टोखालाइभ डट कम। कार्तिक २८ , २०७८
काठमाडौं । बूढानीलकण्ठ मन्दिरमा आगामी सोमवार एकादशी मेला सुरु हुने भएको छ । बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ ।
आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताए ।
‘मेला व्यवस्थापनका लागि १०१ सदस्यीय एकादशी मेला सञ्चालन मूल समारोह समिति नै गठन गरिएको छ’, उनले भने ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन गरिने भएको हो ।

मेलाकै अवसर पारेर कात्तिक २७ गतेदेखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरेको बताइएको छ । आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुनुहुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ ।
यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

