टोखा लाइभ । २०७८ , वैशाख १० गते
माया त अक्सिजन उर्फ “सास” जस्तै हो ।जसको विना कोही पनि बाँच्नसकिन्न ।महिलाको चित्कार , रोदन , उकुसमुकुस, छटपटाहट, मौनता, सहनशीलता , तेस्रो नेत्र अनि निरन्तर समान्तर यात्रा……
एकान्त कुनामा मूर्धन्य कलाकार दम्पती आशा डंगोल र एरिना ताम्राकारको ‘ parallel journey ’ अर्थात् ‘ समान्तर यात्रा ‘चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरु हेरिसकेपछि एक प्रत्यक्षदर्शीले यो पंतिकारलाई यस्तै प्रतिक्रिया दिनु भयो। । क़रीब १ सय वटा चित्रहरुको प्रदर्शनी एकान्त कुना स्थित आर्ट वेयर हाउसमा शुक्रवार देखि भइरहेको छ ।

पाटन घर भई हाल खुमलटारमा बस्दै आउनु भएका कलाकार दम्पति आशा र एरिनाले लकडाउन अनि ५ महिना भारतीय नाकाबन्दीका बेला भोग्नु परेको यातनालाई उदासी मनोभावका फिक्का र काला रंगहरूबाट अभिव्यक्त गरेका छन्।यी क्यानभासमा कोरिएका चित्रहरू संयुक्त प्रदर्शन गरेका हुन् । अहिलेको समाजमा वास्तविकता झल्कने चित्रहरू प्रदर्शनीमा राखिएको छ ।

एरिनाले तेस्रो ऑखाको माध्यम बाट धार्मिक व्यक्तित्वद्वारा प्रवर्तित तथा विस्तारित जटिल दार्शनिक ज्ञानलाई चम्किलो रातो, नीलो, हरियो रंगमा मार्फत स्पष्ट स्वरूप दिई त्यस्तो ज्ञानको बुझाइ आम मानिसमा चेतना विस्तार गरेको विचार व्यक्त गरिन।

यसैगरी आशा डंगोलको सिर्जनामा जीवन के हो? भन्ने प्रश्नलाई तडगारो रूपमा उठाईएको छ। चित्रमा मास्क लगाएर विरूवा रोप्दै गरेको चित्र जीवन्त थियो। आज हामी धेरै दुखी छौ ।किनकि विकसित मुलुकका मानिस अक्सिजन लिएर कार्बनडाइअक्साइड फ्याक्छन तर हामी भने धुलो र धुवाँ लिएर कार्बनडाइअक्साइड फ्याक्न बाध्य छौ जुन यो शहरमा बॉच्न कठिन छ । यो उनको प्रश्न थियो ….।जीवन त्यो सत्य हो जहाँ म तिमी सँग तिमी कोई अन्य सँग र त्यो कोई अरु कसै संग जोडिएको हुन्छ।अर्थात:( यहाँ म बाहेक अरु केही सत्य छैन जे छ सारा ममा बसेको छ । कोई बाट कोई भिन्न छैन। ) यो आशा डंगोलले चित्र मार्फत अभिव्यक्त गरेको जवाफ थियो । विनम्रताको उत्प्रेरणा यस्ता कलाकारका क्षमता निस्सन्देह महान् छन् ।“ मानिसहरू प्रकृतिसँग खेलबाड गरेर प्रकृतिको वास्तविक रंगहरू बिस्तारै हराउँदै गएकोमा आशा डंगोलले चिन्ता व्यक्त गरे।

लकडाउनका कारण कलाकृति हेर्ने अवसर नपाएका दर्शक तथा पारखीका लागि यो संयुक्त प्रदर्शनीले सघाउने अर्का अवलोकन गर्न आउनु भएकी कलाकार चन्द्रा श्रेष्ठले बताईन । उनले यो संयुक्त कलाकृति प्रदर्शनी गरी नेपालभरिका कलापारखी माझ पु¥याउने प्रयत्न निकै राम्रो रहेको जिकिर गरिन।
यसमा एरिना भन्छिन- , “ सारा संसार कोभिड संकटबाट गुज्रिरहेका बेला पनि कला प्रदर्शनीमार्फत नेपाली कला विश्वमाझ लैजाने प्रयास असल कामको शुरूवातको रुपमा मैले लिएको छु “।

कलामार्फत् आफूहरुको लक्ष्य परम्परागत नेपाली कलालाई पुनर्जीवित बनाउनु, नवपरम्परावादी कलाको स्वतन्त्रताको अन्वेषण गर्नु र अनुभूतिमार्फत् समसामयिक कलालाई उत्प्रेरित गर्दै प्रवीणताको प्रवर्धन गर्नु रहेको एरिनाले खुलस्त गरिन। यो चित्रकला प्रदर्शनी २३ तारिखदेखि सुरु भएर मे ८ सम्म चल्नेछ ।



