२०७७, माघ ४ गते
काठमाडौँ — ग्रिनभिलामा दम्पती मृत फेला परेको घटनाको प्रहरीले अनुसन्धान फाइल बन्द गर्ने भएको छ । काठमाडौंको टोखा–३ ग्रिनभिला हाउजिङमा उमेश केसी र सुदीक्षा गिरीको अस्वाभाविक मृत्युसम्बन्धी अनुसन्धान अगाडि नबढ्ने संकेत प्रहरीले गरेको हो ।
उक्त घटनासँग जोडिएका केही महत्त्वपूर्ण तथ्य प्रमाण फेला परे पनि पीडित र पीडक भनिएका दुवैको मृत्यु भइसकेका कारण थप अनुसन्धान नहुने देखिएको एक प्रहरी अधिकृतले बताए । यस्ता अपराधको प्रवृत्तिगत तथ्य केलाउन घटना के कारणले भएको भन्नेमा थप अनुसन्धान गर्न सकिने भए पनि दुवैको मृत्यु भइसकेको भन्दै फाइल बन्द गर्न लागेको हो ।
ग्रिनभिला हाउजिङमा बस्दै आएका बानेश्वरका उमेश केसीको हत्या गरेर पत्नी सुदीक्षाले आत्महत्या गरेको तथ्य घटनास्थलको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो । पीडित र पीडक दुवै पक्ष जीवित नरहेकाले थप अनुसन्धान गरिरहन आवश्यक नभएको प्रहरीको तर्क छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टअनुसार उमेशको ‘ब्लन्ट फोर्स इन्जुरी’ ले ज्यान गएको हो । उनको टाउकोमा ठूलो चोट थियो ।
सुदीक्षाको ‘एक्स्फेक्सिया’ अर्थात् घाँटीमा बाहिरी वस्तुले बेरिएर सास गएको रिपोर्टमा उल्लेख छ । घटनास्थलबाट बरामद मृतक दुवैको आइफोनको लक प्रहरीले खोल्न सकेको छैन । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले उक्त घटनाको जाहेरीलाई मुलतबीमा राखेर पछि तथ्य र प्रमाण खुलेमा सोहीअनुसार अनुसन्धान गर्ने गरी थाती राख्न लागिएको बताए । ‘टोखाको घटना हत्यापछि आत्महत्या भएकाले यसमा प्रत्यक्षदर्शी वा साक्षी कोही पनि भएनन्,’ उनले भने । ‘अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टअनुसार पनि घटनामा तेस्रो पक्षको संलग्नता देखिँदैन । त्यसैले यसलाई प्रहरीको १० नम्बर डायरीमा मुद्दा सुरक्षित राखेर पछि कुनै प्रमाण भेटिए फाइल खुलाउने गरी अनुसन्धान टुंगोमा पुर्याउन लागिएको हो ।’

प्रहरी स्रोतका अनुसार पोस्टमार्टमका क्रममा मृतक सुदीक्षाको पेटमा करिब २ महिनाको भ्रूण देखिएको छ । त्यस्तै उनका पति उमेशले पुस १७ मा ग्रान्डी अस्पतालमा वरिष्ठ चिकित्सक प्रा.डा प्रेमराज ज्ञवालीसँग स्वास्थ्य परीक्षण गराएको खुलेको छ । उक्त दिन उमेश एक्लै ग्रान्डी अस्पताल पुगेर ज्ञवालीसँग स्वास्थ्य परीक्षण गराएका थिए ।
तर स्वास्थ्य परीक्षणको ६ दिनपछि उमेशको सुतेकै ठाउँमा हत्या भयो । त्यसको १० देखि १२ घण्टापछि गर्भवती सुदीक्षाको मृत्यु भएको पोस्टमार्टमबाट खुलेको छ । उमेश माघ १ गते नै अमेरिका उड्ने तयारीमा थिए । तर त्यसको एक साताअघि नै उनको हत्या भयो । दुईमहिने गर्भवती सुदीक्षाले पनि आत्महत्या गरिन् । उमेशका दाजु हिमेश केसीले देखिएका प्रमाणका आधारमा घटना के कारण भएको हो भन्नेबारे पत्ता लगाउनैपर्ने बताए ।

