टाेखालाइभ डट कम / बैशाख १४,२०७८
हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजु स्थित ल्हुती पुन्ही अर्थात बाइसधारामा मेला जात्रा लाग्ने गर्छ।
आजकै दिन बालाजु चोकदेखि बाइपाससम्म मानिसहरुको ठेलमठेल हुन्थ्यो। यहाँ रहेको २२ वटा धारामा स्नान गर्न देशभरबाट भक्तजनहरुको वर्षेनि ठुलै घुँइचो लाग्ने गर्छ।
परापुर्व कालको किवदन्तीअनुसार शाहवंशका राजाहरु आफै उत्पन्न भएका बुढानीलकण्ठ नारायणस्थान मन्दिर दर्शन गर्न जान नहुने भएकाले त्यसको विकल्पको रूपमा बालाजु बाइसधारामा नै बाल बुढानीलकण्ठ स्थापना गरिएको थियो। पछि महानगरपालिका अन्तर्गत बालाजु बाइसधारा उद्यानका रुपमा पूरै क्षेत्र पार्कको रुपमा अहििले विकसित गरिएको छ।
तर, कोभिड १९ संक्रमणका कारण यश वर्ष बाइसधारा मेला आयोजना भएन। बाइसधारामा सर्वसाधारणलाई भने प्रवेश रोक लगाइएको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मेला स्थगित गरिएको थियो। स्थानीयका अनुसार बालाजु बाइसधारा मेला सम्भवत पहिलोपटक रोकिएको थियो। यो वर्ष मेला आयोजना गर्ने तयारी भएपनि काठमाडौंमा कोरोना संक्रमण फेरि बढ्दै गएपछि बाइधारा मेला स्थगित गरिएको छ।
गत वर्ष बालाजुमा श्वेत गणेशको जात्रा पनि विधिवत पूजा मात्रै गरी सकाइएको थियो। तर यसपटक खट जात्रा भने संचालन गरिएको छ। भने दर्शनार्थीहरु बालाजु बाइसधारा उद्यान बाहिरैबाट पूजा गरिरहेका छन्।
आजको दिन बिहानै नागर्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारामा स्नान पनि गर्ने परम्परा रहेको थियो। करिब दुई दशक अघिसम्म बालाजुका सबै ढुंगेधारामा मुहानबाटै पानी आउने गर्थ्यो।

