बुढानीलकण्ठ कार्तिक २। बुढानीलकण्ठ नगरपालिकाका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) अस्पतालबीच महत्त्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा KIOCH का अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालगायत दुवै निकायका उच्च पदाधिकारीको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो।
सम्झौतापछि नगरपालिकाभित्रका बालबालिकाले KIOCH अस्पतालबाट विशेषज्ञ बालरोग उपचार सेवा निःशुल्क तथा सहुलियतपूर्ण रूपमा प्राप्त गर्ने अवसर पाउनेछन्। यस पहलले विशेषगरी आर्थिक रूपमा विपन्न, जोखिममा रहेका तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बालबालिकालाई उपचार उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


