तपाई अहिले पनि चिकित्सा क्षेत्रमा सक्रिय रुपमा क्रियाशील बरिष्ठ चिकित्सकको हैसियतले नेपालमा बढ्दो कोरोना महामारीलाई कसरी लिनुभएको छ ?

नयां भाइरस सहितको कोरोना निकै भयानक डरलाग्दो महामारीको रुपमा देखा परेको छ । आम नागरिकहरुमा त्रास र डर त्यत्तिकै बढेको छ । नागरिकहरुमा बढेको त्रासले मनोबैज्ञानिक जटिलता पनि देखिन थालेको छ । समयमै यथोचित ध्यान र चासो नदिएको कारण सरकारले पनि थेग्न नसक्ने अबस्थामा महामारी बढेको छ । अक्सिजनको अभाबले गर्दा स्वास्थ्यकर्मी र अस्पताललाई काम गर्न निकै गाह्रो भएको छ ।
अस्पतालमा अक्सिजनको माग १० गुणा बढेको छ तर आपुर्ति छैन । जस्तोसुकै अफ्ट्यारो अबस्थामा पनि अस्पताल र स्वास्थ्यकर्मी महामारीमा परेका नागरिकलाई उपचार गर्न तयार रहेका छन । तर पर्याप्त अक्सिजन नै छैन । जस्तै देशमा आगो बलेको छ आगो निभाउने साधन दमकल पनि छ तर दमकलमा हाल्ने पानी नै नभएपछि कसरी आगो निभाउन सकिन्छ ? अक्सिजन प्लाण्टले आबश्यक अक्सिजन दिन नसकेका कारण पनि स्थिति थप भयाबह बन्दै गएको छ ।
सिलिण्डर भएर मात्र भएन त्यसमा हाल्ने समान पनि हुनुपर्यो नि ।
यस्तो अबस्थामा अस्पतालहरुले कसरी ब्यबस्थापन गरेका छन त नि ?
अस्पतालमा एकातिर जनशक्तिको कमी छ भने अर्कोतिर कतिपय स्वास्थ्यकर्मी त्रासकै कारण अस्पतालमा आउन सकेका छैनन । कतिपय स्वास्थ्यकर्मी संक्रमित भएर आउन सकेका छैनन । तै पनि अधिकांश स्वास्थ्यकर्मीले भ्याक्सिन लगाइसकेकोले त्यो जोखिममा रहेर काम गर्दा पनि निकै थोरै मात्र सक्रमित भएका छन । एक्स्ट्रा सुबिधा र डबल ड्युटी लगाएर पनि स्वास्थ्यकर्मी परिचालित छन ।
उनीहरुले आफनो ज्यानको पर्बाह नगरेर काम गरेका छन । कतिपय स्वास्थ्यकर्मीमा पनि डर त्रास बढी भएकोले उनीहरुलाई काउन्सिलिङ भने गर्नुपरेको छ । स्वास्थ्यकर्मीले यसरी काम गरेका छन तर अस्पतालमा अक्सिजनको अभाबले निकै संकट बनाएको छ । यो संकटमा धेरैतिर हारगुहार गरेर निकै कठीनताका साथ अहिले सम्म अस्पतालहरुले ब्यबस्थापन भने गरेकै छन । म मेडिकल डाइरेक्टर भएको अस्पतालमा पनि निकै मेहनत गरेर ब्यबस्थापन गरिएको छ । कहिलेकाही आधा रातमा अक्सिजन खोजेर कैयौं नागरिकको ज्यान बचाइएको छ ।

अहिलेको अबस्थामा स्वास्थ्यकर्मीमा परेको असर ?
खास गरी कोरोना महामारीको चपेटामा परेका बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी घर कसरी जाने होला भन्ने चिन्तामा हुने गरेका हुन्छन किनकि मेरा कारण परिबारलाई केही हुने हो कि भन्ने त्रास छ । नागरिकलाई घरबाट सकभर निस्कन नपरे हुंदो हो भन्ने छ भने स्वास्थ्यकर्मीलाई ड्युटी पुरा गरेपछि घर कसरी जाने होला भन्ने चिन्ता छ । अहिले अस्पतालमा सेवामा क्रियाशील स्वास्थ्यकर्मीहरु घरमा गएपनि अलग्गै सुरक्षित तरिकचाबस्ने गरेका छन ।
कतिपय चिकित्सक बृद्धबृद्धालाई असर गर्ला बाहिर बस्ने गरेका छन । म आफै पनि लामो समय देखि बाहिर बस्ने गरेको छु । बिभिन्न रोगको औषधि खाइरहेका परिबारका स्वास्थ्यकर्मीलाई थप चिन्ता छ । औषधिको सेवन गरिरहेकाहरुमा संक्रमणले छोयो भने गाह्रो हुन्छ भन्ने भय पनि त्यत्तिकै छ । अनेक चुनौतिका बाबजुत आफनो ड्युटीलाई छोडेका छैनन ।
स्वास्थ्यकर्मी धेरैले त भ्याक्सिन लगाएका छन नि होइन ?
करीब– करीब ९५ प्रतिशत अस्पतालमा क्रियाशील स्वास्थ्यकर्मीले भ्याक्सिन लगाएका छन त्यसैले उनीहरु मध्ये कसैलाई सक्रमण देखिएपनि गभीर जटिलता देखिएको छैन । शिक्षण अस्पताल जस्तो ठुलो अस्पतालमा अहिले सम्म दोस्रो भ्याक्सिन लगाएका एक जनाको पनि मृत्यु भएको छैन यसर्थ राज्यले जसरी पनि भ्याक्सिनको ब्यबस्था गर्नुपर्छ आम नागरिकहरुलाई भ्याक्सिन दिनुपर्छ ।
एकातिर सक्रमित बढेको बढ्यै अर्कोतिर बेड र अक्सिजनको अभाब छ नि होइन ?
हे नि दुबै समस्या छ सहज रुपमा आबश्यक अक्सिजन दिएमा अस्पताल बेड थप गर्न पनि तयार छन । कतिपय अस्पतालले बेड तयार गरेर राखेका छन तर अक्सिजन नै छैन त्यसैले सरकारले तत्काल लिक्वेण्ट अक्सिजेशन , अक्सिजन कन्सण्टेटर र नयां अक्सिजन प्लाण्टको ब्यबस्था गर्ने हो भने ब्यबस्थापन गाह्रो छैन । त्यसका लागि सबै पक्षबीच सहकार्य पनि जरुरी छ त्यो काम गरिएन भने थप भयाबह हुने छ । अहिले यतिखेर आएर सरकारले १५ दिन भित्र अक्सिजन प्लाण्ट अस्पतालमै जडान गर्न भनेको छ तर कसरी गर्ने भन्ने छैन त्यो अन्यौलता कायमै छ ।
नयां भाइरस पुष्टि भएपछि झन डर बढेको छ नि ?
नयां भाइरस झन खतरा रहेको छ । त्यसैले अझै एक डेढ महिना समस्या बढने देखिएको छ । पछिल्लो नयां भाइरसले बालबालिका देखि सबैलाई असर गर्ने छ यसर्थ थप सतर्कता अपनाउनुपर्छ । माक्स लगाउने , सेनिटाइज गर्ने, सामाजिक दुरी हरहमेशा कायम गर्ने , घरमा पनि एकै ठाउं बसेर खाना नखाने , रुघा खोकी त हो भनेर हेलचेक्रेइ पटक्कै नगर्ने , सक्रमित भएको आशंका भएमा आइसोलेशनमा बसिहाल्ने र चिकित्सकको सल्लाह लिइ हाल्ने , अलिक अफ्ट्यारो हुने संकेत पाउना साथ अस्पताल गै हाल्ने गर्नुपर्छ । घरघरमा सक्रमण छ भन्ने ठानेर स्वास्थ्य सतर्कता अपनाउने काम गर्नुपर्छ । राज्यले निषेधाज्ञा लगाउञ्जेल कडाइ पनि त्यत्तिकै गर्नुपर्छ ।
कति समय सम्म यो महामारी जाला ?
नयां भाइरस देखा पर्दै गएकोले अझै एक दुइ बर्ष त जाने संभावना छ । एक दुई बर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गर्नुपर्ने हुन सक्छ । तर अहिले जस्तो संकटपुर्ण महामारी भने एक डेढ महिना भन्दा नजाला कि भन्ने अनुमान गरिएको छ । एक डेढ महिना पछि कम हुदैन जाने छ । अझै केही दिन सक्रमितहरु मध्ये गभीर अबस्थामा पुग्ने खतरामा रहेका धेरै हुने छन । अर्थात दुखका साथ भन्नुपर्छ मृत्यु दर पनि बढ्ने सभावना छ ।
यस्तो संकटका बेला पनि अस्पतालहरुले उपचारका क्रममा मनपरि शुल्क लिएको आरोप छ त्यो त अमानबीय भएन ?
सरकारले तोकेको दरमा अस्पतालहरुले सुबिधा दिए अनुसार ५० प्रतिशत बढी लिन पाउने छुट दिएकै छ तर त्यसमा पनि मनपरि कसैले गरेको छ भने राज्यले अनुगमन गर्नुपर्यो नि । यदि अनुगमन गर्दा ज्यादति गरेको देखिए कारबाही गरे भैहाल्यो । अनुगमन पनि नगर्ने , गल्ती गर्नेलाई कारबाही पनि नगर्ने अनि कतिपय अस्पतालले गरे भनेर सबैलाई एउटै घानमा हाल्नुपनि भएन नि ।

अन्त्यमा केही थप्नुपर्ने ?
अहिलेको निकै समसामयिक बिषयमा कुरा भयो । कोरोना महामारीको अबस्था र न्युन गर्न के गर्नुपर्छ भन्ने कुरामा आम नागरिकहरुमा सन्देश पुर्याउने मौकाका लागि यहांलाई पनि धन्यबाद । यो महामारीलाई सबै मिलेर परास्त गर्नेै पर्छ । महामारी परास्त गर्न नागरिकको पनि भुमिका अहं छ भने राज्यको सबै भन्दा बढी भुमिका छ । राज्य भनेको आम नागरिकहरुको अभिभाबक हो उसले आम नागरिकहरुलाई हरकिसिमको सहयोग गर्नुपर्छ ।अक्सिजन लगायत अन्य आबश्यक ब्यबस्था गरी कसैलाई पनि उपचारबाट बञ्चित नहुने ब्यबस्था गर्नुपर्छ ।
बिभिन्न देशसंग समन्वय गरी चाडो भन्दा चाडो भ्याक्सिन ल्याएर सबै नागरिकलाई भ्याक्सिन लगाइ दिनुपर्छ । महामारी जति बढेपनि स्वास्थ्यकर्मीले हात उठाएका छैनौ तर राज्यले पनि पुर्ण साथ दिएमा हामी अझै बढी अग्रसर भएर नागरिकको उपचारमा लाग्ने छौ ।
– tanka.panta@gmail.com/इनेप्लिज डटकमबाट

