बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ को नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले रिबन काटेर भवनको समुद्घाटन गर्नुभएको हो।
समुद्घाटन कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. ३ का वडा अध्यक्ष आकाश धिताल, वडा सदस्यहरू विकास तामाङ, बालमाया श्रेष्ठ, विक्रम राज श्रेष्ठ र सुशिला रम्तेललगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएसँगै वडावासीलाई प्रदान गरिने सेवा प्रवाह थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन हुँदा सेवाग्राहीलाई आवश्यक सेवा तथा सुविधा प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ।
स्थानीय तहबाट प्रदान गरिने सार्वजनिक सेवालाई नागरिकमैत्री, छरितो र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको यस भवनले वडा कार्यालयको प्रशासनिक कार्यसम्पादनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ भवनले वडाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै स्थानीयवासीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

