टोखा लाइभ।पुष २, २०७९
डिजिटल प्रविधि हातहातमा पुगेसँगै नेपालमा साइबर अपराध बढेको र अनलाइन ठगी बढ्दो क्रममा, नेपालको ब्याङ्किङ प्रणाली पनि डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको बताइएको छ। यसको प्रभाव कुनै ठाउँमा बढी र कुनै ठाउँमा कम मात्र रहेको आज टोखा नगरपालिका ३ मा एक कार्यक्रम बिच “सेभ एन्ड सस्टेन “ सामाजिक संस्थाले जानकारी दिएको छ।

अचेल चल्तीमा रहेका र नेपालीले बढी प्रयोग गर्ने सामाजिक सञ्जालमा फेसबुक , ब्याङ्किङ प्रणाली , अनलाइन सपिंग र युट्युब पर्छन्। जसको प्रयोग हाम्रो दैनिक जीवनमा भइरहेको छ। यसको सदुपयोग नहुँदा हामीले दैनिक हैरानी खेप्नुपरेको टोखा नगर प्रमुख प्रकाश अधिकारीको भनाइ छ। सुरुमा मेल गरेर साथी बनाउने र नजिक हुँदै पार्सल पठाएको नाममा ठगी सुरु गरेको उहाँले बताउनुभयो।
साथी बनेपछि भिडियो कल गर्ने र त्यसलाई रेकर्ड गरेर त्यसलाई नै बार्गेनिङको अस्त्र बनाउने गरेका उजुरीसमेत परेका छन्। फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्। पछिल्लो समय भिडियो कलमा नग्न भिडियो देखाएर पीडित हुनेहरूका उजुरीसमेत बढ्दै गएका छन्।

यो समस्याबाट बच्नका लागि नचिनेका मान्छेसँग सम्बन्ध विस्तार नगर्ने, अनलाइनमा कुराकानी नगर्ने र उनीहरूले भनेका ठाउँमा जान नहुने उहाँको भनाइ छ।
अहिले प्रविधि बालबालिकाको हातहातमा पुगेको छ। त्यसको निगरानी गर्नुपर्ने हुन्छ। अनावश्यक साइटमा जानुहुँदैन। ह्याक हुने सम्भावना हुन्छ। त्यसका लागि पासवर्ड बलियो राख्नुपर्छ। समय–समयमा पासवर्ड परिवर्तन गर्नुपर्ने हुन्छ। गोप्य कुराहरू अनलाइनमा सेयर नगर्दा आफु बच्न सकिने कुरा टोखा नगरपालिका उप प्रमुख मुरारी तामांगले बताउनु भयो। ‘प्रविधिमा पहुँच वृद्धि भएसँगै ठगीका सङ्ख्यामा पनि वृद्धि भएको छ,” उहांले वताउनु भयो ।
विद्युतीय माध्यमबाट पैसा चोर्ने बाहेक खाता नै दुरुपयोग भएका घटनाहरू समेत देखिएको एक युवा कम्प्युटर विशेषज्ञ बताउँछन्।
”आफ्नो खाता दुरुपयोग भएको विषयबारे कतिपय मानिसहरू नै अनभिज्ञ हुन्छन्,” उनले भने।

