• TOKHA LIVE

    • १५ चैत्र २०८१, शनिबार ११:०१

    पाहाचह्रे,घोडेजात्रा र किंवदन्तीको शहर काठमाडौ

    – सुनिल महर्जन

    घोडेजात्राको अघिल्लो दिन काठमाडौ उपत्यकाका नेवा:हरु पाहाँचह्रे मनाउन ब्यस्त हुन्छन् । पाहा चह्रे वा लुकु महाद्य: को रुपमा नेवाःहरु जमिन मुनि लुकाईएको देवतालाई पूजा गर्ने गर्दछन् । जसरी जे जस्तो रुपमा पूजा गरिए पनि वास्तवमा यो भूमिपूजा हो । अर्थात प्रकृति पूजा हो । नेवाः संस्कृति प्रकृति पूजाकै रुपमा शुरु भएको हो र पछि कलश पूजा गर्न थालेका हुन् । किंवदन्तीलाई जे जसरी भनिए पनि उपत्यकामा गाई पालेर जीविकोपार्जन गर्ने गोपालहरुले जमिन मुनिको ढुङ्गालाई गाईलाई आबश्यक घाँस दिने देवताको रुपमा पूज्दथे । पछि पशुको रक्षकको रुपमा पशुपति भनियो र पूज्न थालियो । यिनैको समयमा शुरु भएको थियो पाहाचह्रे । नाम बदलियो होला, पूजाका शैली बदलियो होला तथा चाडका कथा बदलियो होला । तर परम्परा त्यहीँ नै हो ।

    पाहुना सत्कारका रुपमा पाहाचह्रे नामाकरण कहिलेबाट भयो यकिन भन्न सकिदैन । उपत्यकामा प्रचलित केही किंवदन्तीले पाहाचह्रे नामाकरण भएको कारण भने देखाउँछ । किंवदन्ती इतिहासका आधारले बनेका हुदैनन् । तर किंवदन्ती केवल कपोलकल्पित मात्र पनि हुदैनन् । त्यसमा केही हिस्सा इतिहास वा सत्यतासंग पनि मेल खान्छन् ।

    पहिलो किंवदन्ती अनुसार सात दिदीबहिनी अजिमामा गरिव लूति अजिमालाई पाहुना खान जाने बेला हेला गरेको किंवदन्ती प्रचलित छ । भने अर्को किंवदन्ती अनुसार साढेसाती दशाबाट मुक्त हुन साढे सातवर्ष महादेव फोहरमा लुकेर बसेको तथा पाहाचह्रेका दिन बाहिर निस्केको कथा पनि प्रचलित छ ।

    पहिलो किंवदन्ती अनुसार

    उपत्यकावासी अष्टमात्रिका मान्ने गर्दछन् । उपत्यकालाई यिनै अष्टमात्रिकाले रक्षा गरिरहेको विश्वास गर्दछन् । हिन्दू पुराणले अष्टमातृकाका नाम भिन्न दिए पनि काठमाडौ उपत्यका वरपर रहेका अष्टमात्रिका भने यि हुन् । १. कंग अजिमा (कंकेश्वरी) २. न्यतमरु अजिमा (स्वेतकाली, नरदेवी) ३. लूति अजिमा (इन्द्रायणी, ढल्को) ४. म्हैपि अजिमा (ज्ञानेश्वरी, म्हैपि) ५. मैति अजिमा (पञ्चकुमारी, बालकुमारी) ६. टकती अजिमा (निलबाराही, कालीमाटी) ७. बसला अजिमा (बसलादेवी, पशुपति) र ८. लूमढी अजिमा (भद्रकाली, टुडिखेल) । हुन त यस बाहेक अन्य २६ अजिमाहरुले पनि सहायकका रुपमा उपत्यकावासीको रक्षा गरिरहेको मानिन्छ ।

    किंवदन्ती अनुसार पाहा चह्रेको दिन यिनै आठ दिदीबहिनी अजिमाहरुको एकै ठाँउमा भेला भएर भोज खान बसेका हुन्छन् । आठ मध्य जेठी लूती अजिमा गरिव थिइन् राम्रो कपडा पनि थिएन । उनको बच्चाहरु पनि दुब्ला पातला थिए । जसले गर्दा बहिनीहरुले हेला गरेर लूती अजिमा र उनकी छोराछोरीहरुलाई खान पनि दिएनछन् । छोराछोरी पनि भोकले ब्याकुल भए पछि लूती अजिमा त्यहाँबाट केही नभनि बाहिर निस्केछ । घर फर्कदा बाटोमा फर्सी भेटेपछि त्यहि पकाएर भएपछि बच्चाहरुलाई खुलाउछु भन्दा फर्सी सुन भएछ । सुन बेचेर अजिमाले राम्रा राम्रा लुगाहरु किनेछ । मिठो मिठो खान थालेछ । अर्को वर्ष फेरी चाडको दिन दिदीबहिनी भेला हुँदा लूती अजिमा र बच्चाहरुले राम्रो र सुकिलो लुगा लगाएको हुँदा बहिनीहरुले खान दिएछ । तर लूती अजिमाले खानेकुरा नखाइ सबै आफ्नो र छोराछोरीहरुको लुगामा दलेछ । अनि बहिनीहरुले किन खानेकुरा नखाएर यस्तो गरेको भनेर सोध्दा लूती अजिमाले तिमीहरुले मलाई होइन लुगालाई खान दिएको रहेछौ त्यसैले लुगालाई खान दिएको भनेछ । यसपछी फर्केकी लूती अजिमा कहिल्यै फेरी बहिनीहरुकोमा आएनछन् । यसैले अचेल पनि असनमा खट जुधाउने जात्रामा सातवटा खटमात्र जुधाइन्छ । लूती अजिमाको जात्रा बाला चतुर्दशीको दिन मनाउने गरिन्छ ।

    दोश्रो किंवदन्ती अनुसार

    पाहा चह्रेको अर्को महत्वपूर्ण कथासंग पनि गाँसिएको छ । साढेसातीको दशा लाग्ने त हामीले ज्योतिष शास्त्रमा सुनेकै छौ । एक दिन शनी महाराजले महादेवलाई अब हजुरलाई पनि साढेसातीको दशा लाग्दैछ भने पछि महादेवले मलाई के को साढेसातीको दशाले छुन्छ भनेर भागेर फोहर थुप्रेको ठाँउमा लुक्न गएछ । साढे सात वर्ष पछि महादेव फोहरको थुप्रोबाट निस्केर शनिदेवलाई सोधेछ खै त मलाई साढेसाती दशा लागेको । शनिले जवाफ दिएछ साढेसाती दशा नलागेको भए हजुर यस्तो फोहर भित्र बस्नुहुन्थ्यो । हजुरलाई दशा लागेर नै यस्तोमा बस्नु परेको ।

    यसरी साढे सात वर्ष सम्म लुकेर बसेका महादेव (लुकुमाद्यः) निस्केको दिनमा नै पाहाचह्रे मनाउने गरिएको भन्ने बिश्वास गरिन्छ । पाहा भनेको पाहुना र चह्रे भनेको चतुर्दशीको दिन । चैत्र कृष्ण चतुर्दशीको दिन फोहरबाट निस्केर ज्यापूको घर पाहुना खान पुगेको दिन भएको हुँदा पाहाचह्रे भनिएको हो । यस दिन लुकुमाद्यःको पूजा गरेर घरमा रहेको फोहरहरु फाल्ने तथा खाल्डाखुल्डीहरु सफा गर्ने गरिन्छ ।

    यस दिनलाई पिशाच चतुर्दशी पनि भन्ने गरिन्छ । फोहरको डुंगुरमा लुकेर बसेको महादेवलाई पिशाचका रुपमा पूजा गर्ने हुँदा पिशाच चतुर्दशी भन्ने गरिएको भन्ने गरिन्छ । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको लागि घाँस उत्पादन गरिदिने देवताका रुपमा जमिन खनेर भित्र राखिएको शिलालाई पूजा गर्दथे । यहि नै पछि लिच्छवी कालमा पशुको देवताका रुपमा पशुपति भयो भने मल्लकालमा लुकु महाद्य पनि बन्यो ।

    सातौ शताब्दीमा शिवका अनन्य भक्त अंशुवर्माले शिवको मुर्ति बनाएर पूज्न थालेका थिए । शिवको बाहनका रुपमा साँढेलाई पनि पूजा गर्दथे । पशुपतिको रुपमा अंशुवर्माले नै पूजा गर्न थालेका थिए । १३औं शताब्दीमा बंगालका सुल्तान समसुद्दिन इल्यासको आक्रमणमा सो मूर्ति तोडिए पछि बल्ल हालको चतुर्मुखी शिवलिङ्गको रुपमा पशुपतिको मूर्ति स्थापना गरिएको थियो ।

    घोडेजात्रा

    किंवदन्ती अनुसार टुँडिखेलको दक्षिण पूर्वको रुखमा एउटा गुरुमापा भन्ने राक्षस बस्दथ्यो । जसले उपत्यकामा दुख दिन थाल्यो । बच्चाहरु पनि खान थाल्यो । अन्तत तान्त्रिकको सल्लाहले राक्षसलाई टुँडिखेलमा गाडियो । हरेक सालको अन्तमा त्यहि राक्षस बाहिर आउन नसकोस भन्दै घोडाको टापले कुल्चने गरिएको भन्ने गरिन्छ । तर किंवदन्ती जे जस्तो भए पनि वास्तवमा सैनिकहरुले आफ्नो हैकम र रवाफ देखाउन नै घोडेजात्रा गरिएको आभास हुन्छ ।

    घोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । पाहाचह्रेको भोलि पल्ट राजाहरु आफ्ना भाइभारदारका साथ लश्करै मन्दिर दर्शन गर्न जाने गर्दथे । यो लश्कर तथा राजा पनि देख्न पाउने भए पछि उपत्यकावासी तमासा हेर्न टुडिखेल पुग्दथे । शाहकालको शुरुमा पनि यहि क्रम रहिरह्यो । तर राणाकालमा आइपुग्दा भने राणाहरुले टुँडिखेलमा आफ्ना सैनिक शक्तिको प्रदर्शन गर्दै घोडे जात्रालाई बिशाल रुप दिए ।

    हुन त उपत्यकावासीहरुले घोडेजात्रासंग गाँसेर एउटा किंवदन्ती पनि सुनाउने गर्दछ । जुन अत्यधिक प्रचलित पनि छ ।

    इतुंबहामा बस्ने केशवचन्द्र जुवाको लतले सम्पति सिध्याएर बेहाल भएका थिए । एकदिन आफ्नो दिदीकहाँ खाना खान पुगेका उनले खाना पस्केको सुनको थाल नै चोरेर जुवामा हारे । अर्को पटक फेरी दिदीकहाँ पुगेका उनलाई दिदीले चाँदीको थालमा पस्केर दिए त्यो थाल पनि चोरेर जुवामा हारे । तेश्रो पटक दिदीकोमा पुगेका उनलाई भने दिदीले थालमा खाना नदिएर भुइमा राखिदिए । भोक र रिसले बौलाएका उनले खाना कपडामा पोको पारेर हिडे । थाकेर रुख मुनि निदाएका बेला उनले कपडामा पोका पारेर ल्याएको खाना सबै रुखमा बस्ने चराहरुले खाएर सिध्याइदियो ।

    केशवचन्द्रको खाना खाएका चराहरु सबै रुखमा नै बसेका थिए । केशवचन्द्र ब्युझँदा खाना सबै खाइसकेको देखेर । रिसले बौलाएका केशवचन्द्रले चरालाई हान्न के लागेका थिए चराले सुनको बिष्टा गरिदिए । यस पछि खुशी भएका केशवचन्द्रले सबै सुनका बिष्टा जम्मा गरेर कपडामा पोका पारेर बोक्न खोज्दा उठाउन नै सकेनन् । त्यहि समय गुरुमापा नाम गरेको राक्षस घुम्दै घुम्दै खानाको खोजीमा त्यहि आइपुगे । गुरुमापाले केशवचन्द्रलाई नै खान खोज्यो । बाठो केशवचन्द्रले गुरुमापालाई आफूले जम्मा गरेको सुनको पोका बोकेर घर जान आग्रह गर्दै घर पुगेपछि सिङ्गै राँगो र तीन मुरी चामलको भात खान दिने बाचा गरे । यसरी घर लगिएका गुरुमापालाई केशवचन्द्रले बचन अनुसारको खाना दिए । टन्न खाना खाएपछि गुरुमापा निदाउन थाले । तीनदिन पछि ब्युझिए पछि फेरी खाना माग्न थाल्यो । यसरी लुकाएर राक्षसलाई खाना खुवाएको छिमेकीले थाहा पाए पछि केशवचन्द्रले राक्षसलाई टुँडिखेलमा रहेको रुखमा लुकेर बस्न र त्यहि खाना ल्याइदिने बचन दिए । तर यसरी टुडिखेल बसेका गुरुमापा कहिले काँही शहर पसेर बच्चा चोरेर खान थाल्यो । जसले गर्दा मानिसहरु सबै मिलेर उनलाई पिटेर टुडिखेलमा लडाएर उनको शरिर माथि घोडा दौडाएर घायल बनाइ त्यहि गाडिदिए । गुरुमापा उठेर शहर पसेर बच्चाहरु नखाओस भनेर वर्षेनी टुडिखेलमा गुरुमापाको शरिर माथि घोडा दौडाउन थालियो भन्ने गरिन्छ । साथै गुरुमापालाई केशवचन्द्रले एउटा राँगोको मासु र तीन मुरी चामलको भात खुवाउने बाचा गरेको हुँदा फागु पूर्णिमाको दिन भात पकाएर लाने चलन रह्यो ।

    फागुन पूर्णिमाको अघिल्लो दिन किला घ:का ज्पापू समाजले यँपी ख्य:(भुरुङखेल)मा राँगो काटेर गुरुमापालाई चढाउने र भोलिपल्ट इतुंबहा:को केशवचन्द्र विहार नजिकैको भुतु क्यव:मा २० पाथी चामलको भात पकाइ टुडिखेलमा लगेर टुडिखेलको बिचमा गुरुमापाको भाग चढाइ समाजका सबै लहरै बसेर टुडिखेलमा भोज खाने चलन छ । यसरी घोडे जात्रा शुरु भएको भन्ने किंवदन्ती पनि उपत्यकामा प्रचलित छ ।

    आखिर जे जसरी भए पनि उपत्यकामा पाहाचह्रे र घोडे जात्राले भने आजसम्म निरन्तरता पाइरहेकै छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै