• TOKHA LIVE

    • २४ पुष २०७९, आईतवार १९:५२

    टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

    टाेखालाइभ डट कम/ पौष २४,२०७९

    टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले जानकारी दिनुभयो । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

    छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको सिफारिसपत्र, आफू अध्ययन गरिरहेको कक्षाभन्दा तल्लो कक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने सो नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै