• हिकमत डंगोल
शैली राना विष्ट, कला क्षेत्रको लागि नयॉ नाम हो। लगभग २ वर्ष जति भयो उनले रंग, ब्रस र क्यानभासमा चित्र पोतिन थालेको ।यसको साथै वहॉ फैसन डिज़ाइनमा पनि उतिकै सक्रिय छिन।
फेसन डिज़ाइन पढदा शैलीलाई कलाकार बन्छु भन्ने पटक्कै लागेको थिएन। तर कलाकार बन्ने संकेत भने थियो । किनभने उनको परिचय प्रख्यात चित्रकार एरिना ताम्राकार सित थियो। यसको साथै उनी मेक्सिको कलाकार फ्रिडा काहलो बाट प्रेरित र उनको बारेमा पढेपछि उनको मनमा कता कता आर्टमा लाग्ने पो हो कि भन्ने मनमा लाग्यो। साथी एरिनाले स्केच औंधी राम्रा बनाउँथिन। गुरू अनि साथी पनि भएकोले प्रशिक्षण लिन यो संभव बनेको थियो।

शैली राना विष्टले बनाएको स्केच एरिनाले तारिफ़ गर्थिन । शैली मख्ख पर्छे । यसैबाट उनी कला पारखी भईन । यही शनिवार देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ११ चित्रकारको संयुक्त चित्र प्रदर्शनी ‘आर्टिस्ट इलेभेन’ मा सुरु भएको “ विथ नेचर” शीर्षकको चित्रकला प्रदर्शनी हेर्ने हरेक नेपाली दर्शकहरूलाई उनले वनाएको भन्दा पत्यार लाग्दैन । पत्यार नलाग्नु पनि स्वभाविकै थियो। किनकी ती चित्रहरूमा परिपक्वता झल्किन्थ्यो।अनि एक नारीको अनेक भावको प्रतिविम्ब झल्किन्थ्यो। उनको चित्रमा नारी पात्रलाई प्राकृतिक सौन्दर्य संग दाज्न खोजेको देखिन्छ ।

उनको चित्रमा कहिं चोखो अनि पवित्र मायामा डुबिरह्को मायालु जोडिलाई देखाइएको छ भन्ने कतै सखारै योगासन गरिरहेकी महिला। कुनैमा कपाल कोर्दै लिपिस्टिक सहित मुस्कुराई रहेकी हँसिली महिला। अर्थात् एक महिलाको दिन चर्या विहान देखि सॉझ सम्म् निस्किने अनेकौं मुडहरूको लोभलाग्दो अभिव्यक्त स्केचहरू देख्न पाईन्छ ।

एक्वलिक कलरमा शैली राना विष्टले लनाईएको चित्रहरू हेर्दा यस्तो लाग्छ यसले चित्रकला नबुझ्नेहरूलाई पनि एक प्रकारको बेग्लै आनन्द दिन्छ। यो कला क्षेत्रमा सोचे जस्तो लाग्न सजिलो छ त? भन्ने एक प्रश्नमा उनी भन्छिन- “ सबैलाई सहज भन्ने हुँदैन । यसमा लगाव, मिहिनेत र परिश्रम उतिक्कै चाहिन्छ। “

आफ्नो कला यात्रामा सहयोग पुर्याउने जीवनसाथी प्रति पनि उनी अत्यन्तै कृतज्ञ छन् । उनका पति वीर अस्पतालमा कार्यरत छन। उनी दैनिक ३/४ घण्टा स्केच गर्न आफ्नो स्टुडियोमा विताउँछिन।बचेको समय घर परिवारमा व्यस्त रहन्छिन।


