• TOKHA LIVE

    • २५ जेष्ठ २०७९, बुधबार ०७:३३

    साहित्यकारले टोखा नगरका नवनिर्वाचित जनप्रतिनिधिलाई दिए बधाई

    टाेखालाइभ डट कम/जेष्ठ २४ २०७९,

    काठमाडौं । संसाक साहित्यीक पत्रिकाको आयोजनामा काठमाडौंको टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख–उपप्रमुख तथा विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, सम्मान तथा कार्यकाल सफलताको कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको हलमा भएको कार्यक्रममा दर्जन बढी साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले नवजनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको माग र चाहना तथा विकासको आवश्यकताको आधारमा योजना बनाएर काम गर्न सुझाव दिए ।

    सो अवसरमा साहित्यकार नरबहादुर बिसीले नेपाली साहित्यलाई फलाउन र विकास गर्नका लागि नगरपालिकाको पहलमा साहित्य प्रष्ठिान बनाउनु पर्नेमा जोड दिए । उनले प्रतिष्ठान निर्माण भएपछि साहित्यकार तथा कलाकारहरुले क्षमता प्रदर्शन गर्न सजिलो हुने बताए । साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले टोखा नगरपालकिालाई देशभर चिनाउनका लागि नगरका विभिन्न स्थानहरुमा संस्कृति तथा परिचय झल्कने द्वारहरु बनाउनु पर्ने सुझाव दिए । साहित्यकार रामबाबु सुवेदीले साहित्यकारहरुको मन कञ्चन हुने भएकोले टोखा नगरपालिकालाई नमूना बनाउनका लागि चाहिने सुझाव दिन तयार रहेको बताए । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन पनि व्यक्त गरे ।

    अर्का साहित्यकार डा. दामोदर पुडासैनीले नगर प्रमुख भनेको नगरका जनतालाई अँध्यारोबाट उज्यालोतिर डोर्याउने अगुवा भएकोले जनप्रतिनिधिहरु जनताको पिता बन्नु पर्ने धारणा राखे। उनले अमेरिकाको उदाहरण दिँदै त्यहाँ फोहोर गर्नेहरुको घर नविकरण नगरिने भएकोले यहाँ पनि त्यस्तै नियमहरु बनाउन सुझाव दिए । उनले उत्तर कोरियाको उदाहरण दिँदै त्यहाँ प्रत्यक घरमा एउटा फलको बोट हुनै पर्ने नियम रहेको भन्दै समयको सदुपयोग गर्दै केही न केही उदाहरणीय काम गर्नै पर्नेमा जोड दिए ।

    सो अवसरमा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले टोखाका जनताले एकजना कर्मठ र जनचाहना बुझ्न सक्ने प्रमुख पाएकोमा खुशी व्यक्त गर्दै समयसापेक्ष निर्माणका योजना बनाएर काम गर्न नवनिर्वाचित प्रतिनिधिहरुलाई सुझाव दिए । कार्यक्रमको बिचमा कवि राजेन्द्र घिमिरे र उत्तम भेटुवालले कविता वाचन गरे । कार्यक्रममा साहित्यकार गार्गी शर्मा, तारा केसी लगायत उपस्थित थिए । कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट वडानम्बर ९ का वडाध्यक्ष रामभक्त घिमिरेले मन्तव्य राख्दै साहित्यलाई सुरक्षित गर्न सके इतिहास सुरक्षित हुने धारणा राखे । उनले ‘आफू ठुलो मान्छे भएँ भन्ने ठानेको त जनताको सेवक पो बनेको रहेछु’ भन्दै सारगर्वित मन्तव्य राखे । उनले जनताले विजयको माला लगाइदिँदा जनताले ‘आफूलाई तह लगाउने दाम्लो लगाइदिएको महसुस भएको’ विचार व्यक्त गरे ।

    कार्यक्रमको अन्तिममा नगरप्रमुख प्रकाश अधिकारीले नगरपालिकाको पहलमा नगरस्तरीय साहित्यीक प्रतिष्ठान बनाउने सुझावलाई आफूले गम्भिरताका साथ लिएको बताए । त्यसका लागि उनले साहित्यकारहरुको अगुवाइमा नगर भरीका साहित्यकारहरुको सूची तयार पारी वृहद योजना ल्याउन पनि आग्रह गरे । उनले विस्तृत योजना लिएर माग गर्न आएमा आफूले बजेटका लागि पहल गर्ने आश्वासन पनि दिए । उनले टोखाको परिचय झल्काउने द्वार, पाटी लगायतका संस्कृति निर्माणको लागि सहयोग गर्ने वचन पनि दिए ।- गोल खबरबाट

    Facebook Comments

    छुटाउनुभयो कि? सबै