीको माडमा मुछिन्छ । मुछिएको माटोलाई डल्लाडल्ला बनाई राखिन्छ । सो डल्ला सुकेपछि कपास र नेपाली कागज राखी फुटाएर मकुण्डो बनाउन मिल्ने पूर्ण चित्रकारले बताउनुभयो । “ख्वापा बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनुपर्छ । एउटा मुकुण्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ”, उहाँले भन्नुभयो । ख्वापा बनाउन बोचासहित विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ, सुन, मैदा, मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायत सामग्री आवश्यक पर्छ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदार पाउन पनि मुस्किल रहेको चित्रकारले बताउनुभयो ।
तन्त्र प्रधान र गोप्य विधि
नवदुर्गा देवगणको नाच मात्र होइन, यसको ख्वापा निर्माणदेखि सिद्धिप्राप्तिसम्मको कार्यमा समेत तान्त्रिक विधिविधानअनुरुप पूजा गरिन्छ । मुकुण्डो बनाउने माटो लिन साइत हेर्ने भएकाले माटोलाई समेत बाजागाजासहितको वनमाला टोलीले पूजा गर्नुपर्ने परम्परा रहेको चित्रकारले जानकारी दिनुभयो । तन्त्र विद्या प्रधान नाच भएका कारण यसको ख्वापा निर्माण गरेको दृश्य जोकोहीले हेर्न नहुने परम्परा रहेको चित्रकारले बताउनुभयो । ख्वापालाई अन्तिम रूप दिने क्रमका केही सीप अझै गोप्य रहेको र सो सीप आफूसँग मात्र रहेको उहाँले बताउनुभयो । उहाँलाई काका विष्णुबहादुर चित्रकारले गोप्य तरिकाले ती सीप सिकाउनुभएको हो । नवदुर्गाको ख्वापा बनाउने कार्यको गोपनियताका लागि केही वर्षअघिसम्म सञ्चारकर्मीलाई समेत तस्बिर खिच्न मनाही थियो । “अचेल केही खुकुलो बनाउँदै लगेको छु । खास सीप आफूसँग राखेर अरु धेरै कुरा खुला गरेको छु”, उहाँले भन्नुभयो । “धेरै गोप्य बनाउँदा ख्वापा बनाउने काम र यसको प्रयोग हुने जात्रा नै सङ्कटमा पर्नसक्ने भएकाले केही खुकुलो बनाएको हुँ ।”
रु तीस लाखको अक्षयकोष
नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन यस वर्ष करिब रु तीन लाख खर्च भएको चित्रकारले जानकारी दिनुभयो । ख्वापा तयार गर्न सबैभन्दा बढी कालिगढको ज्यालामा नै खर्च हुने गरेको र यसको रङरोगनमा पनि उत्तिकै खर्च हुने गरेको उहाँले बताउनुभयो । खर्च व्यवस्थापनका लागि उहाँले २०३६ सालदेखि अनेक समस्या झेल्दै आएको बताउनुभयो । उहाँका अनुसार २०३६ सालमा मुकुण्डो बनाउन गुठी संस्थानबाट वार्षिक रु छ सय चार सहयोग गरेको थियो । त्यो रकम बढेर २०४५ सालमा पाँच हजार, २०६८ सालदेखि रु १५ हजार दिन थालेको छ । केही वर्षदेखि संस्कृति मन्त्रालयले वार्षिक रु ५० हजार दिन थालेको छ । यो वर्ष दिएको छैन । नपुग अन्य रकम सहयोगी आफन्त साथीभाइसँग सहयोग लिने गरेको उहाँले बताउनुभयो । ख्वापा निर्माणको खर्च जोहो गर्न अक्षयकोषसमेत स्थापना गरिएको छ । कोषमा रु ३० लाख नगद जम्मा भइसकेको छ ।
नवदुर्गा नाचप्रति सद्भाव राख्ने समूहले श्री नवदुर्गा भवानी मुकुण्डो निर्माण अक्षयकोष व्यवस्थापन समिति गठन गरी बनेपा, धुलिखेल, पनौती, जयवागेश्वरीलगायत क्षेत्रका बासिन्दा, विभिन्न नगरपालिका र स्थानीयको सहयोगमा रु ३० लाख जम्मा भएको उहाँले बताउनुभयो । नवदुर्गा देवगण नाच तान्त्रिक विधिविधान मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नाच हो । जसमा बोलेरभन्दा पनि निश्चित भाव सङ्केतद्धारा संवाद प्रस्तुत गरिन्छ । नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको सङ्केत यो नाचमा प्रस्तुत गरिएको हुन्छ । “विषेशतः यो नाचले मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गरेको छ”, इतिहासविद एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले भन्नुभयो, “समाजमा घरमुली (नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ ।
यसमा नंकीले १८ जना गण सदस्यलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निष्काशित गर्नेसम्मको भूमिका निभाइन्छ ।” नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश नवदुर्गा देवगण नाचले दिने गरेको प्रा डा श्रेष्ठको भनाइ छ । मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना विभिन्न देवीदेवताहरू हुन्छन् । नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः (महालक्ष्मीको प्रतीक) भनिन्छ । यो नाचमा देवगणले भैरव (कालभैरव), महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक, सिम्हदुम्ह (नन्दीभृङ्गी) दुई गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिंबाजा, तःबाजा, कायँःबाजा, महापात्र र नंकी गरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीसमेत थप हुन्छ ।- रासस