• TOKHA LIVE

    • ९ चैत्र २०७८, बुधबार ०६:००

    टोखाको लागि उम्मेदवार कस्तो हुनुपर्छ ?

     

     

     

    – रविना श्रेष्ठ 

    पहिलो प्राथमिकता – टोखाको सांस्कृतिक इतिहासलाई चिनेको र माया गर्ने व्यक्ति !

    टोखा नगरपालिकाका वडाहरु विशेष गरी १, २, ३ , ४ र ९ मा रहि आएको नेवारहरुको बाहुल्यता र यहाँ चलि आएको नेवा: कला, चाड-पर्व, संस्कृति अनि पहिचानलाई अझ परिस्कृत गरी संरक्षण र संवर्द्धनमा प्रतिबद्ध रहने व्यक्तिको खाचो छ।

    यहाँ प्रत्येक वर्ष सुरु हुने बिस्केट जात्रा, कृष्ण जन्माष्टमी, गाई जात्रा,लाखे नाच, इन्द्र जात्रा, नवरथ र चतुर्मास भजन जस्ता दर्जनौं जात्रा चाडपर्वहरु परापुर्वकालदेखि हर्षोल्लासका साथ अविछिन्न चल्दै आएको परम्परागत जात्रा संस्कारहरुको धनि नगरी टोखामा मनाईने चाडवाडमा अचेल बाटो अवरुद्ध हुँदा जात्रा-पर्व नै प्रभावित हुने गरेको छ । चाड पर्वमा टोखाको बाटो-बाटो अनि गल्ली-गल्लीहरुमा हुने रथ जात्रा, सिन्दुर जात्रा जस्तो कार्यक्रमका लागि बाटो अनि यातायातको व्यवस्थापन पक्कै पनि जटिल हुँदै गइरहेको छ । हामिले धेरै पहिलादेखि नै विशेष गरि बिस्केट जात्रामा गेट बाहिरदेखि नै गाडिहरु रोक्ने गरेको हो, अहिले टोखामा गैर नेवारहरुको बसोबास बाक्लिँदै गएको अवस्थामा यो व्यवस्थापन पनि असहज हुँदै गएको छ । स्थानीयहरुले अनि जन प्रतिनिधिहरुले आँखा चिम्लेर भन्नु सक्नुपर्छ कि जात्रा पर्व आदिमा बैकल्पिक बाटोको उपयोग गर्नुहोस् । आखिर किन भन्न सकिरहेको छैन?

    संस्कृति संरक्षित बिकास क्षेत्र टाेखामा बिहान सवेरै र बेलुका ढीलोसम्म हुने परम्परागत भजन किर्तनहरु प्रति यहाँ भाडामा बस्ने अस्थायी बासिन्दाहरु (विशेषत: टोखा बाहिरका अनि गैर नेवारहरु), अनि नव आगन्तुक गैर नेवारी बासिन्दाहरुको ‘डिस्टर्व’ भयो भन्ने गुनासो सुनिन थालेको छ । वास्तवमा, जब कुनै गैर नेवारहरु यस बस्तिमा आउँछन् वा आउने चाहना राख्छन्, यहाँको जग्गा जमिन खरिद गर्दै गर्दा भौतिक सम्पत्ति संगसगै साँस्कृतिक सम्पत्तिमा पनि हिस्सेदार बनिरहेका हुन्छन् । कुनै पनि स्थान विशेषमा स्थानान्तर हुँदै गर्दा जो कोहिले पनि त्यस ठाउँ वा बस्ति-बासिन्दाहरु सम्बन्धि बुझ्नुपर्छ र बुझेकै हुन्छन् । त्यहाँका गुण अवगुणहरु सबै सहर्ष स्विकारेर वा त्यहाँ हुने हरेक चुनौतिहरु सामना गर्न तयार भएर मात्र घर-जग्गा किनेका हुन्छन् भनि टोखा स्थानिय सरकारले बुझेको वा मानेको आधार बनाई स्पष्ट निति नियम बनाउन सक्नुपर्यो । अन्यथा हामीले टोखा एक साँस्कृतिक नगरी हो भन्ने अझै पनि परिचय बनाउन नसकेको हो कि हामी हेपिइरहेका छौं, यि दुईमा एक स्विकार्नु पर्यो । संस्कृतिमाथिको प्रहार भयंकर दुखद हो, अभिशाप नै हो, यसमा हामी बेलैमा सचेत हुनुपर्छ । संस्कृति र ईतिहास निकै गहन विषय हुनाले यसको संरक्षण अनि प्रवर्द्धनमा सरकारको निति नियम कठोर अनि निर्मम हुनु जरुरी छ । बाटो जाम भयो भनेर जात्रा रोकिनु वा कसैलाई डिस्टर्व भयो भनेर पर्व अनि भजन किर्तनहरु कुनैपनि हालतमा रोकिनु वा उपेक्षित हुन दिनु भएन । हो, हामिलाई यत्ति आँट राख्ने नेतृत्व चाहिएको छ ।

    सार्वजनिक जग्गाको सुरक्षा अनि स्थानिय हितका लागि उच्चतम सदुपयोग गर्ने व्यक्ति ।

    डोजर मालिक, भू-माफियाहरु, सार्वजनिक सम्पत्तिमाथि खुल्लमखुल्ला डोजर चलाउने वा चलाउन अनुमति दिने व्यक्तिहरुलाई प्रश्रय नदिने व्यक्ति उम्मेदवार बन्न आवश्यक छ।

    कृषियोग्य उर्वर भूमिमा आज निर्मम रुपमा डोजर चलिरहेको छ । प्लटिङ भइरहेको छ, घर बनिरहेको छ, कोलोनिहरु बनिरहेको छ । यस्तो हुँदा पनि कृषिलाई प्रश्रय दिने कुनै उत्साहजनक योजनाहरु ल्याउन नसक्दा स्थानिय कृषकहरु निराश भएका छन् । कृषक कामदारहरुको अभावमा बचेखुचेकका खेतियोग्य जमिनहरु पनि बाँझो रहने गरेको वा कौडीको भाउमा बहालमा दिनुपरेको छ । कृषि गर्छु भनेर आँट गर्ने स्थानियहरुले पनि बजार नपाई लगानी नै उठाउन नसक्ने हरिबिजोग अवस्था छ । कालिमाटीबाट ल्याएर बेचिने बासी तथा सडेगलेका तरकारीहरु बेच्ने तरकारी तथा फलफूल पसलहरु पनि फाईदामा चल्छन् तर पनि स्थानीय कृषि तथा तरकारी पसलहरु सञ्चालन गर्ने योजना न यहाँका स्थानीय बासिन्दाले बनाउने साहस गर्न सके न सरकारले नै योजना वा निति बनाउन सके ! गणेशथान चोकमा सार्वजनिक जग्गाहरुमा खुलेका अनगिन्ति क्याफेहरुको भिडमा एउटा सुलभ कृषि तथा तरकारी पसल सञ्चालन गर्न पाए कृषकहरुले आलु, साग, गोलभेडा र काउली जस्ता स्थानिय उब्जनीहरु बेच्न पाउँथे र किन्नेहरुले ताजा ताजा आफ्नै माटोमा उब्जनी भएका तरकारीहरु खान पाउने थियो । अलि पहिलासम्म हाम्रा स्थानिय कृषकहरुले खर्पणमा बोकेर साग काउलीहरु बेच्न ल्याउथ्यो । अब समय परिवर्तन भयो, त्यस्तो अचेल देखिन्न । तथापि हामिलाई खाना खानु त छ नै । मिठो र राम्रो भनेको पाएसम्म त हो, पाउनै छाड्यो भने जो छ त्यहि खानुभन्दा अरु विकल्प के रहन्छ र ? तसर्थ कृषकहरुलाई आफ्ना उत्पादनहरु सुलभ र सहज रुपमा विक्रि वितरण गर्ने कृषि केन्द्र वा व्यापार केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सके हामिले अलि स्वस्थ अनि ताजा तरकारीहरु लगायत अन्नबालीहरु पाउने थियो ।

     सार्वजनिक जग्गाहरुको अस्तव्यस्त अनि निरर्थक अनि व्यक्तिगत तथा व्यापारिक प्रायोजनको लागि भोगचलन गर्न रोक्न सक्ने व्यक्ति !

    -टोखाको आन्तरिक शिक्षा, खेलकुद अनि रोजगारको अवस्थालाई गहन रुपमा अध्ययन गरेको र बुझेको र तिनका लागि राम्रो भिजन भएका नेतृत्व कर्ताको खाचो छ। टोखाको लागि फूटबल सबको मन मस्तिष्कमा भिजेको खेल हो । हरेक वर्ष हुने टूर्नामेन्टको लागि आसपासका छिमेकि क्लबहरु टिमहरु समेत खेल्न आउँथ्यो । अहिले स्थानिय टिम भगवती क्लब ‘बी’ डिभिजनबाट ‘ए’ मा आउने प्रयत्न गर्दैछ जो खुशीको कुरा हो तर त्यस टिममा स्थानीय खेलाडी कति छ भन्ने चिन्ताको विषय भएको छ ।

    टोखामा रहेका बाल-बच्चाहरु अनि वृद्ध-वृद्धाहरुको लागि सु-स्वास्थ्य अनि सामाजिक समुन्नतिको लागि काम गर्ने भिजन भएको व्यक्ति !

    टोखामा अत्यावश्यक बाटोघाटो, खानेपानी, हिटि – ग:हिटीहरु, पाटी, फल्चा, बाल-उद्यानहरुको बिकास, संरक्षण र संवर्द्धन गर्ने भिजन भएको व्यक्ति टाेखाले खोजिरहेको छ।

    सामुदायिक बस्ति कोलोनीहरु केहि हदसम्म हुनेखाने वर्गहरुको परिचय हो । करोडौंको जग्गा अनि करोडौंको घर बनाएर बस्न सक्ने आर्थिक हैसियत राख्ने जमातहरुको समुदाय हो । टोखामा त्यस्ता कोलोनिहरु धेरै भइसकेका छन् । स्थानिय सरकारले ती सामुदायिक बस्तिहरुमा बाटोघाटो, खानेपानी लगायतका पूर्वाधारहरुको विकासमा अवश्य पनि योजना बनाउनुपर्छ । तर आवश्यकता अनुसारको मात्र प्राथमिकता दिइनुपर्छ । यता टोखा ३ को टोखा मू:ध्वाखा देखि टोखा २, सपनातिर्थ खोलासम्म निस्कने बैकल्पिक सडकको अवस्था सहज नहुँदा टोखा २-३ भित्रको स्थानिय वस्ति भित्र मू:ध्वाखादेखि गणेशथानसम्मको ढुंगा बिछ्याइएको सडकको अवस्था प्रति चिन्ता बढ्दो छ । कोलोनिहरुक चोक-चोक, गल्लि-गल्लिहरु अनि घर दैलोसम्म बाटो पिच गर्नु भन्दा यो सडकको सतरोन्नति तर्फ टोखा २-३ का स्थानिय सरकारको ध्यान बढि पुग्नुपर्ने होइन र? तर यि ५ वर्षमा पनि यो सडक उस्तै किन रह्यो?

    टोखामा रहेका बनजंगल, खानेपानी जस्ता प्राकृतिक श्रोतहरुको उच्चतम सदुपयोग गरि स्थानिय स्तरमै आय तथा रोजगारीको समेत शृजना गर्ने योजना बनाउन सक्ने क्षमता भएको व्यक्ति !

    विशेषत: यस टोखा २-३ का स्थानिय बासिन्दाहरुले हाम्रा बाजे बराजुदेखि शिवपूरी जंगलमा रहेका खानेपानीको श्रोतको उपयोग गर्दै आइरहेकोमा विगत २-४ वर्षयता पिउन तथा घरायसी उपयोगका लागि समेत पानीको पैसा तिर्नुपर्ने भएको छ । शिवपुरीबाट निरन्तर बग्ने पानी बगिरहेकै छ तर थोरै निःशुल्क वितरण हुने प्रणालीमा धेरै चाहिँ सशुल्क सञ्चालित छन् वितरण केन्द्रबाट यसलाई प्राथमिकतामा राखेर स्थानिय आम जनताहरुलाई स्थानिय श्रोतको निःशुल्क उपयोगको लागि विशेष निति बनाउन नितान्त आवश्यक छ। खानेपानी वितरण सम्बन्धि सम्पूर्ण योजनाहरु स्थानिय सरकारकै मातहतमा ल्याएर जनताहरुको पहुँचमा सुनिश्चितता गर्नुपर्छ । शिवपूरी जलाधार क्षेत्रबाट खानेपानी व्यवस्था मात्र नभई लघु जलविद्युत आयोजना समेत सञ्चालन गर्ने योजना बनाउनुपर्छ । यसले एकातिर स्थानिय जन जिवन सहज हुन्छ भने अर्कोतिर स्थानिय विकास, आय श्रोतमा वृद्धि तथा रोजगारी पनि शृजना गरेको हुन्छ ।

    शिक्षा तथा स्वास्थ्यमा राम्रो निति बनाउन नसक्दा आज अधिकांश स्थानीय विद्यार्थीहरु अध्ययन को लागि विदेशमा जान बाध्य भइरहेको छ । उच्च माध्यमिक तब सम्मको पढाई हाम्रै स्थानिय सरकारी विद्यालयमा भइरहेकोमा पनि जनमानसमा सरकारी स्कूलप्रतिको अविश्वसनीयता वा वितृष्णालाई पराष्ट गर्न नसकिरहेको तितो यथार्थ हामि सामू छ । स्थानीय जनप्रतिनिधिहरुले नै आफ्ना छोरा नातिहरुलाई समेत सुविधा सम्पन्न बोर्डिङ स्कूल कलेजहरुमा पठन पाठन गराई रहेका छन् । स्थानीय विद्यालय कलेजलाई स्तरिय बनाउने वा स्तरिय नियमन गराएर विश्वसनीय बनाउनुपर्नेमा खासै चासो देखाएको जस्तो अनुभूति हुन सकेको छैन । यसलाई कसरी चिर्ने? आउने जनप्रतिनिधीहरुले यसप्रति सचेत हुनु जरुरी छ।

    अहिले स्थानिय स्तरमा जुन अनुपातमा शैक्षिक योग्यतामा वृद्धि भइरहेको छ, डाक्टर, नर्स, ईन्जिनियरहरु जस्ता पेशागत दक्ष विद्यार्थीहरुको उल्लेखनीय वृद्धि भइरहेको छ, तिनिहरुको रोजगारीको लागि विशेष योजना बनाउन ढिलो भइसकेको अवस्था छ । तिनिहरुलाई काम खोज्न विदेशै पठाउने हो कि, यहिँ रोजगारीको अवसर सृजना गर्ने हो? चिन्ताको विषय बनेको यो पाटो स्थानिय सरकारले निति बनाएर नै यथाशीघ्र सम्बोधन हुनु जरुरी छ ।

    राजनीति अनि पार्टी भन्दा बढि समाज र सामाजिक कार्यमा योगदान गर्न सक्ने, भ्रष्टाचार नगर्ने र स्वच्छछवि भएका व्यक्तिको मात्रै उम्मेदवारी परुन्।

    -लेखक (नेकपा एमाले टोखा नगरपालिका वडा नं-३ कमिटि उप सचिव तथा अखिल नेपाल महिला संघ टो.न.पा-३ का सचिव हुन् )

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै