बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा निर्माण सम्पन्न भएको कृषि बजार भवनको समुद्घाटन गरिएको छ। नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले रिबन काटेर भवनको समुद्घाटन गर्नुभएको हो।
उक्त भवनको शिलान्यास पूर्व नगर प्रमुख उद्धवप्रसाद खरेलले गर्नुभएको थियो। निर्माण कार्य सम्पन्न भएसँगै भवनको समुद्घाटन गरिएको हो।
स्थानीय कृषकलाई कृषि उपजको बजारीकरणमा सहजता प्रदान गर्ने तथा कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यस भवनले स्थानीय कृषि बजारको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। भवन सञ्चालनमा आएपछि कृषकलाई आफ्ना उत्पादन बिक्रीवितरण गर्न सहज हुनुका साथै कृषि उपजको व्यवस्थित बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
समुद्घाटन कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कृषि क्षेत्रको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन तथा कृषकको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको कृषि बजार भवनले स्थानीयस्तरमा कृषि व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

