एजेन्सी / बर्मा , माघ १९
म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आन साङ सुकीलाई त्यहाँको सेनाले गिरफ्तार गरेको छ । सेनाले सत्ता हत्याउन सक्ने आशंका बढिरहेका बेला सुकी पक्राउ परेको बीबीसीले जनाएको छ ।सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो । नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीको भनाइ छ।
म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सुकीसहित राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत सेनाले नियन्त्रणमा लिएको जनाइएको छ। सेनाले आज बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू नभएको जनाएको छ।
गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्मा पर्याप्त सिट जितेको थियो । तर सेनाले भने उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएको छ । सो निर्वाचनमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पार्दा सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो ।
सन् १९६२ देखि २०११ सम्म सैनिक शासन रहेको म्यानमारमा सन् २०१५ को चुनावपछि त्यहाँको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थियो ।




